सिन्धुपाल्चोक, १२ भदौ - चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीमा लगातारको पहिरोका कारण ठप्प बनेको छ । चाडपर्व लक्षित सामग्री भित्र्याउने प्रमुख समयमा व्यापार ठप्प हुँदा तातोपानी नाका क्षेत्र सुनसान बनेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, को इको क्षेत्रमा असारयता निरन्तर पहिरो जाँदा ६ मिटर सडक भासिएको छ । यसले गर्दा नाकाबाट सामान आवतजावत पूर्णरूपमा अवरुद्ध बनेको छ । २२ दिनभन्दा बढी समयदेखि व्यापार ठप्प छ भने दशैं–तिहारको मुख्य सिजनमा नाका बन्द हुँदा व्यापारीहरू चिन्तित छन् ।
रसुवागढी नाका असार २४ को बाढीपछि बन्द भइसकेकाले अहिले व्यापारका लागि तातोपानी एकमात्र विकल्प बनेको छ । तर, तातोपानी नाका क्षेत्रसमेत अवरुद्ध भएपछि चीनबाट सामान ल्याउने प्रक्रिया कठिन भएको छ । अहिले नेलाम, केरुङ, सिगर्चे, ल्हासा लगायतका स्थानमा नेपालका लागि तयारी अवस्थामा रहेका ७ सयभन्दा बढी कन्टेनर अड्किएका छन् ।
चिनियाँ पक्षले दैनिक ६–७ वटा कन्टेनर मात्र पठाइरहेकाले मागअनुसार आपूर्ति हुन सकेको छैन । व्यापारीहरूका अनुसार पहिरो र सडक अवरोधका कारण एउटा कन्टेनर सामग्री ल्याउन एक लाख ४० हजार रुपैयाँसम्म तिरेर भरियामार्फत सामान बोकाउनुपरेको छ ।
लगातारको वर्षा, माथिबाट माटोको लेदो र तलबाट भोटेकोशी नदीको कटानले सडक थप जोखिममा परेको छ । समस्याको समाधानका लागि डीटीएच प्रविधिमार्फत पहिरो क्षेत्रको जमिनभित्रको पानी निकाल्ने प्रयास भए पनि सफलता प्राप्त भएको छैन ।
तातोपानी भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा २४ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । त्यसअनुसार हरेक महिना दुई अर्ब रुपैयाँ उठाउनु पर्ने हुन्छ । तर साउन महिनामा लक्ष्यको केवल ४४ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।
गत वर्ष पनि बारम्बारको पहिरोले ९० दिनसम्म सडक अवरुद्ध हुँदा लक्ष्यअनुसारको राजस्व असुली हुन सकेको थिएन । भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार, यस वर्ष पनि उस्तै अवस्था दोहोरिएको छ । पहिरो माथिको कोदारी बस्ती जोगाउनु र न्यूनतमरूपमा भए पनि ट्र्याक खोलेर नाका सञ्चालनमा ल्याउनु आजको मुख्य चुनौती रहेको छ ।
रसुवागढी पूर्णरूपमा बन्द भएकाले व्यापारिक चाप तातोपानीमा बढ्ने निश्चित भए पनि सडक र पूर्वाधार सुधार नगरी त्यसको फाइदा लिन नसकिने स्पष्ट देखिन्छ ।