नेभिगेशन
प्रदेश

सामाजिक अभियन्ता हुँदै संसद्सम्मको यात्रा

गलकोट (बागलुङ) । आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थालेका छन् । हालै रास्वपामा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नं २ को निर्वाचन जित्न सफल भएका छन् । ३४ वर्षीय शर्मा सामाजिक अभियन्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा सदस्य हुन सफल भएका छन् ।
शर्माले बागलुङ–२ मा १२ हजार ६४७ मत ल्याएर निर्वाचित भएका छन् । उनले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जितेका हुन् । यहाँ खसेको ४७ हजार २०७ मतमा शर्माका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६८ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का  ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले सात हजार ८६४ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए । 
कोरोनापीडितका सहयात्रीदेखि जेन्जी अगुवासम्म
बागलुङ बजारमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरेका शर्मा कोरोनाअघि काठमाडौँ पुगेका थिए । जेनजी आन्दोलन र नागरिक खबरदारीको अगुवाका रूपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बाड्दै काठमाडौँमा हिँडेका थिए । कोरोना, विपद्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाको सारथीका रूपमा चिनिएका उनी राजनीतिमा नयाँ अनुहारका रूपमा संसद् छिरेका हुन् । विसं २०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा शर्मा जन्मिएका हुन् ।
एक प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्तित्व भएका युवा नेताका रूपमा चिनिन थालेका शर्मालाई पहिलोपटक नै जनताले अनुमोदन गरेका छन् । विद्रोही युवाका रूपमा रहेका शर्माले सामाजिक सञ्जालबाट सुशासनको पक्षमा बोल्दै आएका थिए ।
रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्वमार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पु¥याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउँछन् । ‘बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सदनलाई जोड्नेछु,’ उनी भन्छन् ।
त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आम सञ्चार विषयमा स्नातक तह अध्ययन गरेका शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलतासम्बन्धी विभिन्न तालिम लिइसकेका छन् । पेसागत जीवनमा उनीसँग कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकका रूपमा कार्य गरेको अनुभव छ । विकासमा पछि परेको बागलुङ पश्चिम क्षेत्रको भूगोललाई राष्ट्रिय रूपमा चिनाउँदै पर्यटकीय क्षेत्रका रूपमा चिनाउने शर्माको अठोट छ ।

३४ वर्षे कांग्रेस विरासत तोडेका जोशी
अमरगढी (डडेल्धुरा) । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।
डा जोशी सात हजार १० मतान्तरले विजयी भए । उनले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले)का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन् ।
डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा जोशीको जन्म २०२७ साल चैत ३० गते भएको हो । उनी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनको लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आएको छ । डा जोशीको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो ।
विसं २०४८ मा शिक्षण पेसामा आबद्ध आबद्ध डा जोशी  २०५१ सालमा नेकपा (एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भए । उनले जिल्लाका विभिन्न विद्यालयहरूमा अध्यापनसमेत गरे । पार्टीभित्र डा जोशीले क्रमशः विभिन्न जिम्मेवारी सम्हाले । विसं २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य भएका उनी २०५४ सालमा जिल्ला कमिटी सचिव बने ।
त्यस्तै, २०५५ सालतिर डा जोशी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय रहे । त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाले । उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दूस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गरे ।
सङ्गठनमा लामो समय काम गरेका डा जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत भए । राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे । विशेषगरी २०६२÷६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता थियो । सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका उनी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन् ।
निर्वाचन राजनीतिमा भने डा जोशीले उतारचढाव भोग्नुप¥यो । विसं २०७० को संविधानसभा निर्वाचनमा उहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार व्यहोरे तर, २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि डा जोशीले पुनः राजनीतिक रूपमा बलियो उपस्थिति देखाए । विसं २०७८ मा एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय थिए ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि डा जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए । शैक्षिक रूपमा पनि डा जोशी उच्च अध्ययन गरेका नेता हुन् । नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) हासिल गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव छ ।

शिक्षकदेखि संसद्सम्म 
घोडाघोडी (कैलाली) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । बझाङको दुर्गम गाउँबाट सुरु भएको उनको जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ ।
विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य हुन् । जोशीले प्रारम्भिक शिक्षा बाँझगाउँस्थित बालविकास प्राथमिक विद्यालयबाट प्राप्त गरेका थिए । पछि २०५३ पुस ५ गते परिवारसहित कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बसाइँ सरेपछि उनले कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १० सम्मको अध्ययन पूरा गरे । 
त्यसपछि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएससी तथा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट उच्च शिक्षा अध्ययन गरेका जोशीले घोडाघोडी बहुमुखी क्याम्पसबाट बीए र एमएसम्मको अध्ययन पूरा गरेका छन् । जोशीले २०५६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले विभिन्न विद्यार्थी सङ्गठनका पदमा सक्रिय रहँदै सिद्धनाथ विज्ञान क्याम्पसको इकाइ समिति अध्यक्ष, केन्द्रीय पार्षदलगायतका जिम्मेवारी सम्हालेका थिए । राष्ट्रिय जनमोर्चामा आबद्ध भई कैलाली जिल्लामा सदस्य, सहसचिव, सचिव र अध्यक्षसम्मको जिम्मेवारी पूरा गरेका थिए । उनी पार्टीको केन्द्रीय पार्षद तथा प्रदेश सदस्य पनि रहिरसकेका छन् ।
विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा जोशी घाइते पनि भए । उनी  त्यसबेला संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समितिका सदस्य थिए । पेसाले शिक्षक जोशीलाई २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवार बनाएको थियो, तर उनी पराजित भए । विसं २०७४ को निर्वाचनमा उनी सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका थिए । विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय जनमोर्चाबाट घोडाघोडी नगरपालिका–१० को वडाध्यक्ष पदमा उम्मेदवारी दिए पनि उनी सफल हुन सकेनन् । 
गत साउन ३ गतेसम्म राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष रहेका जोशीले आफ्नै अध्यक्षतामा बसेको बैठकबाट राजीनामा दिँदै पार्टी परित्याग गरेका थिए । साउन ४ गते घोडाघोडी नगरपालिका–१० को वडा अधिवेशनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका जोशीलाई रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।
जोशीका अनुसार रास्वपाले उम्मेदवार चयन गर्दा लोकतन्त्रमा दिएको योगदान, व्यक्तिगत पृष्ठभूमि, भ्रष्टाचारमा मुछिएको वा नमुछिएको अवस्था, शिक्षा र अनुभवलाई मुख्य आधार बनाउने गरेको छ । सोही मापदण्डका आधारमा आफूलाई टिकट दिइएको पनि उनी बताउँछन् । चुनावी परिणामबारे सुरुआतमा यति ठूलो समर्थन आउने अपेक्षा नगरेको बताउँदै जोशी आर्थिक रूपमा आफू कमजोर रहेकाले चुनावी अभियान चलाउन कठिनाइ भएको स्वीकार्छन् ।
आगामी दिनमा कति काम गर्न सकिन्छ भन्ने कुरा भविष्यले नै बताउने जोशीले बताए । जोशी जम्मा मत ५९ हजार ७५९ मा २० हजार ३५९ मत प्राप्त गर्दै विजयी भएका हुन् । नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरेका थिए । एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गर्दा राप्रपाका वीरेन्द्र बमले दुई हजार ३४७ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्