नेभिगेशन
प्रदेश

पाए चर्चा, पाएनन् मत

रौतहट–४ मा ऋषि धमलासहित ३४ उम्मेदवारको जमानत जफत

रौतहट । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यतिबेला गरेका केही कमेन्टमा ‘हाम्रा ऋषि दाइको रौतहट–४ ले श्रम शोषण ग¥यो’ भन्ने पनि छ । यो धमलालाई पराजित भएकोमा कटाक्ष गरिएको भए पनि यसमा सहानुभूति पनि छ । मोबाइल चुनाव चिह्न लिएर रौतहट–४ बाट चुनावी मैदानमा फाल हालेका चर्चित पत्रकार धमलाले जमानत जोगाउन सकेनन् ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल ३६ हजार ८७६ मत ल्याएर विजयी बन्दा धमला छैटौं स्थानमा रहे । उनले  ६५५ मात्र मत पाएका छन् । विजयी पौडेल र धमलाको ३६ हजार २२१ मतान्तर छ । निर्वाचनका लागि काठमाडौंबाट योजनाबद्ध मधेश झरेका धमलाले मतदाताको मन जित्न गर्न सकिनेसम्मका जुक्ति लगाएका थिए । 
उनले भोट माग्ने क्रममा गरेका क्रियाकलापहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए । प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका उनले कहिले खेतमा गएर उखु बोक्ने, कहिले जेरी बनाउने, कहिले काठ चिर्ने कहिले चटपटे बनाउने, कहिले साइकल चलाउने, मतदातासँगै रुने रमाउने उनका क्रियाकलापका फोटो र भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि रमाइलो बनेको थियो । 
उनी मत माग्न जहाँ जान्थे, सँगै फोटो खिच्न सबै झुम्मिनेको भीड लाग्थ्यो । उनका हाउभाउ र भाषण धेरैले रमाइलो मानेर हेर्ने–सुन्ने गरेका देखिन्थे ।  
धमलाले घरदैलोका क्रममा जनताका समस्यालाई ठाउँको ठाउँ समाधान गर्न प्रयास पनि गरेका थिए । महिनौंदेखि तलब नपाएका शिक्षकहरूलाई तलब उपलब्ध गराइदिन भन्दै नगर प्रमुखलाई फोन गर्ने, सामाजिक सुरक्षा भत्ता लिन लाइन बसेका वृद्धवृद्धालाई घरमै भत्ता पु¥याउन बैंकका अधिकारीहरूलाई आग्रह गर्नेजस्ता जनसरोकारका मुद्दाहरूलाई समेटेर जनमत जित्न प्रयास गरेका थिए । यतिमात्र होइन घरदैलोको क्रममा भेटिएका दीर्घरोगीहरूलाई उठाएर आफ्नै खर्चमा उपचार पनि गराएका थिए । आफूले ५० भन्दा बढी बिरामीलाई उपचारमा सघाएको उनको दाबी छ । रौहतटको गरुडामा वर्षौदेखि बन्द रहेको श्रीराम सुगर मिल्समा गएर चुनावमा आफूले जिते यसलाई सञ्चालनमा ल्याउने दाबी उनले गरेका थिए । 
उनले आफ्नो उम्मेदवारीलाई गम्भीरतापूर्वक लिए पनि रौतहट–४ का मतदाताले ठट्टामात्रै बुझेको मत परिणामले देखाएको छ । आम मतदाताले उनलाई रमाइलोको रुपमा मात्र लिँदा मत कम आएको आम बुझाइ छ । ‘मैले उहाँको मेहनत हेरेर हजार, पन्ध्र सय मत ल्याउनुहुन्छ कि जस्तो लागेको थियो । तर, रास्वपा र बालेनको सुनामीले गर्दा त्यति पनि आएन,’ उनको क्षेत्रका एक वृद्ध मतदाताले भने, ‘उहाँको उम्मेदवारीलाई यहाँका मतदाताले गम्भीरतापूर्वक लिनु नै भएन ।’ अधिकांश मतदाताले त धमला आफ्ना लागि भन्दा पनि आफ्नी श्रीमती एलिजा गौतमको लागि चुनाव लडिरहेको प्रतिक्रिया दिएका थिए । गौतम प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट समानुपातिकको सूचीमा पहिलो नम्बरमा छिन् । 
यता धमला भने आफूलाई चुनावमा जानुअघि बालेन शाहले दुई पटक बोलाएर जुन क्षेत्रबाट लडे पनि टिकट दिने बताएको गफ दिन्छन् ।  आफू आफ्नै इच्छाले मोबाइल छाप लिएर लडेको उनले बताउँदै आएका छन् ।
नमिठो पराजयपछि उनले मतदातालाई धन्यवाद दिँदै रौतहटको विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म जनमतको कदर गर्ने मान्छे । रौतहट–४ का जनताले दिनुभएको मतको पनि कदर गर्छुँ,’ उनले भने, ‘रौतहट–४ का जनताले दिनुभएको माया म कहिले बिर्सिन्न । समग्र रौतहटको विकासमा अब म सधैंभरी लागिरहन्छु ।’ निर्वाचन क्षेत्रका लागि आफूले ल्याएको वाचापत्र विजयी उम्मेदवार गणेश पौडेललाई बुझाउँदै उनले त्यसलाई पुरा गर्न आग्रह गरेका छन् ।  
यसैबीच पराजित भएपछि धमलाले आम जनता पार्टी र मोबाइल छाप चुनाव चिह्नसँगको सम्बन्ध तोडेका छन् । सोमबार रिपोर्टस् क्लबमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले दुवैसँगको सम्बन्ध निर्वाचनसँगै सकिएको भन्दै आफू अब स्वतन्त्र रहेको घोषणा गरेका छन् ।  
रौतहट–४ मा धमलासहित ३४ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा रास्वपा, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको मात्र जमानत जोगिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्