नेभिगेशन
अर्थतन्त्र

अभाव चुलियो, अब ग्यास आधा सिलिन्डर

शुक्रबारदेखि लागू हुनेगरी प्रति सिलिण्डर ७.१ किलो ग्यास ९९५ रुपैयाँमा उपलब्ध हुन्छः आयल निगम

काठमाडौं । बजारमा ग्यासको अभाव चुलिएपछि खाना पकाउने एलपीजी ग्यास अब आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पूरा सिलिन्डर दिन नसकिने ठहर गर्दै  आधा मात्र बिक्री गर्ने निर्णय गरेको हो । 
भारतबाट आउने परिमाण घटेका कारण बाध्य भएर आधा सिलिन्डर भर्ने निर्णय भएको निगमले जनाएको छ । भारतमा पनि ग्यासको अभावले बजार प्रभावित भइरहेको छ । आफैंलाई पर्याप्त नभएपछि भारतले नेपाललाई पठाउने परिमाण घटाएपछि निगमले पनि बिक्री–वितरणमा परिमाण घटाएको हो । 
शुक्रबारदेखि लागू हुनेगरी प्रति सिलिण्डर ७.१ किलो ग्यास भरेर उपभोक्तालाई दिइने प्रवक्ता मनोज ठाकुरले बताए । उनका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य ९९५ रुपैयाँ तोकिएको छ । निगमले निगमले उपलब्ध गराएबमोजिम ग्यास खरिद गर्न पनि अनुरोध गरेको छ ।
नेपाललाई दैनिक १२० बुलेट ग्यास आवश्यक पर्नेमा भारतीय आयल कर्पोरेशनले अहिले ८० बुलेट मात्रै पठाइरहेकाले ग्यासको संकट बजारमा देखिएको हो । उपभोक्ताले सहजै ग्यास नपाउँदा सिलिन्डर बोकेर भौंतारिनु परिरहेको छ । पसलमा सहजै ग्यास नपाएपछि उपभोक्ताहरू सिलिन्डर बोकेर उद्योगमै पुग्न थालेका छन् । सहज ढंगले ग्यास नपाएपछि बिहीबार अपराह्न नेपाल ग्यासको बालाजु औद्योगिक क्षेत्रस्थित डिपोमा सिलिन्डर बोकेका उपभोक्ताको लामो लाइन लागेको थियो । 
निगमले मागअनुसार बजारमा ग्यास पठाइरहेको दाबी गरेपनि उपभोक्ताले पाउन सकिरहेका छैनन् । निगमले नियमितरूपमा मागअनुसार एलपी  ग्यास आयात तथा वितरण गर्दै आइरहँदासमेत उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गरेकाले अभावको अवस्था सिर्जना भएको प्रवक्ता मनोज ठाकुरले बताए । ‘मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापीरूपमा असर परिरहेको छ,’ ठाकुरले भने, ‘नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमा सर्वसाधारण उपभोक्ताले ग्यास नपाउने अवस्था आएकाले नेपालमा समेत उपभोक्तामा त्रास बढेर अनावश्यक भण्डार गरेर राख्ने प्रवृत्ति बढेको छ ।’ निगमले गत फागुन १६ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको र अब चैतमा मूल्य समायोजन हुँदा बढ्ने त्रासले पनि उपभोक्ताले माग भन्दा बढी ग्यास भण्डारण गरिरहेको ठाकुरले दाबी गरे । 
ग्यास उद्योगी एवम् नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे निकट भविश्यमा मध्यपूर्व युद्धको तनाब ग्यास आयातमा अझै पर्न सक्ने बताउँछन् । अहिले बजारमा नियमितरूपमा ग्यास पठाइरहेको भएपनि मनोवैज्ञानिक त्रासले नै अहिलेको अभाव देखिएको उनको दाबी छ । 
‘हामीले ग्यास बजारमा नियमित रूपमा पठाइरहेका छौं । बजारमा आपूर्तिमा कुनै कमी छैन । हामीसँग बजारमा ग्यास पठाएको सम्पूर्ण विवरणको रेकर्ड छ,’ उनले भने, ‘तर, युद्धका कारण भोलि अभाव हुने त्रासले उपभोक्ताले खाली सिलिन्डर भरेर राख्न थालेपछि अभाव देखिएको जस्तो लाग्छ ।’  
उनले उद्योगी व्यापारी माथि कृतिम अभाव सिर्जना गरेको आरोप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको बताए । ‘बजारमा ग्यास पठाएको विवरण ट्याक्स अफिस, भन्सार कार्यालयसम्ममा त्यसको अभिलेख हुन्छ र आन्तरिक राजस्व विभाग तथा आयल निगमसँग पनि कहाँ–कहाँ र कुन–कुन डिपोमा ग्यास पठाइयो भन्ने स्पष्ट जानकारी हुन्छ । डिपोहरूले पनि भ्याट बिलिङ गर्ने भएकाले सम्पूर्ण प्रक्रिया पारदर्शी छ,’ उनले भने । 
उनका अनुसार अहिलको अभाव मुख्यतः उपभोक्ताको व्यवहारका कारण देखिएको हो । घरमा एकभन्दा बढी सिलिन्डर भएका उपभोक्ताले खाली सिलिन्डर लिएर थप ग्यास ल्याई भण्डारण गरेकाले बजारमा अभावजस्तो देखिएको उनले बताए । ग्यास आउनमा कमी नभएको र सम्भवतः धेरै सिलिन्डर अझै प्रयोगमै नभएकाले यस्तो अवस्था देखिएको उनको अनुमान छ । बजारमा पठाइने वा आयात गरिने ग्यासको परिमाण घटेको नभई उपभोक्ताले बढी भण्डारण गरेकाले अभावको अवस्था देखिएको उनको दाबी छ ।
ग्यासको आपूर्ति बढाएरै आइरहेको भए पनि त्रासका कारण केहीले धेरै ग्यास लिएका छन् भने केहीले पाउन सकेका छैनन् । यही कारणले कृत्रिमरूपमा अभावजस्तो अवस्था देखिएको उनको भनाइ छ । 

