नेभिगेशन
नेपाल

बलियो प्रतिपक्ष बन्नबाट कसरी चुक्यो कांग्रेस ?

काठमाडौं । मध्यावधि निर्वाचनले नेपालको राजनीतिमा जुन स्तरको फेरबदल ल्यायो, त्यसले पुराना र स्थापित दलहरूलाई ठूलो धक्का दिएको छ । ०७९ को चुनावमा पहिलो दल बनेको कांग्रेस यसपटक संसदमा बलियो प्रतिपक्षीसमेत नबन्ने भएको छ । 
फागुन २१ को चुनावअघि भदौ २३ र २४ को जेनजी आन्दोलनको भावनाअनुसार पार्टी रुपान्तरणको सन्देशसहित कांग्रेस मैदानमा उत्रँदा यसपटक बलियो शक्ति बन्ने धेरैको आकलन थियो । विशेष महाधिवेशनपछि ‘बदलिएको कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित कांग्रेस २.० भन्दै चुनाव होमियो । 
सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमै अघि सारेर कांग्रेसको पक्षमा माहोल सिर्जना गरियो । चुनावी अभियानमा कांग्रेसका ‘मुभ’हरुको प्रभाव राम्रो परेको र पार्टीले स्पष्ट बहुमत वा कम्तीमा बलियो जनमत पाउने उसको दाबी थियो । तर, निर्वाचनको नतिजाले फरक दृश्य देखाएको छ ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लहर देखिँदा कांग्रेसले नेतृत्व होइन बलियो प्रतिपक्ष बन्ने अवस्था समेत नबन्ने भएको छ । १ सय ६५ सिटका लागि भएको निर्वाचनमा रास्वपाले करिब १ सय २० सिट नजिक जित निकाल्ने पक्का हुँदा कांग्रेस बढीमा २० सिट जित्ने संघर्षमा छ । समानुपातिकतर्फ पनि कांग्रेसको पक्षमा उत्साहप्रद मत देखिएको छैन ।
कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका सभापति थापा स्वयं सर्लाही–४ मा पराजय नजिक पुग्दा पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीद्वय उदय शमशेर राणा र फर्मुल्लाह मन्सुरसहितका केन्द्रीय नेताहरु पराजित भएका छन् । जुन कांग्रेसका लागि अनपेक्षित हुन पुग्यो । 
रास्वपाको ह्विम, बालेनको क्रेज 
काठमाडौं लगायतका शहरी क्षेत्र मात्र नभइ तराई र पहाडका दुर्गम क्षेत्रमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ र बालेन शाहको व्यक्तित्वले कांग्रेसको परम्परागत मत तानेको देखिन्छ । आफ्नो मत जोगाउन नसक्दा कांग्रेस फराकिलो मतान्तरले निकटतम प्रतिस्पर्धी नै बन्न सकेन । रास्वपाका वरिष्ठ नेता बालेन शाह  भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा उनको क्रेज मधेसमा विशेष रुपमा देखियो । उनी मेयर भएको काठमाडौं उपत्यकादेखि मधेस, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा रास्वपाको ह्वीम र बालेनको क्रेज कांग्रेसका लागि भारी साबित भयो । सामाजिक सञ्जाल र मैदानमा रास्वपाले जनलहर सिर्जना गर्न सफल बन्दा कांग्रेसको अभियान निष्प्रभावी हुन पुग्यो । 
कांग्रेसभित्रको अन्तरविरोध र अन्तरघात
कांग्रेस सभापति थापा स्वयं युवा र आशालाग्दा नेता भए पनि, आम मतदाताले उनलाई ‘पुरानै संरचनाको हिस्सा’ का रूपमा हेरे । जनताले पुरानो दलभित्रको सुधारभन्दा पनि नयाँ विकल्पलाई नै रोज्न चाहेको नतिजाले देखाउँछ । थापाले विशेष महाधिवेशनमा पार्टी बदलिएको सन्देश मतदाताले बुझ्नेगरी सुनाउन सकेको परिणामले देखिएन । 
उसो त कांग्रेसले चुनाव घोषणा भइसकेपछि विशेष महाधिवेशन सम्पन्न ग¥यो । जुन महाधिवेशनलाई तत्कालीन संस्थापनले अस्वीकार गरेको थियो । विशेष महाधिवेशनलाई अवैध घोषणा  गरेको तत्कालीन सभापति शेरबहादुर देउवासहितका पूर्वपदाधिकारीको ठूलो पंक्ति यसपटकको चुनावमा कतै देखिएनन् । विशेष महाधिवेशनले पार्टीका युवा पंक्तिलाई उत्साही बनाए पनि झण्डै आधा हिस्सा असन्तुष्ट थियो । महाधिवेशनको करिब ५० दिनमा चुनावमा होमिनुपर्दा सभापति थापाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि हल गर्न समयनै पाएनन् वा गरेको प्रयास पनि सार्थक देखिएन । कांग्रेसभित्रको अन्तरविरोध पनि पार्टीको मत जोगाउन नसक्नुमा कारण रहेको जानकारहरु बताउँछन् । 
‘अकर्मण्य, भ्रष्ट र समयको पदचाप नबुझ्ने÷नसुन्ने नेतृत्ववर्गले दशकौंदेखि (०७९ देखि त झनै) ध्वस्त पारेको पार्टी जतिसुकै पुस्तान्तरण र रुपान्तरण भए पनि सबै दललाई सोत्तर पार्ने यो पालिको रास्वपा सुनामी रोक्नसक्ने कुरै थिएन,’ विश्लेषक जैनेन्द्र जीवन भन्छन् । तर विशेष महाधिवेशन हुनै नदिन समय घर्काउने र अनेक जालझेल गर्ने र चुनाबमा बाहिर बाहिर मौन बसेर भित्रभित्र अन्तर्घात भएको ठान्छन् । पहिला कांग्रेसको दीर्घरोग अन्तर्घात हुँदा पनि मुख सम्झेर होइन रुख सम्झेर रुखमै छाप लाउने कांग्रेसीहरुले यसपटक भोट होइन जलेका नोट सम्झेर घण्टीमा छाप लाएको चर्चा आफूले सुनेको उनी बताउँछन् । 
चुनावको बेलामा पूर्वसभापति देउवा उपचारका लागि भन्दै सिंगापुर गए । उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा पनि कतै देखापरिनन् । देउवाको मौनताले कांग्रेसको गढ मानिने सुदूरपश्चिम प्रदेशमा कांग्रेस कमजोर मात्रै बनेन स्वयं देउवाकै गृहजिल्लामा कांग्रेस पहिलो पटक पराजित भयो । 
तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने उपसभापति विश्वप्रकाश शर्मा बताउँछन् । विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरे पनि त्यसका लागि पर्याप्त समय नपुगेको उनको स्विकारोक्ति छ । विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उपसभापति शर्माले कांग्रेसको अवस्थालाई ‘इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरेका छन् । उनले किन पार्टी कमजोर भयो गम्भीर समीक्षा हुने बताए । 

