काठमाडौँ । उदीयमान युवा क्रिकेटर दुजः श्रेष्ठले अस्ट्रेलियामा जारी उमेर समूहको क्रिकेट प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रमाणित गरेका छन्। पछिल्ला खेलहरूमा उनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा प्रभावशाली प्रदर्शन गर्दै आफूलाई भरोसायोग्य अलराउण्डरका रूपमा स्थापित गरेका छन्।
चालु सिजनमा उनले २७ खेल खेल्दै ५३३ रन बनाएका छन् भने उनको ब्याटिङ औसत ३१.३५ रहेको छ। यस सिजनमा उनको उच्च स्कोर १०५ रन रहेको छ। यो उनले क्लब स्तरको प्रतियोगितामा बनाएका हुन्। बलिङतर्फ पनि श्रेष्ठले प्रभावशाली प्रदर्शन गरेका छन्। उनले यस सिजन २९ विकेट लिँदै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राखेका छन्। उनको बलिङ औसत १५.५२ रहेको छ भने उत्कृष्ट बलिङ प्रदर्शन ३ विकेटमा ११ रन रहेको छ।
फिल्डिङतर्फ पनि उनी उत्तिकै सक्रिय देखिएका छन्। उनले सिजनभर ५ क्याच लिएका छन् र ७ रन आउटमा प्रत्यक्ष भूमिका खेलेका छन्।
समग्र करियरको तथ्यांक हेर्दा दुःज श्रेष्ठले हालसम्म १६३ खेल खेलिसकेका छन्। यी खेलमा उनले २८३४ रन, एउटा शतक र ११ अर्धशतकसहित औसत ३४.५६ कायम गरेका छन्। बलिङतर्फ उनले १३० विकेटलिँदै औसत १४.७२ राखेका छन् भने उत्कृष्ट बलिङ प्रदर्शन ४ विकेटमा ४ रन रहेको छ। उनको इकोनोमी ३.३८ रहेको छ। फिल्डिङमा पनि उनले ५८ क्याच, ६७ रन आउट र ४ स्टम्पिङ गर्दै महत्त्वपूर्ण योगदान दिएका छन्।
हालै उनले एक खेलमा १०५ रन र अर्को खेलमा ५६ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई टिमले टप शेल्फ पर्फमेन्सको सम्मानसमेत दिएको छ।
यसैबीच अस्ट्रेलियाको सेन्ट जर्ज डिस्ट्रिक्ट क्रिकेट एसोसिएशनले नोभेम्बर २७, २०२५ मा सार्वजनिक गरेको विवरणमा श्रेष्ठको प्रदर्शनको प्रशंसा गरेको छ। उक्त विवरणअनुसार उनले सेन्ट जोसेफ इलावाराबाट खेल्दै अन्डर–१५ प्रतियोगितामा शतक प्रहार गरेका थिए भने त्यसपछि न्यू साउथवेल्स युथ च्याम्पियनशिपको अन्तिम चरणमा संघर्षपूर्ण अर्धशतक बनाएका थिए।
संस्थाले उनको प्रदर्शनबारे उल्लेख गर्दै “यी प्रतिभाशाली क्रिकेटरका लागि पछिल्ला केही हप्ता निकै उत्कृष्ट रहेकाले आगामी दिनमा ध्यान दिनुपर्ने खेलाडी” रहेको भन्दै भविष्यका सम्भावनायुक्त खेलाडीका रूपमा चित्रण गरेको छ।
प्रशिक्षकहरूका अनुसार दुःज श्रेष्ठ अनुशासित, मेहनती र बहुआयामिक खेल क्षमता भएका खेलाडी हुन्। निरन्तरको उत्कृष्ट प्रदर्शनले उनलाई आगामी दिनमा अझ उच्च स्तरको क्रिकेटमा हेर्न पाइने अपेक्षा गरिएको छ।