नेभिगेशन
राजनीति
टेलिभिजनको पर्दादेखि रोस्ट्रमसम्म

सुशासनका लागि सञ्चारकर्मीको संसदीय यात्रा

काठमाडौं । हिजोसम्म टेलिभिजनका पर्दा र सञ्चारका विभिन्न माध्यमबाट भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आवाज उठाउने सञ्चारकर्मीहरू यसपटक मुलुकको नीति निर्माण गर्ने सर्वोच्च थलो संसदमा पुगेका छन् । सडक र स्टुडियोबाट राज्यलाई प्रश्न सोध्ने भूमिकामा रहेका स्थापित सञ्चारकर्मीहरू अहिले आफैं उत्तर खोज्ने र समाधान दिने ठाउँमा पुगेका हुन् । 
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकैपटक धेरै सञ्चारकर्मी निर्वाचित भएका छन् । केही सञ्चारकर्मी प्रत्यक्ष निर्वाचन प्रणालीबाट संसद पस्दै गर्दा केही भने समानुपातिक प्रणालीबाट संसद भित्रँदैछन् । विशेष गरी पूर्वपत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट यसपटक उल्लेख्य संख्यामा सञ्चारकर्मीहरू प्रतिनिधिसभामा निर्वाचित भएका छन् । 
विगतमा न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चा बटुलेका रवि लामिछानेले ०७९ को चुनावअघि रास्वपा गठन गरेका थिए । उनको पार्टीमा त्यतिबेलै धेरै सञ्चारकर्मी जोडिएका थिए । मूलतः लामिछानेले नेपालको पत्रकारितामा भुइँमान्छेलाई केन्द्रमा राखेर उक्त कार्यक्रम सञ्चालन गर्थे । आवाजविहिनहरुको आवाज सरोकारवालासम्म पु¥याउने, नागरिकका सवाललाई नीति निर्मातासम्म पु¥याउने र सत्तासञ्चालकलाई जवाफदेही बनाउने उनको शैलीले लामिछानेको अलग्गै पहिचान बनेको थियो । एकप्रकारले लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘जनताको अदालत’ जस्तै बनेको थियो । पीडितहरु न्याय खोज्दै न्यूज २४ आउनेहरुको लर्को नै लाग्थ्यो । न्यूज २४ ले शुरु गरेको उक्त कार्यक्रम अहिले वीरेन्द्र जैरुले सञ्चालन गरिररहेका छन् । अहिले पनि नागरिकहरुले उही रुपमा उक्त कार्यक्रमलाई लिने गरेको देखिन्छ । 
प्रतिनिधिसभा निर्वाचनमा लामिछाने चितवन–२ बाट यसपटक निर्वाचित भएर जितमा ह्याट्रिक गरेका छन् । उनी ०७९ र पछि उपनिर्वाचनममा निर्वाचित भएका थिए । उनी उपप्रधानसहित गृहमन्त्री पनि बनेका थिए । लामिछाने संसद्को पहिलो दलको सभापति बनेका छन् । 
न्यूज २४ टेलिभिजनमै अर्को चर्चित कार्यक्रम बन्यो, ‘टू दी पोइन्ट’ जसको सञ्चालक थिए राजीव खत्री । उनले कार्यक्रममार्फत जनताको आवाज बोले । शासकहरुलाई तिखो शैलीमा प्रश्न उठाए । विकृति विसंगतिमाथि निर्मम प्रहार । उनै खत्री भक्तपुर–२ बाट भारी मतले निर्वाचित भएका छन् । ‘हिजो सञ्चारकर्ममार्फत जनताको पक्षमा आवाज उठाए । अब सांसदका रुपमा जनहितमा काम गर्नेछु,’ उनी भन्छन् । 
इमेज टेलिभिजनमा धेरैले रुचाएको कार्यक्रम थियो, ‘हट सिट’ । जसको प्रस्तोता थिए, जगदिश खरेल । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारमा सञ्चारमन्त्री बनेका खरेल पूर्णकालीन राजनीतितर्फ अघि बढेका छन् । उनी यसपटकको चुनावममा रास्वपाबाट ललितपुर–२ मा उम्मेदवार मात्रै बनेनन्, भारी मतले निर्वाचित भए । 
करिब दुई दशक लामो पत्रकारिता गरेका दीपक बोहरा पनि यसपटक संसद्मा देखिनेछन् । विभिन्न सञ्चारमाध्यममा काम गरेका उनले न्यूज २४ टेलिभिजनमा लामो समय काम गरे । उनी सिधा कुरा जनतासँग कार्यक्रममा लामिछानेसँगै रहे । रास्वपा निर्माणदेखि लामिछाने समस्यामा पर्दासम्म उनी  असल सारथिका रुपमा देखिए । उनै बोहरा यसपटक कञ्चनपुर–२ बाट निर्वाचित भएका छन् ।
कञ्चनपुर– ३ बाट रास्वपाका उम्मेदवार ज्ञानेन्द्रसिंह महता तेब्बर बढी मतले निर्वाचित भएका छन् । उनी पनि पत्रकार हुन् । १६ उम्मेदवारलाई उछिन्दै प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका उनी स्थानीय रेडियोदेखि टेलिभिजनमा बोल्दै आएका थिए ।   