बलियो प्रतिपक्ष बन्ने अवसरबाट चुक्यो  
कांग्रेसको हालसम्मको परिणाम हेर्दा प्रत्यक्षतर्फ बढीमा २० सिट जित्ने देखिन्छ । समानुपातिकतर्फ पनि उल्लेख्य मत पाइरहेको छैन । तर, पहिलो दल बन्ने पक्का भइसकेको रास्वपाले एकल बहुमत ल्याउने पक्का मात्र भएको छैन  समानुपातिकतर्फको अग्रता ल्याउँदा दुई तिहाइ पुग्ने देखिन्छ । यसो भएमा कांग्रेस २ सय ७५ सदस्य रहने प्रतिनिधिसभामा करिब ३०÷३५ सिटको कमजोर प्रतिपक्षी बन्नेछ । संख्यात्मक रुपमा मात्र होइन जित्ने उम्मेदवार हेर्दा पनि बलियो सत्तापक्षलाई संसदमा हाँक दिन सक्ने नेतृत्व नपुग्ने निश्चित भइसकेको छ । ०६४ यता निरन्तर संसद्मा खरो रुपमा उत्रिएका थापा स्वयं फराकिलो मतान्तरमा छन् । उनी पराजित भएमा कांग्रेसको प्रस्तुती संसदमा फितलो हुने पक्का छ । तार्किक र वाक् क्षमता भएका, राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सकने अधिकांश अनुहार पराजित भइसकेका छन् । 
शनिबार अबेर रातीसम्म जितेका योगेश गौचन थकाली, टेकबहादुर गुरुङ, सन्दीप राना, अभिषेक प्रताप शाह, भरतकुमार स्वाँर, विष्णुबहादुर खड्का, खड्गबहादुर बुढा, बासना थापा, सन्तोष सुब्बा, मोहन आचार्य, जयपति रोकाया    र बुद्धरत्न महर्जन छन् । उनीहरु  पार्टीभित्र प्रभाव राख्ने नेता होइनन् । थकाली, आचार्य र शाह विगतमा सांसद भए पनि संसदमा सुनिने सांसदका रुपमा हेरिँदैनन् । अरु अग्रता लिइरहेका स्थानमा हेर्दा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले जितेमा उनी जित्ने मध्येमा अनुभवी नेता हुनेछन् । समानुपातिक सूचीबाट १ नम्बरमा रहेका अर्जुननरसिंह केसी वरिष्ठ नेता हुनेछन् । यसरी हेर्दा केसी वा महतमध्ये एकले संसदभित्र कांग्रेसको नेतृत्व गर्नेछन् । अधिकांश युवा सांसद हुने यसपटकको संसदमा पटक पटक टेस्टेड र औसत केसी वा महत जो नेतृत्वमा भए पनि सत्तापक्षलाई बलियो चुनौती दिन सक्ने नेतृत्व हुनेछैनन् । 
रास्वपाले झण्डै दुई तिहाइ नजिकको मत प्राप्त गर्ने पक्का हुँदा कांग्रेस अबको संसदमा ‘सानो र कमजोर प्रतिपक्ष’ को भूमिकामा मात्र सीमित हुने जोखिम बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्