नेभिगेशन
नेपाल

रास्वपाको लहरमा भत्किएको विरासत र बनेका रेकर्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा एकलौटी लहर ल्याउँदा यसपटकको निर्वाचन रोचक बन्न पुगेको छ । रास्वपाले मात्रै १ सय ६५ मध्ये १ सय २५ स्थानमा जित हासिल गरेको छ । कर्णाली प्रदेशमा एक सिटमात्रै जितेको रास्वपाले अरु प्रदेशमा भने बहुसंख्यक सिट जितेको छ । रास्वपाको लहर देखिँदा यसपटक नेपालको निर्वाचन इतिहासमा नयाँ नयाँ रेकर्ड पनि कायम भएका छन् । 
संसदीय राजनीतिको पछिल्लो ३४ वर्षमा कांग्रेस र एमाले सबैभन्दा कमजोर भएका छन् ।  १ सय ६५ सिटमध्ये प्रत्यक्षतर्फ कांग्रेसले १८, एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र १ सिट जितेका छन् । 
नेपालको इतिहासमै पहिलो पटक कुनै एउटै दलले काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्र, भक्तपुरको २ र ललिलतपुरको ३ वटै क्षेत्र जितेको यो पहिलोपटक हो । काठमाडौं, भक्तपुर र ललिलतपुरमा एकसाथ एउटै दलले क्लिन स्विप गरेको यो पहिलो हो । 
काठमाडौंका १० क्षेत्रमा रास्वपाका रञ्जु दर्शना, सुनील केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल,  गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रदीप विष्टमा निर्वाचित भए । ०७९ मा निर्वाचन जितेका रास्वपाका शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ भने पुनः निर्वाचित भएका हुन् ।
०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले देशभर १२० सिट जितेर लहर ल्याउँदा  उपत्यकामा भने सबै क्षेत्र जित्न सकेको थिएन । त्यसबेला माओवादीले काठमाडौंमा ७ सिट मात्रै जितेको थियो भने ललितपुरमा भने क्लिन स्विप गरेको थियो । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले दुइवटै क्षेत्र जितेको थियो । तर, यसपटक भने भक्तपुर–१ मा ०४८ यता लगातार ७ वटा चुनाव जितेको नेमकिपाको किल्ला समेत भत्किएको छ । 
ललितपुरका तीन क्षेत्रमा बुद्धरत्न बज्राचार्य, जगदीश खरेल र  तोसिमा कार्की विजयी भए । भक्तपुरमा रुकेश रञ्जित र राजीव खत्री निर्वाचित भए । रञ्जितले ३४ वर्षपछि नेमकिपाको गढ भत्काएका छन् । 
मधेशमा ‘शून्य’ मधेस केन्द्रित दल 
मधेशका ८ वटा जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । रौतहटमा एउटा सिटका कांग्रेस विजयी भयो । अरु ७ वटै जिल्लामा रास्वपाले ‘क्लिन स्विप’ गरेको छ । मधेश प्रदेशको निर्वाचन ०६४ देखि ०८२ सम्म आइपुग्दा एउटा पूर्ण चक्र जस्तो देखिएको छ । ०६४ मा क्षेत्रीय पहिचानको मुद्दाबाट उदाएका मधेस केन्द्रित दलहरू ०८२ सम्म आइपुग्दा लगभग शून्यको अवस्थामा पुगेका छन् ।
०६३÷६४ को मधेस आन्दोलनको जगमा भएको पहिलो संविधानसभा निर्वाचनमा मधेसी दलहरू एउटा निर्णायक शक्तिको रूपमा उदाएका थिए । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम चौथो ठूलो शक्तिको रूपमा २८ सिटसहित संविधानसभा थियो । त्यतिबेला महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतोको सद्भावना पार्टीले पनि राम्रो मत ल्याएका थिए । ०७० मा दोस्रो संविधानसभामा आइपुग्दा मधेसी दलहरू विभाजित भए । सत्ताको लुछाचुँडीले गर्दा जनतामा निराशा छायो र कांग्रेस–एमालेले मधेसमा आफ्नो गुमेको साख फर्काउन सफल भए । 