लामिछाने, खरेल, खत्री, बोहरा प्रत्यक्षबाट निर्वाचित हुँदा कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पत्रकार प्रकाशचन्द्र परियार, न्यूज २४ टेलिभिजन, एभिन्यूज, ग्यालेक्सीलगायत टेलिभिजनमा काम गरेका पत्रकार प्रमोद न्यौपाने लगायतका पूर्वपत्रकार भने समानुपातिकतर्फबाट सांसद बन्दैछन् । उनीहरुले पनि पत्रकारितामा रहँदा विगतमा भ्रष्टाचार र बेथितिविरुद्ध खरो रुपमा प्रश्न उठाएका थिए । 
सञ्चारकर्मीका रूपमा समाजका सूक्ष्म समस्याहरूलाई नजिकबाट नियालेका हुनाले उनीहरूले बनाउने नीतिहरू बढी व्यावहारिक र जनमुखी हुने सर्वसाधारणको अपेक्षा छ । हिजो जनताको आवाजलाई राज्यसम्म पु¥याउने पुल बनेका पात्रहरु अहिले आफैं आवाज सुन्ने र त्यसलाई सम्बोधन गर्ने ओहोदामा पुगेका छन् ।
सञ्चारको लोकप्रियतालाई राजनीतिक कुशलतामा बदल्नु उनीहरूका लागि मुख्य चुनौती देखिन्छ । स्टुडियोको सीमित घेरा र क्यामेराको अगाडि बोलिने शब्दहरूलाई अब संसदमा उठाउँदै कानुनी स्वरूप दिनुपर्नेछ । पुराना राजनीतिक दलहरूप्रति जनताको बढ्दो वितृष्णा र नयाँ अनुहारप्रतिको उच्च आशाका बीच उनीहरूले आफ्नो कार्यक्षमता प्रमाणित गर्नुपर्ने छ । विगतमा राजनीतिमा पूर्णकालीन रुपमा लागेकाहरुले पत्रकारले कहाँ पार्टी चलाउन सक्छ भन्दे लामिछानेमाथि प्रश्न नगरेका होइनन् । तर, लामिछानेले ३ वर्षमा पार्टी चलाउने मात्रै होइन स्थापित दलहरुलाई अस्तित्व संकटमा पु¥याउँदै पार्टीलाई शानदार जित दिलाएर त्यसको जवाफ दिइसकेका छन् । 
हिजो सडक र सदनबाहिर बसेर सरकारलाई झक्झक्याउने यी सञ्चारकर्मीहरूका लागि यो कार्यकाल एक प्रकारको ‘अग्निपरीक्षा’ जस्तै बनेको छ । उनीहरूले संसद्मा गर्ने बहस र उठाउने मुद्दाहरूले नै आगामी दिनमा सञ्चारकर्मीहरूको राजनीतिक भविष्य र गरिमा तय गर्ने छ । 
सञ्चारकर्मीले कसकसले जिते ? 
यसपटक निर्वाचित हुने सञ्चारकर्मीको सूची लामै छ । रवि लामिछाने  चितवन–२, जगदिश खरेल ललितपुर–२, राजीव खत्री भक्तपुर–२ , मनिष झा    धनुषा–३, उत्तम पौडेल    कास्की–२    , खगेन्द्र सुनार बाँके–३ बाट निर्वाचित भएका छन् । संयोग नै मान्नुपर्छ निर्वाचित हुने सञ्चारकर्मी सबै रास्वपाका हुन् । पौडेलले पोखरामा रहेर विभिन्न सञ्चारमाध्यममा काम गर्दै आएका हुन् भने झाले पनि केही समय एभिन्यूज टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेका थिए । सुनारले  केही समय हेडलाइन्स एण्ड म्युजिक एफएमसहितका विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । यसपटक चुनावी मैदानमा होमिएका पत्रकार ऋषि धमला भने पराजित भए । उनी रौतहट–४ मा आम जनता पार्टीबाट उम्मेदवार थिए । त्यस्तै, पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्र काठमाडौं–१ बाट पराजित भए ।
विगतमा पनि सञ्चारकर्मबाट राजनीतिमा नआएका भने होइनन् । पत्रकार महासंघका संस्थापक सभापतिसमेत रहेका कृष्णप्रसाद भट्टराई कांग्रेस सभापति, सभामुख र प्रधानमन्त्रीसम्म बने । पत्रकारिताबाटै आएका एमालेका नेताहरु रघुजी पन्त, गोकुल बाँस्कोटा सांसद हुँदै मन्त्री बने भने सूर्य थापा पनि सांसद भएका थिए । पत्रकारिताबाटै आएका गगन थापा सांसद हुँदै मन्त्री बने । यसपटक सर्लाही–४ मा पराजित भए । पत्रकारिताबाटै आएका कांग्रेस नेता विश्वप्रकाश शर्मा यसअघि सांसद भए भने बद्री पाण्डे पर्यटनमन्त्री नै बने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्