नेभिगेशन
खेलकुद

अष्ट्रेलिया पुगेका छ इरानी महिला फुटबलरलाई शरण

अष्ट्रेलियामा शरण लिएका इरानी महिला फुटबल टोलीका सदस्यबीच मतभेद, सुरक्षाका कारण स्थान परिवर्तन

ब्रिस्बेन । एएफसी महिला एसियन कप खेल्न अष्ट्रेलिया पुगेको इरानी महिला फुटबल टोलीका सात सदस्यले अष्ट्रेलियामा शरण स्वीकार गरेपछि घटनाक्रमले नाटकीय मोड लिएको छ । सात जनामध्ये एक खेलाडीले आफ्नो निर्णय परिवर्तन गर्दै इरानी दूतावासलाई टोलीको गोप्य बसोबास स्थान जानकारी गराएपछि अष्ट्रेलियाली अधिकारीहरूले अन्य छ महिलालाई तुरुन्तै अर्को सुरक्षित स्थानमा सार्नुपरेको हो ।
अष्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बुधबार संसदमा जानकारी दिँदै मंगलबार राति स्थायी बसोबासको प्रस्ताव स्वीकार गरेकी ती महिलाले पछि आफ्नो निर्णय बदल्दै देश छोडेका टोली सदस्यहरूसँगै जान चाहेको बताएका छन् । उनका अनुसार ती महिलाले टोलीका प्रशिक्षक र साथीहरूको सल्लाहमा इरानी दूतावाससँग सम्पर्क गरेकी थिइन् । त्यसपछि सुरक्षाको जोखिम बढेपछि सरकारले तत्काल अन्य महिलालाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको बर्कले बताए ।
यसअघि शरण स्वीकार गरेका सातै जना महिलालाई ब्रिस्बेनस्थित गोप्य स्थानमा अष्ट्रेलियन फेडरल पुलिसको कडा सुरक्षामा राखिएको थियो । उनीहरूलाई इरान फर्काउन दबाब वा बल प्रयोग हुन सक्ने आशंकाका कारण यस्तो सुरक्षा व्यवस्था गरिएको थियो ।
गत साता एएफसी महिला एसियन कपको उद्घाटन खेलअघि फिलिपिन्सविरुद्धको खेलमा राष्ट्रिय गान नगाएको भन्दै इरानी सरकारी सञ्चार माध्यमहरूले टोलीका खेलाडीहरूलाई ‘देशद्रोही’को ठप्पा लगाउँदै आलोचना गरिएको थियो । त्यसपछि उनीहरूको सुरक्षाबारे चिन्ता बढेको थियो । टोलीसँग नजिक रहेका स्रोतहरूका अनुसार पहिलो खेलपछि खेलाडीहरूलाई परिवारमाथि दबाब दिने धम्की दिइएपछि अर्को खेलअघि राष्ट्रिय गान गाउन बाध्य पारिएको थियो ।
इरानमा सरकारविरुद्ध गरिने जस्तासुकै असहमति कडा रूपमा दण्डनीय हुने गर्छ । त्यसैले पनि राष्ट्रगान नगाउने खेलाडीहरूको भविष्यबारे चिन्ता बढेको थियो । यसै कारण अष्ट्रेलियाले प्रतियोगिता सुरु हुनुअघि नै सम्भावित शरण मागबारे सुरक्षा जाँच र तयारी गरेको थियो ।
मन्त्री बर्कका अनुसार इरानी प्रतिनिधिमण्डलका अधिकांश सदस्यलाई सरकारी अधिकारीसँग निजी भेटघाटको अवसर दिइएको थियो । कडा प्रहरी सुरक्षाबीच उनीहरूलाई इरानी निगरानीकर्ताबाट अलग राखेर अनुवादकसहित अन्तर्वार्ता लिइएको थियो र आफ्नो निर्णय स्वतन्त्ररूपमा गर्न दिइएको थियो ।
यसबीच टोलीका बाँकी सदस्यहरू मंगलबार सिड्नीबाट मलेसिया प्रस्थान गरेका छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा अष्ट्रेलियामा रहेका इरानी समुदायका केही सदस्यहरूले उनीहरूलाई इरान नफर्किन आग्रह गरेको देखिन्छ ।
तर इरानी फुटबल महासंघका प्रमुख मेहदी ताजले भने खेलाडीहरूलाई ‘बन्धक’ बनाइएको आरोप लगाएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अष्ट्रेलियालाई खेलाडीहरूलाई शरण दिन आग्रह गरेको र त्यसले विवाद झनै बढाएको बताएका छन् ।
प्रतियोगितामा भने इरानी महिला टोलीले कमजोर प्रदर्शन गरेको थियो । इरानको समूह चरणका तीन वटै खेल निकै कमजोर भएकाले प्रतियोगिताबाट बाहिरिएको थियो । गोल्ड कोस्टस्थित टोलीको होटलबाहिर आइतबार केही व्यक्तिले उनीहरूलाई इरान फर्कन नदिन र फुल्याउन निकै प्रयास गरेको देखिन्थ्यो । उनीहरुले खेलाडी बढेको बसमा वरपर उनीहरुलाई रोक्ने प्रयास गरेको देखिएको थियो । इरान फर्कन बस चढ्दा एक खेलाडी रोइरहेको र अर्कीलाई साथीले हात समाएर बससम्म लैजाँदै गरेको दृश्य पनि देखिएको थियो ।
अष्ट्रेलियामा शरण स्वीकार गरेका बाँकी छ महिलालाई अब स्थायी बसोबास भिसा दिने प्रक्रिया सुरु गरिने मन्त्री बर्कले बताएका छन् । उनका अनुसार उनीहरूले भोगेका कठिन परिस्थितिलाई ध्यानमा राख्दै उनीहरूलाई अदालतको लामो प्रक्रिया झेल्न नपर्ने गरी स्थायी बसोबासको व्यवस्था गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्