नेभिगेशन
नेपाल

हेभिवेटको पराजय

काठमाडौँ । वर्षौंदेखि मन्त्री र पार्टी नेतृत्वमा रहेका प्रभावशाली नेताहरू रास्वपाका नयाँ उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।
झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ले फराकिलो मतान्तरले पछि पारेका छन् । झापा ३ मै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले ठुलो मतसहित उछिनेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहभन्दा निकै पछि परेका छन् । पूर्वमन्त्री एवं कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं ५ मा रास्वपाकै सस्मित पोखरेलसँग पराजित भए भने अर्का महामन्त्री गुरूराज घिमिरे पनि रास्वपाका सन्तोष राजवंशीसँग मोरङ ४ मा फराकिलो मतान्तरले पछि परेका छन् । कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजाललाई पनि रास्वपाका कृष्णकुमार कार्कीले मोरङ २ मा निकै पछि छाडेका छन् ।
मेडिकल व्यवसायी एवं कांग्रेस नेता सुनिलकुमार शर्मा पनि रास्वपाका गणेश कार्कीसँग मोरङ ३ मा पराजयनजिक पुगेका छन् । त्यस्तै कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि रास्वपाकी रुविना आचार्यसँग मोरङ ६ मा ठूलो मतान्तरले पछि परेका छन् ।
कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुर पनि बारा ३ मा रास्वपाका अरविन्द साहसँग ठूलो मतान्तरले पराजयनजिक पुगेका छन् । पूर्वमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधि पनि धनुष ३ मा रास्वपाका मनिष झासँग पराजित हुने भएका छन् ।
त्यस्तै एमालेका उपमहासचिव रघुवीर महासेठ धनुषा ४ मा रास्वपाका राजकिशोर महतोभन्दा निकै पछाडि देखिएका छन् । एमालेका कृष्णकुमार श्रेष्ठ पनि बारा ४ मा रास्वपाका रहबर अन्सारीसँग पराजयनजिक पुगेका छन् । त्यस्तै पूर्वसभामुख एवं एमालेका नेता देवराज घिमिरे पनि झापा २ मा रास्वपाका इन्दिरा रानासँग पछि परेकी छन् ।
त्यस्तै, जेनजी आन्दोलनपछि स्थापना भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि रास्वपाका राजु पाण्डेसँग काठमाडौं ३ मा पराजित भएका छन् ।
सुनसरी ४ मा पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई रास्वपाका दीपककुमार साहले पछि पारेका छन् । पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई सुनसरी ३ मा रास्वपाका अशोककुमार चौधरीले उछिनेका छन् ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत रास्वपाका रामजी यादवभन्दा निकै पछि परेका छन् । दाङ २ मा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले ठूलो मतान्तरसहित अग्रता लिएका छन् ।
त्यस्तै नवलपरासी १ मा रास्वपाका विक्रम खनालले कांग्रेसका विनोदकुमार चौधरी र जनता समाजवादी पार्टी, नेपालका हृदयेश त्रिपाठीलाई ठुलो मतान्तरसहित पछि पारेका छन् । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्टलाई पनि कैलाली ४ मा रास्वपाका खेमराज कोइरालाले पछि पारेका छन् ।
कञ्चनपुर २ मा पूर्वमन्त्री एवं कांग्रेस नेता एनपी साउदलाई रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फराकिलो मतान्तरसहित पछाडि छाडेका छन् । गुल्मी १ मा कांग्रेसका चन्द्रकान्त भण्डारी र पूर्वमन्त्री एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीलाई रास्वपाका सागर ढकालले ठुलो मतान्तरसहित पछि पारेका छन् ।
पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ मा रास्वपाका सुलभ खरेलसँग पराजयनजिक पुगेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्