नेभिगेशन
प्रदेश

त्रिशूलीका छालमा -याफ्टिङ उत्सव

काठमाडौँ । त्रिशूली नदीको छालमाथि मंगलबार साहस, कौशल र सहकार्यका रमाइला दृश्य देखिए । नेपालका नदीहरूमा आधारित साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले त्रिशूलीमा २४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय हिमालयन ¥याफ्टिङ तथा कायाकिङ महोत्सव सुरु भएको हो ।
नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिजको संयुक्त आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका ¥याफ्टिङ तथा कायक खेलाडीहरू सहभागी छन् । पहिलो दिन कायाक स्प्रिन्ट (३०० मिटर) र राफ्ट स्प्रिन्ट (३०० मिटर)  आयोजना गरिएको छ । कायाक स्प्रिन्ट प्रतिस्पर्धामा ५१ जनाले  प्रतिस्पर्धामा भाग लिएका छन् ।
आयोजकका अनुसार बुधबार कायक क्रस (३०० मिटर), राफ्ट म्यानडेटरी प्रतिस्पर्धा हुनेछ, जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना खेलाडी सहभागी हुने महोत्सवका संयोजक तथा नाराका उपाध्यक्ष शुक्र लामाले जानकारी दिएका छन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको राफ्ट रेस हुनेछ, जसमा ८१३ टोली प्रतिस्पर्धामा उत्रनेछन् । प्रत्येक टोलीमा चार–चार जना खेलाडी रहनेछन् । 
भारतका दुई टोली र इजरायलका दुई टोलीसहित विदेशी खेलाडीहरूले त्रिशूलीको छालमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितालाई अझ स्वस्थ र पारदर्शी बनाउन खेलाडीहरूको समय मापनका लागि टाइम–चिप प्रणाली प्रयोग गरिएको छ ।
नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिजका अध्यक्ष कमलबहादुर ठकुरीले यो वर्षको महोत्सवलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिएको बताए । यो वर्षको महोत्सव ‘सिल्भर जुबली’का रूपमा मनाइँदैछ । उनले भने, ‘यो केवल खेलकुद प्रतियोगिता मात्र होइन, नेपालको नदी पर्यटन, साहसिक संस्कृति र सहभागीहरूको पहिचानसँग जोडिएको गौरवको उत्सव हो । यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुतरूपमा स्थापित गर्न सहयोग पु¥याउनेछ ।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले नदी, साहस र पर्यटनको संगम बनेको यो महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा थप उजागर गर्ने विश्वास बताएका छन् । उनले थपे, ‘नेपालमा नदी–आधारित साहसिक पर्यटनले पछिल्ला दशकहरूमा तीव्र गति लिएको छ । विशेषगरी त्रिशूली, भोटेकोशी, कर्णाली र सेती नदीहरू ¥याफ्टिङ तथा कायाकिङका लागि विश्वभरका साहसिक पर्यटकहरूको आकर्षण बनेका छन् । यसलाई थप प्रवर्धन गर्न यो महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु ।’ 
आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधामा १५ हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
तीन दिने महोत्सव समापनमा विजेता खेलाडीलाई पुरस्कार वितरण तथा नेपालमा ¥याफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गर्ने कार्यक्रम छ ।
०००
तस्बिर ः प्रकाश चन्द्र तिमिल्सेना÷ नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्