नेभिगेशन
प्रदेश

नयाँलाई जनादेशको हुण्डरीबीच एक्ला फिरदोस

परम्परागत दलहरू बढारिँदा रौतहट–१ बाट विजयी उनी कांग्रेसका एक्ला प्रतिनिधि, व्यापक हारबीच जोगाए पार्टीको उपस्थितिको साख

रौतहट । फिरदोस आलम मधेशमा कांग्रेसको प्रतिनिधित्व जोगाउने एक्ला हुने भएका छन् । मधेशका प्रदेशका ८ जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३० वटा सिट जितिसकेको छ । धनुषा–१ मा नतिजा रोकिएको छ । तैपनि उक्त क्षेत्रमा उम्मेदवारी रद्द भएका किशोरी साहले ल्याएको मत अरु उम्मेदवारभन्दा अत्यधिक छ ।
रास्वपाको लहरले कांग्रेस, एमाले, नेकपासँगै मधेसवादी दलहरुलाई एकैपटक हुरी आएर बढारेको जस्तै बनाएको छ । यो अवस्थामा रौतटह–१ का  कांग्रेस  उम्मेदवार ३९ वर्षीय डा. फिरदोस आलमले भने पार्टीको प्रतिनिधि शून्य हुनबाट  जोगाएका छन् । 
आलम २९ हजार ५ सय २८ मतसहित विजयी हुँदा निकतम प्रतिष्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरण साहले १८ हजार ४ सय २२ मत पाए । रास्वपाका शेख सागिरले ९ हजार ३ सय २५ मत पाए । 
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा आलम किरण साहसँग पराजित भएका थिए । त्यो बेला स्वतन्त्र उठेका साहले ३२ हजार ८ सय ४२ मत ल्याउँदा आलमले २८ हजार २४८ मत ल्याएका थिए ।
‘देशैभरि घन्टीको लहर छाउँदा यस क्षेत्रका मानिसहरूले नेपाली कांग्रेसप्रति ठूलो विश्वास देखाउनुभएको छ,’ उनले भने, ‘अब यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको विकासको लागि काम गर्नेछु ।’
उनले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले देश र जनताको लागि राम्रो काम मात्र गर्नुको विकल्प नरहेको बताए ।
मधेस प्रदेशमा कांग्रेसका सभापति गगनकुमार थापादेखि केही पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू चुनाव लडेर पराजित हुँदाको अवस्थामा पार्टीको साख जोगाएकोमा आलम चर्चामा छन् । 
कांग्रेस नेता स्व. मोहमद आफताब आलमका छोरा फिरदोसले बंगलादेशको ढाका विश्वविद्यालयमा अध्ययन गरेका हुन् । उनी पूर्वप्रहरी निरीक्षक तथा चिकित्सक पनि हुन् । ज्यान मुद्दामा आरोपित भएपछि पिताको राजनीतिक करिअर संकटमा परेसँगै उनी २०५९ को निर्वाचनदेखि संसदीय राजनीतिमा आएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्