नेभिगेशन
नेपाल

कोसीबाट संसद् पुग्दैछ ‘हर्कवाद’

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर पदबाट राष्ट्रिय राजनीतिमा उक्लिने तयारी गरेका हर्कराज राई साम्पाङ अन्ततः संसद् प्रवेशमा सफल भएका छन् । उनले स्थापना गरेको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा तीन सिट जित्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको छ । 
मतगणनाको आइतबार घोषित नतिजाअनुसार सुनसरी–१ बाट पार्टी अध्यक्ष हर्कराज राई स्वयं विजयी भएका छन् भने भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट पार्टीका महासचिव आरेन राई निर्वाचित भएका छन् ।
धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर जितेर चर्चामा आएका साम्पाङले यसपटक संसदीय राजनीतिमा पनि आफ्नो प्रभाव देखाएका हुन् । सुनसरी–१ मा उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ र एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरेका छन् । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा यसपटक रास्वपाले परम्परागत दलहरूलाई चुनौती दिँदै पाखा लगाउँदा श्रम संस्कृति पार्टीले आफ्ना लागि एउटा सिट सुरक्षित गर्न सफल भएको छ ।
धरान उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका र राधुनी नगरपालिका गरी २७ वडा समेटिएको सुनसरी–१ निर्वाचन क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता थिए । तीमध्ये ८७ हजार ८६५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । १९ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेदवार गरी २६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा ४३ वर्षीय साम्पाङको जितले नयाँ राजनीतिक धारको संकेत दिएको विश्लेषण भइरहेको छ ।
श्रम संस्कृति पार्टीको अर्को सफलता खोटाङमा देखिएको छ । यहाँ पार्टीका महासचिव आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गर्दै एमालेका देवविक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पराजित गरेका हुन् । देवविक्रमले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेकपाका डा. हरि रोकाले ९ हजार ४४३, रास्वपाका रुद्र गिरीले ५ हजार ७०४ मत पाएका छन् । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । प्रत्यक्षतर्फ खसेको मतमध्ये ३ हजार ९२८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भोजपुरमा पनि श्रम संस्कृति पार्टीले जित हात पारेको छ । पश्चिम टेम्केमैयुङ गाउँपालिका–४ नागीका ४३ वर्षीय ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका राई भोजपुर बहुमुखी क्याम्पसका दुईपटक स्ववियु सभापति भएका थिए । त्यसपछि उनी टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । २०६२÷६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका राईले यसपटक एमालेका केन्द्रीय सचिव शेरधन राईलाई १ हजार ९१३ मतले पराजित गर्दै प्रतिनिधिसभा यात्रा तय गरेका हुन् । उनले १६ हजार ६६३ मत पाउँदा शेरधनले १४ हजार ७५० मत प्राप्त गरेका छन् ।
एमालेको कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका ध्रुवराज राई केही महिनाअघि मात्र एमाले परित्याग गरेर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । भोजपुरमा उनको विजयलाई पनि नयाँ राजनीतिक प्रयोगको परिणामका रूपमा हेरिएको छ ।
श्रम संस्कृति पार्टी यसैपटकको निर्वाचनमा दर्ता भएको नयाँ दल हो । यसका अध्यक्ष साम्पाङले धरानका मेयरका रूपमा श्रमदानमार्फत विकासको अभियान चलाएर चर्चा कमाएका थिए । धरानको खानेपानी समस्या समाधानलाई एकसूत्रीय एजेन्डा बनाएर २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका उनले जनश्रमदान अभियानमार्फत ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट दैनिक १०–११ लाख लिटर पानी धरानमा ल्याउने काम गरेका थिए । श्रमदान र जनसहभागिताको यही अभ्यासबाट उनले लोकप्रियता हासिल गरेका हुन् ।
यसै लोकप्रियतालाई राजनीतिक विचारका रूपमा संस्थागत गर्न उनले गत मंसिर १६ मा धरानमा पत्रकार सम्मेलन गर्दै श्रम संस्कृति पार्टी गठनको घोषणा गरेका थिए । पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गर्दै उनले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासका लागि अनिवार्य श्रम र श्रमदानको अभ्यास आवश्यक रहेको बताए । पार्टीको अवधारणाअनुसार धनीबाट बढी कर लिएर गरिबलाई संरक्षण गर्ने वैज्ञानिक कर प्रणाली, गाउँ केन्द्रित विकास, श्रमदानमार्फत भौतिक विकास र पूर्ण समानुपातिक प्रतिनिधित्वजस्ता नीति अघि सारिएका छन् ।
यस्तै जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा जोड्ने, जीवनोपयोगी शिक्षा प्रणाली लागू गर्ने तथा हप्तामा तीन दिन मात्र पढाइ हुने शिक्षा प्रणालीको प्रस्ताव पनि पार्टीको अवधारणामा समेटिएको छ । शासकीय संरचनाबारे पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको प्रस्तावसमेत अघि सारेको छ ।
यद्यपि तीन सिट जितेर संसद् प्रवेशको बाटो खुले पनि श्रम संस्कृति पार्टीलाई सरकारमा सहभागी हुने सम्भावना भने तत्काल देखिँदैन । संसद्मा विपक्षी बेन्चबाट आफ्नो आवाज उठाउनुपर्ने अवस्था रहनेछ । तर यही विपक्षी भूमिकाबाट पनि साम्पाङको विद्रोही शैली संसद्मा कडा रूपमा देखिन सक्ने अनुमान गरिएको छ ।
विशेषगरी रास्वपाको शैलीप्रति आलोचनात्मक रहँदै आएका साम्पाङले संसदरमा जनताका मुद्दा उठाउने बताएका छन् । विश्लेषकहरूका अनुसार परम्परागत दलका केही प्रभावशाली नेताहरू पराजित भएको यसपटकको निर्वाचनले नयाँ राजनीतिक पात्रहरूलाई अवसर दिएको छ । त्यसैले हर्कराज राई र उनको पार्टीप्रति जनअपेक्षा बढ्नु पनि स्वाभाविक नै हुन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्