नेभिगेशन
प्रदेश

कर्णालीमा कांग्रेस, एमाले र नेकपाबीच नै प्रतिस्पर्धा

मुगु । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को परिणामले राजनीतिक सन्तुलन रोचक देखाएको छ । अन्य प्रदेशमा जस्तो यहाँ रास्वपाले प्रभाव देखाउन नसक्दा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (साबिकको माओवादी केन्द्र) बीच कडा प्रतिस्पर्धा भएको छ । 
कांग्रेस ५ र नेकपाले ४  सिट जित्दा एमाले, रास्वपा र राप्रपाले एक÷एक सिट जितेका छन् ।   
मुगु, हुम्ला, सुर्खेत–१ र जाजरकोटमा कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् । डोल्पा, कालीकोट र सल्यान नेकपाले जितेको छ । 

दोहोरिए राप्रपाका शाही, ६ जनाको जमानत जफत 
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८१६ मत ल्याएर विजयी भएका छन् । यसअघि २०७९ को निर्वाचनमा जितेका शाही यसपटक पनि सफल भएका हुन् ।
जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन् । जिल्लामा विभिन्न नौ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा बढी उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत जोगाउन असफल भएका छन् । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा र प्रभाव देखिए पनि जुम्लामा भने त्यसको रापताप निष्प्रभावी रह्यो ।
रास्वपा उम्मेदवार विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरिन् । आवश्यक मत ल्याउन नसक्दा उनको पनि जमानत जफत भएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी का मनऋषि धितालले ११२ मत मात्र पाए । नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाहीले ७१ मत पाए ।
नेपाल जनता पार्टीका रनील विक्रम शाही ले ४३ मत मात्र प्राप्त गरे । न्यून मत पाएका स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल पनि जमानत जफत हुनेमा परेका छन् । 
खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा निर्वाचन कार्यालयमा उम्मेदवारले बुझाएको धरौटी रकम जफत हुने प्रावधान छ । जुम्लामा जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार उक्त प्रावधानका कारण ६ उम्मेदवारले जमानत गुमाएका हुन् ।
विजेता राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पछाडि पारेका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा भण्डारीले ११ हजार ६३५ मत पाएका छन् । कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३, एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत पाएका छन् ।
निर्वाचनमा जिल्लाभर करिब ५७ प्रतिशत मत खसेको छ । प्रत्यक्षतर्फ ४० हजार ८९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८.०३ प्रतिशत मत खसेको थियो ।
जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ छ । चुनावी प्रतिस्पर्धा रोचक बने पनि अन्ततः मत परिणामले जुम्लामा राप्रपाको पकड बलियो रहेको देखाएको छ ।
उता मुगुमा एमाले र नेकपाका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका खड्ग शाही ७ हजार ९१४ मतका साथ विजयी भएका छन् । एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ र नेकपाका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत पाएका छन् । यो जिल्लामा पनि रास्वपाले प्रभाव देखाउन सकेन । यहाँ रास्वपा उम्मेदवार भुवन टमटाले ५३० मत पाएका छन् ।
डोल्पामा नेकपाका धनबहादुर बुढा ६ हजार ८०२ मतका साथ विजयी भएका छन् । उनको निटतम प्रतिष्पर्धी एमालेका लंकबहादुर रोकायाले ५ हजार ३९६ मत पाएका छन् । कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत पाउँदा रास्वापाका देवसिंह ऐडीले १८१ मत पाएका छन् । 
हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी भएका छन् उनले ८ हजार ७९७ मत पाउँदा निकटतम प्रतिष्पर्धी नेकपाका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत पाएका छन् । एमालेका दल फडेराले ४ हजार ३३१ र रास्वपाकी टासी ल्हान्जोमले १ हजार ६४ मत पाएकी छन् ।
सल्यानमा नेकपाका रमेशकुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी रास्वपाका ललितकुमार चन्दले २० हजार ९०४ मत पाएका छन् । यहाँ कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले १७ हजार ५५८ र एमालेका गुलावजंग शाहले १५ हजार ३७३ मत पाएका छन् ।
कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही ११ हजार ७३४ मतका साथ विजयी भएका छन् । यहाँ एमालेका नगीन्द्र शाहीले १० हजार ६४७, कांग्रेसका हर्षबहादुर बमले ७ हजार ४५०, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्माले ४ हजार ९९३ र रास्वपाका प्रकाश न्यौपानेले ३ हजार १०१ मत पाएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा कांग्रेसकी बासना थापा र एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । थापाले १२ हजार ३७२ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याएका छन् । यहाँ रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ र नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत पाएका छन् ।
दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेलको १३ हजार ८८९ मत आउँदा कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाएका छन् । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७ र नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ मत पाएका छन् ।
सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का २६ हजार ८९७ मतका साथ विजयी भएका छन् । यो कांग्रेस नेता पूर्णबहादुर खड्काको क्षेत्र हो, यसपटकका उमम्ेदवार विष्णु उनैका भाइ हुन् । पार्टीका विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति बनेपछि असन्तुष्ट शेरबहादुर देउवाका विश्वासपात्र पूर्णबहादुर अदालत गएका थिए । त्यसैले पार्टीले उनलाई यसपटक टिकट नदिइ भाइलाई उठाएको थियो ।
यो क्षेत्रमा दोस्रो बनेका एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन् । यस्तै रास्वपाका टेकबहादुर सिंहको प्राप्त मत १४ हजार ७२९ र नेकपाका जितबहादुर रानाको २ हजार ८२८ रह्यो ।

