नेभिगेशन
राजनीति
‘हेभिवेट’को लज्जास्पद बहिर्गमन

अब चल्नेछैन पूर्वप्रधानमन्त्रीहरुको ‘म्युजिकल चेयर’

काठमाडौं । वर्षौंदेखि सरकार र पार्टी सत्तामा कब्जा जमाएका ‘हेभिवेट’ नेताहरु यसपटकको निर्वाचनमा फराकिलो मतान्तरसहित पराजित भएका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा लामो समयदेखि संसद्मा देखिँदै आएका शीर्ष अनुहारहरु देखिनेछैनन् । 
यसअघि ठुला दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्री कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली, नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालमध्ये अबको संसद्मा प्रचण्ड थोरै सांसदका साथ मात्रै देखिने छन् । ओली झापा–५ र नेता नेपाल रौतहट–१ मा पराजित भएका छन् । 
पार्टीमा विशेष महाधिवेशन भएर नेतृत्व परिवर्तनसँगै देउवा यसपटक चुनावमै सहभागी भएनन् भने खनाल पनि यसपटकको संसद्मा हुने छैनन् । ०४८ सालयता प्रधानमन्त्री बनेका ५ जीवित नेतामध्ये यसपटकको संसद्मा रुकुमपूर्वबाट निर्वाचित हुँदै प्रचण्डले मात्र यात्रा तय गरेका छन् । 
यसअघि उनीहरुमाथि प्रधानमन्त्रीको कुर्सीमा ‘म्युजिकल चेयर’ खेल्ने गरेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । त्यस्तै मधेस आन्दोलनबाट उदाएका नेताहरु उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो पनि यसपटक संसदमा नपुग्ने निश्चित भइसकेको छ । 
शीर्ष नेताहरुको फराकिलो पराजय 
दलहरुले चलाएको भागबण्डाको सत्ता समीकरणलाई जनताले मतपत्रबाट धक्का दिँदै बढारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका महासचिव शंकर पोखरेल, पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस नेता डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, पूर्वमहामन्त्री विमलेन्द्र निधि, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री फर्मुल्लाह मन्सुर फराकिलो मतान्तरले रास्वपा उम्मेदवारसँग पराजित भएका छन् । 

झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले फराकिलो मतान्तरले पराजित गरे । ओली ४९ हजार ६ सय १४ मतान्तरले शाहसँग पराजित भए । ईश्वर पोखरेल काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलसँग २१ हजार ५ सय ७८ मतान्तरले पराजित हुँदा विष्णु पौडेल रुपन्देही–२ मा रास्वपाकै सुलभ खरेलसँग ४३ हजार ६ सय ८९ मतान्तरले पराजित भए । महासचिव पोखरेल दाङ–२ मा रास्वपाका विपिन आचार्यसँग २८ हजार २६४ को फराकिलो मतान्तरले पछि परे । 
झापा–३ मै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले पराजित गरेका छन् । उनीहरु बीचको मतान्तर २१ हजार ३ सय ८० को रह्यो ।  
कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहभन्दा निकै पछि परेका छन् । पूर्वमन्त्री एवं कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा रास्वपाकै सस्मित पोखरेलसँग २१ हजारभन्दा बढी मतान्तरले पराजित भए भने अर्का महामन्त्री गुरूराज घिमिरे पनि रास्वपाका सन्तोष राजवंशीसँग मोरङ–४ मा २८ हजार १५ को फराकिलो मतान्तरले पराजित भए ।  कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजाललाई पनि रास्वपाका कृष्णकुमार कार्कीले मोरङ–२ मा २८ हजार १६० को फराकिलो मतान्तरले निकै पछि छाडेका छन् । कांग्रेस नेता डा.शेखर कोइराला मोरङ–६ मा रास्वपाकी रुविना आचार्यसँग ४२ हजार ६ सय ६३ को मतान्तरले पराजित भए । 
कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुर पनि बारा–३ मा रास्वपाका अरविन्द साहसँग ३० हजार ६४५ को ठूलो मतान्तरले पराजित भए । पूर्वमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधि पनि धनुषा–३ मा रास्वपाका मनिष झासँग २७ हजार ३३६ मतान्तरले पराजित भए । 
त्यस्तै, जेनजी आन्दोलनपछि स्थापना भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि रास्वपाका राजु पाण्डेसँग काठमाडौं–३ मा ७ हजार ५८६ मतान्तरले पराजित भए ।
सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउत रास्वपाका रामजी यादवसँग पराजित भएका छन् । रामजीले १३ हजार ३८२ मत पाउँदा दोस्रो स्थानमा रहेका जसपाका उमेशकुमार यादवले ७ हजार ७१७ ल्याए भने राउतले ६ हजार १३५ मा चित्त बुझाउनु परेको छ । सप्तरी–३ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि दोब्बरको फराकिलो मतान्तरले पछि परेका छन् । 
कञ्चनपुर–२ मा पूर्वमन्त्री एवं कांग्रेस नेता एनपी साउदलाई रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले २३ हजार १२५ को फराकिलो मतान्तरले पराजित गरेका छन् । 
गुल्मी–१ मा कांग्रेसका चन्द्रकान्त भण्डारी र पूर्वमन्त्री एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीलाई रास्वपाका सागर ढकालले ठूलो मतान्तरले पराजित गरेका छन् । ढकालले २९ हजार ६४२ मत पाएका छन् । ज्ञवालीले १५ हजार १८१ र भण्डारीले १३ हजार ५०५ मत पाएका छन् । यसपटक अघिल्लो संसदमा पहिलो र दोस्रो दल बनेका कांग्रेस र एमाले निकै कम शक्तिसहितको प्रतिपक्ष बन्ने भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्