नेभिगेशन
प्रदेश

चुरेका दुर्गम बस्तीमा यातायात ठप्प

सर्लाही, १२ भदौ - सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका दुर्गम बस्ती नारायण खोलालगायतका क्षेत्रमा वर्षा सुरु भएलगत्तै यातायात सेवा ठप्प भएको छ । 

चुरे क्षेत्रका खोलाहरूमा आएको बाढीले बाटो बगाएपछि स्थानीय बासिन्दा घण्टौं पैदल यात्रा गर्न बाध्य भएका छन् । नारायण खोला, शिरकालिञ्जोर, पिपल दमार, लामिडमार, सिस्नेखर्कलगायतका चुरे क्षेत्रका बस्तीमा अहिलेसम्म पक्की सडक सञ्जाल नपुगेकाले हिउँद याममा खोलाको बगरमै सवारी चल्ने गरेको थियो । 

तर बर्खा लागेसँगै खोलामा बाढी आएकाले बस, मोटरसाइकल, टेम्पोजस्ता सवारी ठप्प भएका छन् । स्थानीय शिक्षक नवराज उपाध्याय भन्छन्, ‘अरू बेला खोलाको बगर हुँदै मोटरसाइकल चल्थ्यो, अहिले बाढीले गर्दा मोटरसाइकल पनि घरमै थन्किएको छ ।’

सामान किन्न, उपचार गर्न वा अन्य आवश्यक कामका लागि स्थानीयहरू चार–पाँच घण्टा पैदल हिँडेर पत्थरकोटसम्म झर्नुपर्ने बाध्यता छ । शिरकालिञ्जोरका स्थानीय प्रकाश विक भन्छन्, ‘गाडी नचलेका बेला बिरामी परे वा सुत्केरी भए झोलुंगोमा बोकेर स्वास्थ्य चौकी लैजानुपर्छ ।’

बजारसँगको सम्पर्क विच्छेद भएपछि कृषि–उपज बिक्री गर्न नसकिएको, खसीबोका र कुखुरा पनि गोठमै थन्किएका स्थानीयले गुनासो गरेका छन् । अविरल वर्षाले बाढी आएपछि पिउने पानीका मुहानमा बाहिरी पानी मिसिएर दूषित भएको वडाध्यक्ष छेनाम सिङ घिसिङ बताउँछन् ।

उनका अनुसार, ‘घाँस–दाउरा मेलापात गर्नसमेत समस्या भएको छ, नारायण खोला अहिले पूर्णरूपमा बाहिरी सम्पर्कबाट विच्छेद भएको छ ।’ लालबन्दी नगरपालिका–१४, स्थित नारायण खोला क्षेत्र ५०.१४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दुर्गम भू–भाग हो । 

यहाँको मुख्य बजार लालबन्दी भए पनि बर्खायाममा बाढीका कारण पैदल यात्रा गर्न पनि मुस्किल हुने गरेको छ । वडाध्यक्ष घिसिङका अनुसार, वडा नं. १३ को पत्थरकोट छेडा गाउँदेखि नारायण खोला (मोटरदोभान) सम्म ट्र्याक पुर्‍याइएको छ । तर, पुल नबनेका कारण बाटो सञ्चालनमा आउन सकेको छैन । 

उनले बताएअनुसार, यो वर्ष पुल निर्माणको लागि बजेट व्यवस्था गरिएको छ । पुल बनेपछि मोटर दोभानसम्म गाडी पुग्ने र स्थानीयको समस्या केही हदसम्म समाधान हुने आशा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्