खाडी द्वन्द्वको प्रभाव गहिरिँदै 
इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमण र इरानको जवाफी हमलाको प्रभाव विश्वव्यापी छ । खाडी क्षेत्रको राजनीतिक अस्थिरता र युद्धको प्रभाव विश्वको ऊर्जा बजारमा पनि देखिन थालेको छ । विश्व बजारमा तेल निर्यात गर्ने खाडी देशहरू नै इरान, अमेरिका र इजरायलबीचको युद्धको चपेटामा परेका कारण यसको प्रभाव विश्वभरको पेट्रोलियम ऊर्जा बजारमा देखिएको हो । तेल उत्पादन गर्ने साउदी अरब, इरान, इराक, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स लगायत देशहरूको तेल खानी तथा ढुवानी गर्ने उपकरणहरू नै आक्रमणको निसानामा परिरहेकाले तेल तथा ग्यासमा खाडी देशसँग निर्भर देशहरूमा संकट बढेको हो । बिहीबार प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य अझै बढेर प्रतिब्यारेल २०० अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनीहरू आइरहेका छन् । अहिले पनि युद्ध जारी रहेका कारण विश्व ऊर्जा बजार र ढुवानी प्रणाली अव्यवस्थित हुँदा तेल तथा ग्यासको मूल्य निरन्तर बढ्ने क्रममा छ । 
मध्यपूर्वका देशबाट तेल ढुवानी हुने मार्ग अवरुद्ध हुँदा तेल आयात गरेर उपयोग गर्ने नेपाल जस्ता देशहरूको अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने खतरा बढेर गएको छ । नेपालमा मध्यपूर्वको युद्धको प्रभाव पेट्रोलियम ऊर्जाको आयात तथा वितरणमा देखिन थालेको छ । पेट्रोल पम्पमा लामो लाइन तथा माग बमोजिम खाना पकाउने एलपीजी ग्यास नपाउने समस्या दिन प्रतिदिन बढिरहेको छ । 
पेट्रोल, डिजेल र ग्यास आयात गर्ने नेपाल आयल निगमले आयात परिमाणमा कमी नआए पनि उपभोक्ताको मनोवैज्ञानिक त्रासले मागभन्दा बढी भण्डारण गरिरहेकाले बजारमा अभाव भइरहेको जनाएको छ । मध्यपूर्वको तनावले भारतमा समेत ग्यास अभावको समस्या बढ्दै गएपछि नेपालले पाउने परिमाण कटौती भएपछि यसको प्रभाव नेपाली बजारमा देखिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्