काठमाडौं, १२ भदौ - चीनको सिचुवान एयरलाइन्सले छिट्टै छेन्दु–पोखरा–अष्ट्रेलिया उडान सुरु गर्ने भएको छ । यसअघि चार्टर उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा केही परीक्षण उडान गरिसकेको कम्पनीले अब अष्ट्रेलियासम्मको नियमित उडान गर्ने योजना अघि सारेको हो ।
कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पोखराबाट अष्ट्रेलियाको उडानका लागि अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अनौपचारिक छलफल भइसकेको छ । आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी छ ।
सिचुवान एयरले आगामी सेप्टेम्बर महिनादेखि नै उडान सुरु गर्ने योजना बनाएको छ । प्रस्तावित उडान सञ्चालन भएमा पोखराबाट अष्ट्रेलिया आउजाउ गर्ने नेपालीले अब काठमाडौं आइरहनु नपर्ने प्राधिकरणको भनाइ छ । ‘सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । द्विपक्षीय छलफल भइरहेको छ, छिट्टै उडान तालिका सम्बन्धित वायुसेवाबाट सार्वजनिक हुनेछ,’ सूचना अधिकारी भूलले भने ।
यसअघि सिचुवान एयरले पोखरा विमानस्थलमा २०८० असारमा पहिलोपटक आफ्नो एयरबस ए–३१९ ल्याएर चार्टर उडान गरेको थियो । त्यो बेला अवसरमा फेवातालमा भएको नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी र पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनमा विमान प्रयोग गरिएको थियो । अब भने कम्पनीले पोखराबाट अष्ट्रेलियासम्मको नियमित व्यावसायिक उडान थाल्न तयारी गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार हाल विमानस्थलमा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । ‘हिमालय एयरलाइन्सले हाल हप्तामा एक दिन पोखराबाट काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं मार्गमा उडान गर्दैछ,’ उनले भने । हिमालय एयरले विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि पहिलो व्यावसायिक उडान सुरु गरेको थियो ।
सिचुवान एयरसँगै भुटान एयरलाइन्सले पनि पोखरा विमानस्थलमा चार्टर उडान गर्ने तयारी गरेको छ । कम्पनीले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टसम्म दुई–तीनवटा चार्टर उडानको अनुमति मागेको छ । आगामी सेप्टेम्बर २८ र अक्टोबर महिनामा चार दिनका लागि चार्टर उडानको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।
भूलका अनुसार सुरुमा भुटान एयरलाइन्सले काठमाडौं–पारो–काठमाडौं नियमित उडान थाल्नेछ । उक्त उडान सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो मार्गमा समेत विस्तार गर्ने योजना छ । नेपालले यसअघि नै ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने निर्णय गरेको हुँदा भविष्यमा भुटान एयरलाई पोखरा वा भैरहवाबाट अर्को देशसम्म उडान अनुमति दिन सकिनेछ ।
प्राधिकरणले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि आकर्षण बढाउने उद्देश्यले वायुसेवा कम्पनीलाई सहुलियत दिने व्यवस्था गरेको छ ।
हाल यी विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिइएको छ भने नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट दिइएको छ । यात्रु सेवा शुल्कमा समेत प्रतियात्रु तीन हजार रुपैयाँ छुट दिइएको छ ।
यता, भैरहवा विमानस्थलमा पनि विदेशी वायुसेवा कम्पनीहरू फर्कन थालेका छन् । जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सुरु गर्ने तयारी गरेका हुन् । थाई एयर एसियाले अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेड्युल’अन्तर्गत हप्तामा दुई उडान गर्नेछ । जजिरा एयरवेजले पनि सोही समयमा उडान सञ्चालन गर्ने योजना बनाएको छ ।
जजिरा एयरले यसअघि दुई पटक भैरहवाबाट उडान सञ्चालन गरिसकेको छ । २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरे पनि केही महिनामै प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो । हाल कम्पनीले पुनः नियमित उडान सुरु गर्ने तयारी गरेको हो ।
यसैबीच, पोखरा र भैरहवामा विदेशी वायुसेवा थपिदै गएसँगै विमानस्थल सक्रिय हुने अपेक्षा गरिएको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हाल ३० वटा विदेशी वायुसेवाले नेपालमा उडान गरिरहेका छन् । नेपालले हालसम्म ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ र आगामी सम्झौता पुनरावलोकनमा पोखरा तथा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थपिने योजना छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ बाट सञ्चालनमा आएको हो । ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल झन्डै २२ अर्ब रुपैयाँ लागतमा बनेको हो । यसमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ, जसले वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ ।