नेभिगेशन
नेपाल
इनिसा विक हत्या प्रकरण

पोस्टमार्टमले बलात्कारपछि मृत्यु पुष्टि, माइतीघरमा प्रदर्शन

आयोगको ध्यानाकर्षण, कारबाहीको माग

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाले राष्ट्रिय स्तरमा गम्भीर चासो पैदा गरेको छ । राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा कानून कार्यान्वयन गर्ने निकायलाई जवाफदेही बनाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् । 
दुवै आयोगले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर छानबिन गर्न तथा पीडित परिवारलाई सुरक्षा र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा रौतहट, पर्सासहित देशका विभिन्न स्थानमा महिला, दलित र किशोरीमाथि भइरहेका हिंसा तथा विभेदका घटनाप्रति पनि गम्भीर ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । 
सुर्खेतको वीरेन्द्रनगर–१ मा बस्दै आएकी गुर्भाकोट–६ बडाखोलीकी १६ वर्षीया इनिसा गत शनिबार बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखाएको छ र सो घटनामा चार जनालाई पक्राउसमेत गरिएको प्रहरीले जनाएको छ ।
माइतीघरमा प्रदर्शन, दोषीमाथि कडा कारबाही माग
घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपालको अगुवाइमा दलित समुदायका युवा तथा अधिकारकर्मीहरूले निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई कारबाही गर’, ‘स्टप रेप’, ‘इनिसाका परिवारलाई न्याय दे’ र ‘अपराधीलाई छुट दिन पाइँदैन’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
दलित अभियन्ता रुपा सुनारले घटना भएको पाँच दिन बितिसक्दा पनि दोषीलाई कारबाही गर्ने विषयमा राज्य गम्भीर नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । प्रदर्शनमा सहभागीले अभियुक्तलाई प्रभावका आधारमा उन्मुक्ति दिन नहुने, उमेर घटाउने वा प्रमाण कीर्ते गर्ने प्रयास भए त्यसमा संलग्नमाथि पनि कडा कारबाही गर्नुपर्ने माग गरेका थिए ।
के छ पोस्टमार्टम रिपोर्टमा ? 
पोस्टमार्टम रिपोर्टले इनिसाको मृत्यु जबर्जस्ती करणीपछि भएको अत्यधिक रक्तस्रावका कारण भएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन चिकित्सक र भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले तयार पारेको प्रतिवेदनमा करणीका क्रममा संवेदनशील अंग च्यातिएको र पाठेघरसम्म गम्भीर चोट पुगेको उल्लेख छ । डा. शाक्यका अनुसार सो चोटका कारण भएको अत्यधिक रक्तस्राव नै मृत्युको मुख्य कारण रहेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा एक १६ वर्षीय किशोरलाई घटनाकै दिन पक्राउ गरिएको थियो भने थप तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । पक्राउ परेका मध्ये एकसँग पीडितको विगतदेखि चिनजान रहेको र सोही क्रममा सहिद पार्क पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
व्यापक अनुसन्धान 
घटनाको सूक्ष्म अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो तथा नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलियोग्राफी विज्ञको टोली सुर्खेत पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन वैज्ञानिक र प्राविधिक विधि प्रयोग गरिएको जानकारी दिएका छन् । 
उनका अनुसार आरोपीहरूको बयान परीक्षण, मोबाइल फोन तथा विद्युतीय सामग्रीको विश्लेषण र घटनास्थलबाट संकलित प्रमाणको परीक्षणका लागि सामग्री केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
प्रहरीले पोस्टमार्टम रिपोर्ट, पोलियोग्राफी परीक्षण, कल डिटेल र अन्य प्रमाणका आधारमा घटनाको अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै