नेभिगेशन
प्रदेश

पोखराका पूर्वमेयर थापाको निधन

पोखरा । पोखराका पूर्व मेयर कृष्ण थापाको निधन भएको छ । ६६ वर्षीइ थापाको हृदयघातका कारण बिहीबार निधन भएको हो । उनी एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज थिए ।
प्रतिनिधिसभा सदस्य चुनावको समीक्षाका लागि बिहीबार दिउँसो एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की–१ को निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक थियो । बैठकमा झण्डै १० मिनेट बोलेर कुर्सीमा बसिरहेका बेला उनी अचेत भएका थिए ।
तत्काल पोखरा–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएका उनलाई ३ः३७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको पार्थिव शरीर अस्पतालमै छ । थापा गण्डकी प्रदेशसभाका पूर्वसदस्यसमेत हुन् । 
२०५४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर २ को उम्मेदवार भएका थिए । उक्त निर्वाचनमा पराजय व्यहोरे पनि ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा उनले टिकट पाएका थिए । कास्की २ (१) बाट चुनाव जितेर प्रदेश सांसद बनेका उनी राजीनामा दिएर २०७९ सालमा पोखरा महानगरपालिकाको मेयर लडेका थिए । तर माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले उनलाई पराजित गरे ।
जेनजी आन्दोलनपछि भएको एमालेको महाधिवेशनमा थापा केन्द्रीय सदस्यमा चुनिएका थिए । उनी कास्की जिल्लाको इन्चार्जसमेत थिए । हालैको प्रतिनिधिसभा सदस्य चुनावमा कास्की–२ मा उनलाई एमाले केन्द्रीय सचिवालयले प्रत्यक्षतर्फ टिकट दिएको भए पनि पछि रश्मि आचार्यलाई दिइएको थियो । टिकट खोसिएकामा चित्त दुखाइ भए पनि उनी चुनावी प्रचारप्रसारमा आचार्यसँगै हिँडेका थिए ।
निर्वाचनमा एमालेले नराम्रो पराजय भोगेपछि थापाले आफू पार्टी हितको लागि जिल्लाको इन्चार्ज एवं पार्टीको केन्द्रीय सदस्य पदसमेत त्याग्न तयार रहेको कुरा सार्वजनिक गरेका थिए । बिहीबारको चुनावी समीक्षा बैठकमा जिल्ला इन्चार्ज एवं पार्टीको केन्द्रीय सदस्य हैसियतले सबैको जिज्ञासाको जवाफ दिँदै चुनावमा हारको जिम्मेवारी लिन तयार रहेको दोहो¥याएका थिए ।
२०१६ चैत १६ गते पोखरा–१६, बाटुलेचौरमा बाबु खिमबहादुर र आमा शुकमाया थापाको ज्येष्ठ सन्तानको रुपमा जन्मिएका थापा हक्की र निडर स्वभावका थिए । उनका श्रीमती डिकी छिरिङ थापा, एक छोरा प्रतीक थापा, भाइ मोहन थापा र बहिनी देवी तिमिल्सेना थापा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्