काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बेहोरेको लज्जास्पद पराजयपछि पार्टीभित्रको आन्तरिक राजनीतिमा नयाँ र गम्भीर मोड आएको छ । गत भदौ अन्तिम साता विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापा नेतृत्वको पार्टीले ५० औं दिनमा प्रतिनिधिसभा चुनावको सामना गरेको थियो । तर, नतिजा अपेक्षित आएन । पछिल्लो कालखण्डको ३४ वर्ष लामो संसदीय राजनीतिमा यसपटक कांग्रेस सबैभन्दा कमजोर बनेपछि त्यसको जिम्मेवारी कसले लिने भन्ने बहस भइरहेको छ ।
विशेष महाधिवेशनको विपक्षमा रहेको समूहका नेता, कार्यकर्ता पराजयको जिम्मेवारी सभापतिका रुपमा थापाले लिनुपर्ने पक्षमा देखिएका छन् भने संस्थापन पक्ष प्रतिकूल बेलामा निर्वाचनमा गएकाले सभापतिले राजीनामा दिन नहुने अडानमा छ ।
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर फागुन २१ को चुनावमा सहभागी भएको थियो । सभापति थापा स्वयंं सर्लाही–४ मा पराजित भए भने प्रत्यक्ष उम्मेदवार बनेका विशेष महाधिवेशनबाट आएका सबै पदाधिकारी पराजित भएका थिए । २०७९ मा ८९ सिटसहित पहिलो दल रहेको कांग्रेस अहिले प्रत्यक्षमा १८ सिटमा सीमित हुन पुगेकोे छ । पुरानो संस्थापनले विगतमा गरेका गल्ती र निर्वाचनमा देखाएको मौनताका कारण अहिलेको परिणाम आएकाले सभापति थापा मात्रै जिममेवार नहुने भन्दै थापा पक्ष बचाउमा उत्रिएको छ । राजीनामाको यो बहसले विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र पुरानो संस्थापन पक्षबीचको संघर्षलाई पुनः सतहमा ल्याएको छ ।
संस्थापन पक्षका कतिपय नेताहरूले ‘अनुभवहीन नेतृत्व’ का कारण यो हविगत भएको भन्दै अप्रत्यक्ष रूपमा थापाको राजीनामा मागिरहँदा थापा पक्ष भने विशेष महाधिवेशन नभएको भए अवस्था अहिलेको भन्दा खराब हुने दाबी गरिरहेको छ ।
‘पार्टीले ल्याएको परिणाममा एउटा व्यक्ति जिम्मेवार हुँदैन । पार्टीको समग्र परिस्थिति, विगतका पृष्ठभूमि र कारण पनि जिम्मेदार हुन्छन् । आत्मसमीक्षा नगरी राजीनामाको विषयमा प्रवेश गर्न उचित हुँदैन,’ प्रवक्ता देवराज चालिसेको मत छ ।
मत–मतान्तरमा दुई धार
चुनावमा बेहोरेको पराजयको नैतिक जिम्मा लिँदै सभापति थापाले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने विवादमा कांग्रेस कार्यकर्ता एकआपसमा सार्वजनिक विवादमा उत्रिएका छन् । सभापति थापा स्वयंले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा राजीनामा दिने मनस्थितिमा पुगेको बताएका थिए । ‘पार्टीको यो ऐतिहासिक पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु नै उचित हुन्छ । म राजीनामा दिन्छु,’ भेटमा थापाको भनाइ रहेको उपसभापति शर्मा निकट स्रोतले बतायो ।
तर उपसभापति शर्माले भने सभापति थापालाई राजीनामा नगर्न सुझाव दिएका थिए । ‘रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो । तर यसको दोषी न केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो,’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ । सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारोमा अवस्थामा पुग्न दिनुहुन्न ।’
तर, पुरानो संस्थापन भने निर्वाचन परिणामले विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गर्छ । राष्ट्रियसभा सदस्यसमेत रहेका पूर्वसंस्थापन समूहका नेता जितजंग बस्नेत विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गर्दै भन्छन्, ‘विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, तर यसले एउटा कुरा छर्लङ्ग देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ ।’ बस्नेतको यो टिप्पणीलाई पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र हालैको निर्वाचन परिणामसँग जोडेर हेरिएको छ ।
बस्नेतमात्रै होइन निर्वाचनका क्रममा मौन रहेका पुरानो संस्थापन नेताहरु अहिले बोल्न थालेका छन् । पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनको परिणामले विशेषगरी सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा क्रियाशील कांग्रेसीहरुलाई गम्भीर सन्देश प्राप्त भएको बताए । ‘अब आबेग,उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म–म भन्दै बिगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महŒवाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नुपर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ,’ उनले भनेका छन् । उनले अहिले देखिएको चुनौती सामना गर्न यही नै उपयुक्त बाटो भएको बताएका छन् ।
इतरपक्षले जसले नेतृत्व लियो, उसले नतिजाको पनि जिम्मेवारी लिनुपर्छ भनिरहँदा सभापति थापा निकट भने निर्वाचन परिणामलाई लिएर राजीनामा दिन नहुने पक्षमा देखिन्छन् । थापा निकट कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले सभापतिले राजीनामा गर्नु गम्भीर राजनीतिक भूल हुने बताएका छन् । ‘दोस्रो विश्वयुद्ध जिताएर पनि बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल सन् १९४५ मा हारेका थिए । खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस १९९२ मा पराजित भए । भारतमा इन्दिरा गान्धी जस्तो शक्तिशाली प्रधानमन्त्रीले पनि १९७७ मा हार बेहोर्नुपरेको थियो,’ सभापतिको राजीनामाको चर्चाका बीच उनले भनेका छन्, ‘लोकप्रिय र शक्तिशाली नेता हार्नु अस्वाभाविक होइन, तर हारेकै आधारमा मैदान छोड्नु कायरता हो ।’
सोमबार सभापति थापा राजीनामाको मुडमा पुगेको भए पनि मंगलबारसम्म उनले निर्णय लिएका छैनन् । पार्टी महामन्त्री गुरुराज घिमिरेले यो विषयमा केन्द्रीय समितिको बैठकले नै अन्तिम निर्णय गर्ने बताए । ‘राजीनामाबारे सभापतिज्यूको भनाइका बारेमा हामी छलफल गछौं । त्यसबारे केन्द्रीय समितिको बैठकले के भन्छ, बैठक भएपछि मात्र टुंगो लाग्छ । केन्द्रीय समितिको बैठकले नै निर्णय गर्ने हो,’ उनले भने ।
केन्द्रीय समितिले सभापति थापाको राजीनामा स्वीकृत गर्छ वा उनलाई तत्काल पदमा रहेर स्थिति सम्हाल्न र १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन दबाब दिन्छ, त्यो हेर्न बाँकी छ । तर, पराजय र राजीनामाको बहसले ‘बदलियो कांग्रेस,बदल्छौं देश’ भन्ने नारासहित थापाको नेतृत्वमा अघि बढेकोे कांग्रेसका लागि आन्तरिक विवाद नै पहिलो चुनौती बन्ने देखिएको छ ।