काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि शक्तिशाली मानिएको एउटा राजनीतिक गढ अन्ततः ढलेको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५, जसलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘अभेद्य किल्ला’ मानिन्थ्यो, त्यहीँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले ऐतिहासिक जित हासिल गरेका छन् ।
शनिबार साँझ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने ओली १८ हजार ७३४ मतमै सीमित भएका छन् । बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले ओलीलाई पराजित गर्दै नेपाली राजनीतिमा अप्रत्याशित तर ऐतिहासिक मोड ल्याएका छन् ।
यो परिणाम केवल एउटा निर्वाचन क्षेत्रको हार–जित मात्र होइन, लामो समयदेखि स्थापित राजनीतिक शक्तिको विरुद्ध जनताले दिएको कडा सन्देशका रूपमा विश्लेषण गरिएको छ ।
३६ वर्षीय बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट चुनाव लड्ने निर्णय गर्दा धेरैले यसलाई राजनीतिक जोखिमका रूपमा हेरेका थिए । अझ एमाले अध्यक्ष ओली जस्तो प्रभावशाली नेतासँग उनको प्रतिस्पर्धालाई धेरैले ‘आत्मघाती कदम’ पनि भनेका थिए ।

तर परिणामले ती सबै अनुमानलाई उल्ट्याइदियो । काठमाडौंको गैरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङ अध्ययन गरेका छन् भने भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
राजनीतिमा आउनुअघि उनी नयाँ पुस्ताबीच ¥यापरका रूपमा चिनिएका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि राजनीतिक यात्राले फड्को मारेको हो ।
मेयरको कार्यकालमा शिक्षा, स्वास्थ्य, सहरी व्यवस्थापन र सेवा प्रवाह सुधारका केही कदमले उनलाई राष्ट्रियस्तरमा लोकप्रिय बनायो । यही लोकप्रियता पछि चुनावी अभियानमा ‘बालेन फ्याक्टर’का रूपमा देखियो ।
बालेनले चुनाव प्रचारलाई परम्परागत शैलीबाट फरक बनाएका थिए । उनी देशभरि रोड–शो शैलीमा चुनावी अभियान चलाउँदै मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित भए । भाषणभन्दा संवादात्मक शैलीमा आफ्ना विचार प्रस्तुत गर्दा युवा मात्र होइन, वृद्ध मतदाता पनि प्रभावित भएको विश्लेषण गरिएको छ ।
उनले राजनीतिक मुद्दालाई सोझै नागरिकको दैनिकीसँग जोड्दै संघीयताको व्यावहारिक पक्षबारे चर्चा गरेका थिए । जनकपुरमा आयोजित सभामा उनले भनेका थिए– जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, अधिकार माग्न होइन, पशुपतिनाथ दर्शन गर्न पो काठमाडौं जाने हो । यही शैलीले देशभरि नै उनको लोकप्रियता बढाएको थियो ।
‘जेनजी आन्दोलन’ को प्रभाव
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको पराजयको एउटा महŒवपूर्ण कारण भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ पनि हो । आन्दोलनका क्रममा राज्यको दमन भएको आरोप र त्यसपछि देखिएको युवा आक्रोशले चुनावी माहोललाई गहिरो प्रभाव पारेको मत परिणामले देखाएको छ । एमाले र कांग्रेसको परम्परागत मत घट्नुको मूल कारक यसलाई मान्न सकिन्छ ।
बालेनले चुनावी अभियानमा यही विषयलाई प्रमुख एजेन्डा बनाएका थिए । उनले आन्दोलनमाथि भएको दमन र राज्यको जिम्मेवारीबारे प्रश्न उठाउँदै मतदातासम्म आफ्नो सन्देश पु¥याए । यसले युवा मतदातामा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ ।
ओलीको घट्दो लोकप्रियता
झापा–५ मा ओली लामो समयदेखि निर्विवाद विजेता रहँदै आएका थिए । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका ओलीले २०७४ र २०७९ सालको निर्वाचनमा झण्डै २९ हजार मतान्तरले विजय हासिल गरेका थिए । त्यसैले झापा–५ लाई एमालेको सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र मानिन्थ्यो । तर यसपटक परिस्थिति फरक देखियो ।
एमालेभित्रै ओलीको नेतृत्वबारे प्रश्न उठ्न थालेका थिए । पार्टीको ११औं महाधिवेशनपछि पनि उनले नेतृत्व दोहो¥याएपछि आलोचना थप चर्किएको थियो । उनले महाधिवेशनमा आफूविरुद्ध उठ्नेको शक्ति घटाए । आफूविरुद्ध कसैले खडा हुनुहुँदैन भन्ने पाठ पढाए ।
चुनावको समय नजिकिँदै जाँदा ओलीले झापामा सक्रिय चुनावी अभियान चलाएका थिए । उनले मतदाताको घरदैलो अभियानदेखि स्थानीय प्रभावशाली व्यक्तिसँग भेटघाटसम्म गरेका थिए । तर, त्यो प्रयासले अपेक्षित परिणाम दिन सकेन ।
