नेभिगेशन
प्रदेश

वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, चार जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो । उनको हत्या आरोपमा पक्राउ परेका चारै जना वीरेन्द्रनगरकै रहेको र उनीहरु १८ वर्षमुनिका नाबालक भएको प्रहरीले जनाएको छ ।

२३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी इनिसालाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

कक्षा ११ मा अध्ययनरत उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् ।

प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धान पछि २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बिहान ६ बजे ट्युसन पढ्न गएर ८ बजेभित्र घर फर्किने उनी ९ बजेसम्म नआएपछि आमाले फोन गर्दा फोन स्वीच अफ थियो । त्यसको केही समय पछि शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा रहेको जानकारी आमाले पाएकी थिइन् । छोरीको रक्ताम्मे अवस्था देखेर आमा बेहोस भएकी थिइन् ।

घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कार पछि हत्या नै गरेको परिवारको दाबी छ । शरीरभरि निलडामा रहेको कपाल लुछेको, चुरा फुटेको अवस्थामा भेटिएको र दुई तीन मिटर माथिबाट तल घिसारेको जस्तो देखिएकाले तड्पाई तड्पाई मारेको हुन सक्ने भन्दै उनकी आमाले दोषीमाथि कडा कारबाही हुनु पर्ने बताएकी छिन् ।

घटनाको गम्भिरताका साथ अनुसन्धान अगाडि बढाएको र पोस्टमार्टम रिपोर्ट आएपछि निष्कर्षमा पुग्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्