नेभिगेशन
खेलकुद

विश्वकप खेल्न इरानलाई देशभित्रैको बाधा

काठमाडौँ ।मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्प प्रशासन इरानी फुटबल खेलाडीप्रति सकारात्मक रहेको जानकारी दिएका हुन् ।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष फुटबल विश्वकपमा इरानको सहभागिता अनिश्चित हुने चर्चा चलिरहेको थियो तर प्रतियोगिताको तयारीबारे भएको बैठकमा इरानको अवस्थाबारे पनि छलफल भएको फिफा अध्यक्ष इन्फान्टिनोले बताए ।
इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बैठकका क्रममा ट्रम्पले इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वागत गरिएको कुरा दोहो¥याएको उल्लेख गरे ।
डिसेम्बरमा फिफाले स्थापना गरेको ‘फिफा शान्ति पुरस्कार’ ट्रम्पलाई प्रदान गरेका इन्फान्टिनोले यस टिप्पणीमार्फत पहिलो पटक मध्यपूर्वमा भइरहेको युद्धको सन्दर्भमा विश्वकपमा इरानको सहभागिताबारे सार्वजनिक रूपमा चर्चा गरेका हुन् ।
यद्यपि ट्रम्पको पछिल्लो टिप्पणी गत हप्ता पोलिटिकोसँग गरेको अभिव्यक्तिसँग भने फरक देखिएको छ । पोलिटिकोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरान विश्वकपमा खेल्छ कि खेल्दैन भन्ने विषय आफूलाई खासै महŒवपूर्ण नभएको बताएका थिए ।
ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि इन्फान्टिनो र उहाँबीचको सम्बन्ध अझ नजिक भएको बताइन्छ । इन्फान्टिनो ट्रम्पको उद्घाटन समारोहमा समेत सहभागी भएका थिए ।
यसैबीच इरानको फुटबल महासङ्घले भने आफ्नो राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे शंका व्यक्त गरेको छ । इरानका फुटबल महासंघका अध्यक्ष मेहदी ताजले मंगलबार राज्य टेलिभिजनसँग कुरा गर्दै वर्तमान परिस्थितिमा टोलीलाई प्रतियोगितामा पठाउने विषय कठिन हुन सक्ने संकेत दिएका थिए ।
‘यदि विश्वकपको अवस्था यस्तो नै रह्यो भने सही सोच भएको कसैले आफ्नो राष्ट्रिय टोलीलाई त्यहाँ कसरी पठाउन सक्छ ?’ उनको प्रश्न थियो ।
विश्वकप प्रतियोगिता तीन देशमा आयोजना हुने भए पनि इरानले समूह चरणका सबै तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्ने तालिका छ । तीमध्ये दुई खेल लस एन्जलसमा र एउटा सियाटलमा हुने तय गरिएको छ ।
इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएमा सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फाइनलबाट फ्रान्स र भारतले नाम फिर्ता लिएपछि यस्तो घटना पहिलो पटक हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्