दमकमा गरिएको शक्ति प्रदर्शनमा समेत अपेक्षाकृत न्यून उपस्थिति देखिएपछि एमालेभित्रै चिन्ता बढेको थियो । निर्वाचनले ओलीका मुख्य सहयोगीहरू शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, राजन भट्टराई लगायतलाई पराजित गर्दै जनमत निर्माणको नयाँ बाटोमा जानुपर्ने संकेत गरेको छ ।
ओलीको सरकारमा रहेर उनका निर्णयमा सहमति गर्दै आएका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका कारण कांग्रेसले पनि ठूलो क्षति बेहोरेको छ । यद्यपि पुस्तान्तरणको मुद्दा उठाएर तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ बाटो हिँडाउन नखोजेका होइनन्, तर ढिला भइसकेको थियो । जेनजी आन्दोलनको भावनाअनुसार परम्परागत दलीय गठबन्धनको विकृत स्वरुप फेर्न निर्वाचनले एमाले, कांग्रेस, राप्रपासँगै मधेसवादी दलहरू सबैलाई ठूलो पाठ पढाएको छ ।
संगठनभन्दा भावनाले जित्यो चुनाव
झापा–५ मा एमालेको बलियो संगठन, लामो राजनीतिक प्रभाव र विकास निर्माणका योजनाहरू ओलीका प्रमुख चुनावी हतियार थिए । तर, यसपटक चुनावी नतिजाले संगठनभन्दा जनभावना बलियो भएको देखाएको छ ।
विश्लेषकहरूका अनुसार बालेनको पक्षमा देखिएको जनमत केवल एउटा पार्टीको मत मात्र होइन, पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टिको अभिव्यक्ति पनि हो । धेरै मतदाताले पार्टीको परम्परागत निर्देशनभन्दा व्यक्तिगत विवेक प्रयोग गरेर मतदान गरेको देखिएको छ ।
ओलीलाई हराउँदा बालेन शाह यसपटकको चुनावमा सबैभन्दा बढी मत पाउने उम्मेदवार बनेका छन् । उनले ६८ हजार ३४८ र ओलीले १८ हजार ७३४ मत पाए । बालेनले निकटतम ओलीलाई ४९ हजार ६१४ मतको अन्तरले पराजित गरे । फराकिलो मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पराजित गर्नेमध्ये भने बालेन आफ्नै पार्टीका अर्का एक उम्मेदवारभन्दा दोस्रो बनेका छन् । रास्वपाकै रुपन्देही–३ बाट विजयी डा. लेखजंग थापाले निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतले पराजित गरेका छन् ।
अघिल्लोपटकको चुनावमा ओलीलाई राप्रपाले सघाएको थियो । त्यो बेला ५२ हजार ३१९ मत पाएका थिए । ओलीले अघिल्लोपटक जित मत पाएका थिए, झण्डै त्यही हाराहारीको मतान्तरमा यसपटक पराजित भए । ओलीले यसपाली पाएको मत अघिल्लोको तुलनामा करिब एक तिहाईजित मात्रै हो । ओलीले अघिल्लोपटक पाएको मतभन्दा १८ हजार २८ मत बढी पाएर बालेन निर्वाचित भए ।
अघिल्लोपटक आफ्ना निकटतम प्रत्यासी खगेन्द्र अधिकारीले पाएको भन्दा करिब ५ हजार कम मतमा नै ओलीले चित्त बुझाउनुप¥यो । अघिल्लोपटक कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।
नयाँ युगको संकेत
बालेनको यो जितलाई नेपाली राजनीतिमा पुस्तान्तरण र परिवर्तनको संकेतका रूपमा हेरिएको छ । लामो समयदेखि शक्तिशाली मानिएका नेताहरू पनि जनमतको सामना गर्दा अजेय नरहेको सन्देश यसले दिएको विश्लेषकहरूको भनाइ छ । झापा–५ को नतिजाले केवल एउटा निर्वाचन क्षेत्रको राजनीतिक समीकरण मात्रै बदलेको छैन, यसले राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु गराएको छ ।
अब चुनौती भनेको बालेनले प्राप्त गरेको विशाल जनसमर्थनलाई संसद् र सम्भावित सत्तामा कसरी रूपान्तरण गर्छन् भन्ने हो । साथै विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूलाई एउटै राजनीतिक संस्कृतिमा बाँधेर पार्टी र सरकार सञ्चालन गर्न सक्ने क्षमता पनि उनको अगाडि ठूलो परीक्षा बन्ने देखिएको छ ।
झापा–५ मा भएको यो ऐतिहासिक परिणामले नेपाली राजनीतिमा एउटा अध्यायको अन्त्य र नयाँ युगको सुरुवात भएको संकेत दिएको छ ।
ओलीले दिए शुभकामना
एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् ।
भारी मतान्तरले पराजित भएका ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जितेपछि ओलीले बालेनलाई तबला उपहार दिएका थिए । तबला दिँदै गरेको त्यही बेलाको फोटो फेसबुकमा राख्दै उनले शुभकामना दिएका छन् । ‘बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई,’ उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’