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस केन्द्रित दुई प्रमुख दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भयो । उनीहरुले २१ सिट प्रत्यक्ष र १२ सिट समानुपातिक गरि ३३ सांसद बनाए । तर, ०७९ को निर्वाचनमा मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टी वैकल्पिक शक्तिका रुपमा उदायो । १ प्रत्यक्ष र ५ समानुपातिक गरि जनमतले ६ सांसद बनाउँदा कांग्रेसले ७ र एमालेले ९ सिट जितेका थिए ।  
तर यसपटकको निर्वाचनमा मधेसमा मधेस केन्द्रित दलमात्रै होइन एमाले पनि शून्य हुन पुगेको छ भने कांग्रेसले जम्मा एक सिट जितेको छ । बारा, पर्सा, धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाहीमा सबै क्षेत्र रास्वपाले जितेको छ । रौतहटमा पनि ४ मध्ये ३ सिट जितेको छ । भावी प्रधानमन्त्रीमा रास्वपाले मधेसकै बालेन शाहलाई अघि सार्दा आफ्नो लहर ल्याउन सकेको मधेस मामलाका जानकारहरु बताउँछन् । 
गण्डकीमा पनि उर्लियो रास्वपा, एमाले शून्य
गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुँदा रास्वपा लहर देखिएको छ । कांग्रेस–कम्युनिष्ट गढ यसपटक नराम्ररी भत्किएको छ । ०७९ मा ९ सिट जितेर पहिलो शक्ति बनेको कांग्रेस २ सिटमा सीमित बन्दा ५ सिट जितेको एमाले निल भएको छ । यसपटकको चुनावमा जित्ने एकजना मात्रै स्वतन्त्र उम्मेदवार यही प्रदेशबाट छन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भए । 
०७९ को चुनावमा १ सिट जितेको रास्वपाले यसपटक १५ सिट जितेर कीर्तिमान बनाएको छ । गण्डकीका ८ जिल्लामा रास्वपाले क्लिन स्विप गरेको छ । गोरखा, कास्की, तनहुँ, नवलपुर, स्याङ्जा, बागलुङ, पर्वत र लमजुङमा रास्वपाले जितेको छ । कांग्रेसका टेकबहादुर गुरुङ मनाङ र योगेश गौचन थकाली मुस्ताङमा निर्वाचित भएका छन् । ०७९ मा कांग्रेस ९,एमाले ५, नेकपा माओवादी केन्द्र २, राष्ट्रिय जनमोर्चा १, रास्वपा १ सिटमा विजयी भएका थिए । 
सूदूरपश्चिममा शानदार इन्ट्री, एमालेलाई राहत
रास्वपाले सूदूरपश्चिम प्रदेशबाट शानदार इन्ट्री गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १० सिट जित्दै ऐतिहासिक सफलता पाएको छ । यो प्रदेशमा ३४ वर्षदेखि कायम रहेको कांग्रेसको ’गढ’ समेत यसपटक भत्किएको छ । 
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले ०४८ यता लगातार जित्दै आएको डडेलधुरामा यसपटक रास्वपाका ताराप्रसाद जोशी निर्वाचित भए । ५ सिट रहेको कैलाली र २ सिट रहेको कञ्चनपुरमा रास्वपाले क्लिन स्विप ग¥यो भने वैतडीमा पनि जित्यो । कांग्रेस र एमालेले ३÷३ सिटमात्रै जिते । यो प्रदेशले कांग्रेस र एमालेलाई केही राहत दिएको छ । 
कर्णालीमा कांग्रेस पहिलो दल 
अन्य प्रदेशमा कमजोर बनेको कांग्रेस कर्णाली प्रदेशमा भने ५ सिट जित्दै पहिलो दल बनेको छ । यो प्रदेशमा सबेभन्दा धेरै दलको प्रतिनिधित्व भएको छ । कांग्रेस, नेकपा, एमाले र राप्रपा पनि जितेका छन् । 
१२ निर्वाचन क्षेत्र रहेको यहाँ रास्वपा, राप्रपा र  एमालेले १÷१ सिट मात्रै जितेको छ । देशभर कतै जित्न नसकेको राप्रपाको बीउ कर्णालीमा जोगिएको छ । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भए भने नेकपाले यहाँ ४ सिट जितेको छ । 
कांग्रेसबाट मुगुमा खड्ग शाही, हुम्लामा जयपती रोकाया, जाजरकोटमा खड्गबहादुर बुढा, दैलेख–१ मा बासना थापा र सुर्खेत–१ मा विष्णुबहादुर खड्का निर्वाचित भए । नेपाली कम्युनिष्ट पार्टीबाट महेन्द्रबहादुर शाही (कालीकोट), रमेश मल्ल (सल्यान), गोपाल शर्मा (रुकुम पश्चिम) र धनबहादुर बुढा (डोल्पा) निर्वाचित भए । 

