नेभिगेशन
प्रदेश

भूमि विधेयक खारजीको माग गर्दै जसपाको प्रदर्शन

सप्तरी, १२ भदौ - सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरीको बोदेबरसाइन नगरपालिकामा विरोध प्रदर्शन गरेको छ ।

पार्टीले भदौ ९ देखि १६ गतेसम्म विभिन्न स्थानमा विरोध कार्यक्रम सञ्चालन गर्ने तालिकाअनुसार बिहीबार बोदेबरसाइनमा विरोध जुलुस निकालेको हो ।

जुलुस नगर परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने नेताहरूले विधेयक भूमाफिया र दलालहरूको हितमा रहेको आरोप लगाए । 

उनीहरूका अनुसार सरकारले ल्याएको यो विधेयकले तराई–मधेशको जमिनमाथि हस्तक्षेप गर्दै मरुभूमीकरणतर्फ डोर्‍याउने खतरा छ । 

जसपा नेपालले यो विधेयक तत्काल खारेज गर्न माग गर्दै विरोधका कार्यक्रमहरू जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्