एउटा सिटमा रास्वपा  
देशका विभिन्न भागमा पराम्परागत दललाई कडा टक्कर दिएर अप्रत्यासित नतिजा निकालेको रास्वपाले कर्णालीमा भने प्रभाव विस्तार गर्न नसकेको देखिएको छ । यहाँ रास्वपाले सुर्खेत–२ मा मात्र जित हात पारेको छ । तर, प्रतिस्पर्धी उम्मेदवारसँगको फराकिलो मतान्तरले भने कोशी, गण्डकी र वाग्मतीका विभिन्न क्षेत्रमा नतिजाको झलक दिएको छ । 
रास्वपाका रमेशकुमार सापकोटा ३० हजार ८२६ मतका साथ विजयी भएका छन् । कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२, एमालेका कुलमणि देवकोटाले १३ हजार १५५ र नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७ मत पाएका छन् ।   

प्रचण्डका विश्वासपात्र पराजित 
लगातार जित हात पार्दा विभिन्न समय सरकारमा रहेर मन्त्रालयहरू हाँक्ने मौका पाएका शक्तिबहादुर बस्नेत नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्छन् । यो चुनावमा उनी पराजित भएका छन् । जाजरकोटमा ५६ वर्षीय बस्नेतलाई कांग्रेसका ४० वर्षीय खडकबहादुर बुढाले पराजित गरेका हुन् । 
बुढाले २० हजार १४२ मत पाउदा बस्नेतले १७ हजार ४०७ पाएका छन् । यहाँ एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ र रास्वपाका राघव कार्कीले २ हजार ४७१ मत पाएका छन् ।

पुरानो दल छाड्दा जनार्दनलाई नोक्सान 
अघिल्ला निर्वाचनहरूका आफ्ना लागि योजनाकारका साथै विशेष सहयोगी रहेका गोपाल शर्माबाट जनार्दन शर्मा हारेका छन् । चुनावअघि नै प्रचण्डसँग असन्तुष्ट भएर पार्टी छाड्दै जनार्दन प्रलोपामा गएका थिए । नेकपामा उनको रिक्ततामा पार्टीले गोपाललाई उठाएको थियो ।
नेकपाका गोपाल शर्माले २१ हजार ६०९ मत ल्याउँदा प्रलोपाका जनार्दन १४ हजार ३४६ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् । दोस्रोमा कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाएका छन् । यहाँ चौथो बनेका रास्वपाका मानबहादुर शाहीले ४ हजार ७६ मत पाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्