नेभिगेशन
विश्व

अमेरिकी ग्रामीण क्षेत्रमा शिक्षक अभाव

काठमाडौँ । अमेरिकामा सहरमात्र होइन थुप्रै गाउँहरू पनि छन् । गाउँका विद्यालयहरूमा काम गर्न अमेरिकीलाई रुचि कम छ । त्यसैले विद्यालय विदेशी शिक्षकले धानेका छन् । 
ट्रम्प प्रशासनले विदेशीलाई भिसामा गरेको कडाइले अब ग्रामीण क्षेत्रका विद्यालयलाई संकट भएको छ । धेरै वर्षअघिदेखि ग्रामीण क्षेत्रका विद्यालयहरूमा विदेशबाट शिक्षक ल्याउने चलन थियो । तर अब यो प्रक्रिया जै प्रभावित भएको छ । 
दक्षिण क्यारोलिनाको एलिन्डेल काउन्टीका विद्यालयहरूमा करिब एक चौथाइ शिक्षकहरू विदेशी छन् । धेरै जमैका र फिलिपिन्सबाट आएका छन् । भिसा नवीकरणमा समस्या परेपछि उनीहरू फर्किदैछन्, विद्यालयमाथि संकट थपिँदैछ ।
जिल्लाकी सुपरिन्टेन्डेन्ट (शिक्षा प्रमुख) भेलेरी केभले विदेशी शिक्षकहरू निकै मेहनती र योग्य भएको बताएकी छन् । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले भिसा नियमहरू परिवर्तन गर्न थालेपछि केही शिक्षकहरूले आफ्नो देश फर्कनुपर्ने स्थिति आएको छ ।
भिसा स्पोन्सर गर्न लाग्ने खर्च बढेको छ र आप्रवासन (इमिग्रेसन) नीतिहरू पनि अनिश्चित भएका छन् । केभले केही विदेशी शिक्षकहरूको सम्झौता नवीकरण नगर्ने र नयाँ पनि नल्याउने सोच बनाएकी छन् । 
आफ्ना गाउँका विद्यालयमा शिक्षक बन्न अमेरिकीहरूलाई उतिसारो रुचि छैन, जसका कारण ग्रामीण क्षेत्रमा शिक्षक पाउन झन् गाह्रो छ । गाउँमा सहरजस्तो त्यहाँ घर, पसल, अस्पतालजस्ता सुविधा कम हुन्छन् र तलब पनि ठूला शहरका विद्यालयहरूभन्दा कम हुन्छ ।
अब केभले स्थानीय शिक्षकहरू भर्ती गर्ने प्रयास गर्ने बताएकी छन् । यदि त्यो सम्भव भएन भने विद्यालयले अनलाइन शिक्षकहरूको प्रयोग बढाउन सक्छ । अन्य ठाउँमा भने केही विद्यालयहरूले प्रमाणपत्र नभएका शिक्षक राख्ने, कक्षा जोड्ने वा केही विषय पढाउनै बन्द गर्ने विकल्प पनि सोचिरहेका छन् ।
सेप्टेम्बरमा ह्वाइट हाउसले नयाँ एच–वान बी भिसामा एक लाख डलरको अतिरिक्त शुल्क लगाएको थियो । यो भिसाले विदेशी दक्ष कामदारलाई अमेरिकामा काम गर्न अनुमति दिन्छ । सरकारको तर्क थियो कि विदेशी कामदारले अमेरिकीको रोजगारी खोसिरहेका छन्, विशेषगरी प्राविधिक क्षेत्रमा । तर आलोचकहरूले यस्तो शुल्कले शिक्षकजस्ता अन्य क्षेत्रमा झन् कर्मचारी अभाव बढाउने बताएका छन् ।
नेशनल एजुकेशन एसोसिएसनका अनुसार अमेरिकाका करिब ५०० विद्यालय जिल्लामा २३०० भन्दा बढी शिक्षकहरू एच–वान बी  भिसामा काम गरिरहेका छन् ।
अर्को प्रकारको भिसा जे–वन पनि हुन्छ, जसले सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत छोटो समयका लागि अमेरिका बस्न अनुमति दिन्छ । यसमा नयाँ शुल्क लाग्दैन । युमेटिला स्कूल डिस्ट्रिक्टमा पनि स्पेनबाट दुई जना गणित र विज्ञानका शिक्षक ल्याइएका थिए । ती शिक्षकहरू निकै राम्रो भए पनि अनिश्चित अवस्था र आफ्नो देशको परिस्थितिका कारण गर्मी याममा फर्किए ।
हेडी साइपका अनुसार त्यसपछि विद्यालयले फेरि विदेशी शिक्षक ल्याउने प्रयास नगरी स्थानीय शिक्षक खोज्यो र त्यसमा सफल पनि भयो । तर सबै विद्यालयले यस्तो सजिलै शिक्षक पाउने आशा भने गर्दैनन् ।
एलिन्डेल काउन्टीमा विभिन्न मुलकबाट आएका शिक्षकहरूले गणित, विज्ञान, भाषा, र विशेष शिक्षासम्बन्धी विषयहरू पढाउँदै आएका थिए । पहिले नै एक जना शिक्षकको भिसा स्पोन्सर गर्न वर्षमा लगभग १५ हजारदेखि २० हजार डलर खर्च लाग्थ्यो ।
अब विद्यालयले फुलमाइन्ड नामको कम्पनीमार्फत अनलाइन शिक्षकहरू प्रयोग गर्ने योजना बनाइरहेको छ । यसमा विद्यार्थीहरू कक्षामा बस्छन् तर शिक्षक भिडियोमार्फत पढाउँछन् । फुलमाइन्डले हाल २२५ भन्दा बढी विद्यालय प्रणालीमा यस्तो सेवा दिइरहेको छ ।
दक्षिण क्यारोलिनामा आवश्यकता परेमा प्रमाणपत्र नभएका शिक्षक पनि राख्न पाइन्छ । तर केभले पहिले अनलाइन शिक्षक प्रयोग गर्ने सोच बनाएकी छन् ।
उनी भन्छिन्, महामारीपछि पनि शिक्षकको अभाव समस्या अझै समाधान भएको छैन । ग्रामीण र गरिब क्षेत्रमा राम्रो तलब दिन नसक्ने भएकाले शिक्षक भर्ती गर्न अझै कठिन छ ।
हेलिफेक्स काउन्टीका विद्यालयहरूमा १५९ शिक्षकमध्ये १०३ जना विदेशबाट आएका छन् । भविष्यका लागि त्यहाँका विद्यालयहरूले उच्च माध्यमिक तहकै विद्यार्थीहरूलाई शिक्षक बन्न प्रोत्साहन गर्ने कार्यक्रम पनि सुरु गरेका छन् ।
अहिलेलाई भने उनीहरूले अन्य विद्यालयमा काम गरिरहेका विदेशी शिक्षकहरूलाई आफ्नो जिल्लामा ल्याउने प्रयास गरिरहेका छन्, जसले जे–वान भिसाबाट एच–वान बी भिसामा परिवर्तन गरेर काम गर्न सकून् । यसले नयाँ एक लाख डलर शुल्क तिर्नु नपर्ने सम्भावना हुन्छ ।
मानव संसाधन निर्देशक क्यारोलिन मिसेलका अनुसार, शिक्षकको अभाव हुँदा विभिन्न विकल्पहरू खोजेर समाधान निकाल्नैपर्छ । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्