नेभिगेशन
अर्थतन्त्र

नागढुंगा सुरुङमार्ग सञ्चालन ठेक्का प्रक्रिया अन्तिम चरणमा

प्राविधिक मूल्यांकनमा परेका सात कम्पनीमध्ये अन्तिममा एउटालाई छनोट गरिने


काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि कम्पनी छनोटको प्रक्रिया अन्तिम चरणमा छ । प्रविधिक मूल्यांकनमा परेका कम्पनीमध्ये सबै नै जेभी भएर आवेदन दिनेहरु भएकाले जसले पाए पनि चिनियाँ कम्पनी नै हुने निश्चित देखिएको छ । 
सेवा प्रदायक छनोटका लागि प्रक्रिया चैत दोस्रो साताभित्र सक्ने तयारी छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले बोलपत्रको सबै प्रक्रिया पूरा गरेर मापदण्ड अनुसार कम्पनी छनोट गरी सञ्चालन जिम्मा लगाउन लागेको हो ।
आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनको प्रतिस्पर्धामा ७ कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन् । अब चैत पहिलो साताभित्रै आर्थिक प्रस्तावको मूल्यांकन थालिने आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताए । ‘सार्वजनिक खरिद प्रक्रियामा सहभागी १० वटा थिए, त्यसमा  ७ वटा कम्पनी प्राविधिक मूल्यांकनको छनोटमा परेका छन्,’ उनले भने, ‘अब आर्थिक मूल्यांकको प्रक्रिया पनि पूरा गरी योग्य छनोट हुन्छ, त्यसैले सुरुङमार्ग सञ्चालन जिम्मा पाउँछ ।’  
आयोजनाका अनुसार चैत १ गते आर्थिक प्रस्ताव खुल्ला गरी १० दिनभित्र निजी सेवा प्रदायक कम्पनी छनोट गर्ने तयारी भइरहेको छ । प्रक्रियाको सबै चरण पूरा गरेको निजी सेवा प्रदायक कम्पनी छनोट गरिनेछ । ठेक्का पाउने कम्पनीले जनशक्ति चाँडै परिचालन गरेमा वैशाखभित्र सुरुङमार्गको परीक्षण सञ्चालन गर्न सकिने पनि आयोजनाले जनाएको छ । यो सुरुङ मार्ग सञ्चालन गर्न १५० जना जनशक्ति आवश्यक पर्ने अनुमान छ ।
प्राविधिक मूल्यांकनमा छनोटमा परेका ७ मध्ये ६  चिनियाँ र एउटा भारतीय कम्पनी छ । जस अन्तर्गत काष्ठमण्डप–गान्सु हेङटङ जेभी, एसएक्सआरबी–ब्राइट बुल जेभी छन् । जेटीसीजी–डाँफे जेभी, चाइना फस्र्ट हाइवे इन्जिनियरिङ–समानान्तर जेभी, युसिन–एआरटी जेभी र वेदांशी–¥यानकेन जेभी छन् । खरिद प्रक्रियामा सहभागी भई प्राविधिक प्रस्तावमा छनोट भएका चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग संयुक्त उपक्रम (जेभी) मा बोलपत्र पेस गरेका छन् । यस्तै, इएमएसएल–पीएससीपीएल जेभी भारतीय कम्पनी हो । आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि गत कात्तिक १६ मा पहिलो पटक पुस २ सम्मको समयसीमा तोकेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । 
सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर, यसलाई बढाएर पुस १६ पुससम्म म्याद थप गरिएको थियो । फेरि, आयोजनाले बोलपत्रमा राखेका प्रावधानका केही बुँदा स्पष्ट नभएकाले स्पष्ट पार्न माग भएपछि म्याद थपेर पुस ३० गते पु¥याइएको थियो । तेस्रो पटक थपिएको यही समयसीमाभित्र सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धामा आउन बोलपत्रको प्रक्रियामा सहभागी भएका थिए । सुरुङमार्ग सञ्चालनमा अहिलेसम्म नेपाली सेवा प्रदायक कम्पनीको अनुभव नभएकाले नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । सेवा प्रदायक छनोट हुन समय लागिरहेकै कारण तयारी अवस्थामा रहेको नागढुंगा सुरुङमार्ग अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । 
सुरुङमार्ग सञ्चालनका लागि सवारीसाधन शुल्क भने तोकिसकिएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको मन्त्रिपरिषद् बैठकले सडक बोर्ड नेपालले प्रस्ताव गरेको शुल्क संरचना स्वीकृत गरेको थियो । जसअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस, ट्रक र ट्रिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने ठूला ट्रक तथा हेभी सवारीका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ चैत २५ मा जारी गरिएको हो । आयोजनाअन्तर्गत मुख्य र रेस्क्यु गरी दुईवटा सुरुङमार्ग निर्माण गरिएको छ । धादिङको सिस्नेरीबाट सुरु भई काठमाडौंको नागढुंगामा निस्कने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ । रेस्क्यु सुरुङको लम्बाइ २.५५७ किलोमिटर छ । 
सुरुमा १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुरुङमार्ग आयोजनामा निर्माण अवधिमा ठेकेदारको क्षतिपूर्ति दाबी, स्थानीय अवरोधलगायत कारणले लागत बढेर करिब २१ अर्ब रुपैयाँ पुगेको छ । अतिरिक्त लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले उपलब्ध गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्