नेभिगेशन
उपत्यका

निर्वाचित आए, संसद् भवन अपूरै

सभाहलमा शपथग्रहण गराउन सचिवालयको हतारको तयारी, सहरी मन्त्रालय भन्छ – सबै काम सकिन अझै डेढ वर्ष लाग्छ

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर देशभरबाट प्रतिनिधि टुंगो भइसकेको छ । प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम मात्रै आएको नभई समानुपातिकको मतगणना पनि सकिएको छ । शपथ लिने र बैठक बस्ने संसद् भवन भने अझैसम्म तयार छैन । नयाँ बानेश्वरस्थित पूरानो भवन जेनजी आन्दोलनका क्रममा भदौ २४ को आगजनी र तोडफोडले प्रयोग गर्नै नमिल्नेगरी क्षतिग्रस्त छ । सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ भवन तयार हुनै बाँकी छ ।
कता शपथग्रहण गराउने र कता सदनको बैठक सञ्चालन थाल्ने भन्नेमा यतिबेला संसद् सचिवालयका कर्मचारी तनावमा छन् । एकातिर छिटो गर्नुपर्ने दबाब छ, अर्कातिर विकल्प झट्ट पाउन गाह्रो परेको छ ।  
शहरी विकास मन्त्रालयले गत पुसभित्र नयाँ संसद् भवन सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ठाडो निर्देशन दिँदासमेत अहिलेसम्म काम पूरा हुन सकेको छैन । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार निर्माणधीन नयाँ भवनको काम ९५ प्रतिशत काम सकिएको छ । तत्काल प्रयोगका लागि तयार भइसकेको छैन । 
संसद् सचिवालयले शपथग्रहण गराउने एवम् तथा बैठक बसाल्ने भवन तयार नभएकाले तत्कालका लागि नयाँ भवनकै सभाकक्ष मल्टीपर्पस हललाई अस्थायीरूपमा प्रयोग गर्ने तयारी गरेको छ । यो हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आवश्यक पूर्वाधार व्यवस्थापनको काम भइरहेको छ । त्यसैले यहाँ शपथग्रहण समारोह गर्ने तयारी भइरहेको संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए । ‘त्यो हल लगभग तयार छ । त्यसैमा शपथग्रहण गराउने तयारीमा छौं,’ उनले भने । 
उनले उक्त हल मूलतः अन्य प्रयोजनका लागि तयार गरिएको भए पनि  आवश्यक व्यवस्थापन गरेर हाललाई त्यहीँ बैठक सञ्चालन गर्ने तयारी हुँदैछ । ‘आवश्यक व्यवस्थापनको काम भइरहेको छ । सभाकक्ष तयार हुन अब एक साताको समय लाग्छ,’ उनले भने ।  
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिबाट एक महिनाभित्र प्रतिनिधिसभाको बैठक बस्नुपर्ने प्रावधान छ । उक्त प्रावधानअनुसार सभाहलको कक्ष तयार भएपछि सांसदहरूलाई शपथग्रहण गराएर चैत तेस्रो वा चौथो सातादेखि भने नियमित बैठक गर्न सकिने सम्भावना रहेको गिरीले बताए । ‘हामी छिटो काम गराइरहेका छौं,’ उनले भने । 
मन्त्रालयले भने भित्र इन्टेरियरको काम बाँकी रहेकाले संसद्को नयाँ भवन प्रयोग तत्कालै गर्न मिल्ने अवस्था नभएको जनाएको छ । मन्त्रालयका अनुसार मुख्य हलको काम नसकिन्जेलसम्मका लागि विकल्पमा अस्थायी हल तयार पर्ने काम भइरहेको छ । 
संसद् भवनभित्र कार्पेट बिछ्याउने, माइक जडान गर्ने, कन्फ्रेसिङ सिस्टमका काम गर्ने तथा लाइट जडान गर्नेलगायत काम बाँकी छ । मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार संसद् भवनको काम पूर्णरूपमा सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको छ । अहिले टेबल कुर्सी जडान गर्ने र फल्स सिलिङ हाल्ने, ढलान गर्ने, पानी ट्यांकी बनाउने, बत्ती जडान गर्नेलगायत काम भइरहेको छ । 
शहरी विकास मन्त्री कुमार इङ्नाम र शहरी विकास सचिव गोपालप्रसाद सिग्देलले निर्माणाधीन भवन पुगेर छिटो काम गर्न निर्देशन दिएका छन् । 
६ वर्षदेखि निर्माणाधीन 
सिंहदरबार परिसरको संसद् भवन निर्माण गर्न ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतामा भएको तालिकाअनुसार उक्त जेभीले २०७९ असोजमा  सम्पन्न गर्नुपर्ने थियो । सम्झौताको समयावधिमा निर्माण कार्य नसकिएपछि २०७९ चैत ३० सम्मका लागि पहिलो पटक म्याद थप गरिएको थियो ।  उक्त समयावधिमा पनि पूरा भएन । दोस्रो पटक २०८० असोज १९ गतेसम्म म्याद थपियो । तेस्रो पटक २०८० चैत १९ सम्म, चौथो पटक २०८१ चैत १८ सम्म र पाँचौं पटक २०८२ पुस १६ सम्म म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेन । 
फेरि छैटौं पटक म्याद थप गर्ने तयारी भइरहेको छ । निर्धारित तालिकाभित्र काम पूरा गर्न दैनिक ९०० कामदार खटाउनुपर्ने भए पनि निर्माण कम्पनीले ४०० भन्दा बढी कामदार नराख्दा अवधि लम्बिँदै गएको हो । मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले संसद् भवनको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको भए पनि अन्तिम चरणका कामहरू बाँकी नै रहेकाले निर्माण अवधि अझै लम्बिने देखिएको हो । 
अहिले २३९ जनाले मात्रै दैनिक काम गरिरहेका छन् । इन्टेरियरको काममा मात्रै डेढ सय जनाभन्दा बढी कामदार संलग्न छन् । राष्ट्रिय सभाको हलको कामलाई भने अहिले प्राथमिकतामा राखिएको छैन । राष्ट्रियसभाका लागि अस्थायी हल तयार रहेकाले अहिलेलाई प्राथमिकतामा नराखिएको हो । सिंहदरबार परिसरमा १५१ रोपनी क्षेत्रफलमा ८ वटा भवन बनाइएको छ । 
इन्टेरियर तथा सुरक्षा प्रणालीको काम गर्न केसी–श्यामसुन्दर जेभीसँग २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यो कम्पनीले  अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपर्पाेज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा सञ्चालन लगायतका काम गरिरहेको छ । 
सिंहदरबार परिसरभित्र छुट्टाछुट्टै बैठक कक्ष, संसदीय दलका कार्यालय, सभामुख तथा अन्य उच्च पदाधिकारीको कार्यकक्ष, संसद सचिवालयका कार्यालय तथा आगन्तुक र सांसदका लागि छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था हुने गरी नयाँ संसद् भवन निर्माण भइरहेको छ । भवनमा मल्लकालीन वास्तुकला र आधुनिक आर्किटेक्चरको संयोजन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्