प्रचण्डलाई लुम्बिनीको सेल्टर, नेकपालाई ढाडस
नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी प्रदेशले सेल्टर दिएको छ । प्रचण्ड रुकुमपूर्वबाट निर्वाचित हुँदा नेकपाकै वर्षमान पुन रोल्पा र गोपाल शर्मा रुकुम पश्चिमबाट निर्वाचित भए । युद्धकालीन गढमा नेकपाले आफ्नो अस्तित्व जोगाएको छ । 
लुम्बिनी प्रदेशमा २६ सिट मध्ये २१ सिटमा जित्दा रास्वपाले ७ जिल्ला क्लिन स्विप गरेको छ । रास्वपाले जितेको छ । कांग्रेस २, नेकपा २ र एमालेले १ सिट मात्रै जितेको छ । परम्परागत कांग्रेस र एमाले गढ यसपटक नराम्ररी भत्किएको छ । रुपन्देहीको ५क्षेत्र, दाङको ३ क्षेत्र, बर्दियाको २ क्षेत्र, नवलपरासीको २ क्षेत्र, गुल्मीको २, अर्घाखाँची र प्युठानमा रास्वपाले क्लिन स्विप गरेको छ । बाँकेको ३ मध्ये २ क्षेत्र, पाल्पाको १ र कपिलवस्तुको १ क्षेत्रमा रास्वपा जितेको छ । मोहम्मद इस्तियाक राइले बाँके २ जित्दै एमालेको बीउ जोगाएका छन् भने कपिलवस्तु २,३ र पाल्पा १ मा कांग्रेसले जितेको छ । 
भावी प्रधानमन्त्रीको प्रतिस्पर्धा
संसदीय प्रजातन्त्रमा प्रधानमन्त्रीको चयन संसदबाट हुन्छ । सिद्धान्ततः यस्तो व्यवस्थामा भावी प्रधानमन्त्री घोषणा गरेर जाने अभ्यास कम हुन्छ । तर, यसपटक नेपालमा चुनावको केन्द्र नै  भावी प्रधानमन्त्रीको विषय बन्यो । रास्वपाले बालेन शाह, कांग्रेसले गगन थापा र एमालेले केपी ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर मत मागे । 
ओली शाहसँगै पराजित भए भने थापा पनि पराजित भए । प्रधानमन्त्रीका भावी  उम्मेदवारमध्ये बालेन मात्रै विजयी भएनन् । उनको दलले एक्लै सरकार बनाउन सक्नेगरी लहर ल्यायो । संसदको बैठक बसेर संसदीय दलको नेता चयन नहुँदै बालेन निर्विकल्प प्रधानमन्त्रीका रुपमा देखा परेका छन् । यो नेपालको राजनीतिमा नयाँ प्रयोग हो । यद्यपि कांग्रेसले ०५६ को चुनावमा भने कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनाव लडेको थियो ।

प्रत्यक्षमा कसको कति सिट ?

रास्वपा – १२५
कांग्रेस – १८
एमाले – ९
नेकपा – ८
श्रम संस्कृति – ३ 
राप्रपा –१
स्वतन्त्र – १

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल