नेभिगेशन
विश्व

मध्यपूर्वमा बढ्दो तनाव, फर्कन चाहनेले साउदी हुँदै आउनुपर्ने

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध तनावका कारण विभिन्न देशमा कार्यरत नेपाली नागरिक प्रभावित भएका छन् । संकटग्रस्त १३ श्रम गन्तव्यबाट स्वदेश फर्कन चाहने नेपाली कामदारका लागि साउदी अरब हुँदै नेपाल आउने विकल्प खुला गरिएको छ । केही देशमा नियमित हवाई उडान बन्द वा सीमित भएकाले सरकारले कूटनीतिक पहलमार्फत यस्तो व्यवस्था मिलाएको हो ।
करार अवधि सकिएर स्वदेश फर्कने तयारीमा रहेका नेपाली कामदार तथा अन्य पेशाकर्मी विगत केही दिनदेखि खाडी क्षेत्रका विभिन्न देशमा अड्किएका छन् । साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि र यात्रा योजनासहितको विवरण आफू रहेको देशस्थित नेपाली दूतावास वा नियोगमा पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पश्चिम एसियाका केही स्थानबाट सीमित मात्रामा हवाई उडान सञ्चालन भइरहेका छन् । नेपाल सरकारले उपलब्ध उडानमार्फत नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल गरिरहेको जनाएको छ । पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीको विवरण संकलनका लागि सञ्चालन गरिएको अनलाइन दर्ता प्रणालीमा हालसम्म करिब ५७ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । साउदी अरब बाहेकका १२ संकटग्रस्त श्रम गन्तव्यमा मात्र करिब १३ लाखभन्दा बढी नेपाली रहेका छन् ।
मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका छन्, जहाँ करिब ७ लाख नेपाली कार्यरत छन् । यसैगरी कतारमा ३ लाख ५७ हजारभन्दा बढी, साउदी अरबमा करिब ३ लाख ८४ हजार, ओमानमा २५ हजार तथा बहराइनमा २७ हजारभन्दा बढी नेपाली रहेका छन् । जोखिमको दृष्टिले संवेदनशील मानिएको इजरायलमा करिब ६ हजार ५ सय नेपाली कार्यरत छन् । इरानमा रहेका केही नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै मध्यपूर्वमा रहेका नेपालीलाई आवश्यक कागजात आफूसँग सुरक्षित राख्न र त्यहाँ रहेका नेपाली नियोगहरूसँग सम्पर्कमा रहन आग्रह गर्दै आएको छ ।
सहज हुँदै रोकिएका उडान
मध्यपूर्व क्षेत्रमा युद्धको तनाव कायम रहे पनि नेपालबाट हुने केही उडानहरू क्रमशः पुनः सञ्चालन हुन थालेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबई गन्तव्यमा सीमित उडान पुनः सुरू गरेका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई उडान नियमित समयमै सञ्चालन गर्ने जनाएको छ, तर सुरक्षा परिस्थितिका कारण उडान जुनसुकै बेला रद्द हुन सक्ने चेतावनी पनि दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हाल पनि मध्यपूर्व गन्तव्यका केही अन्तर्राष्ट्रिय उडान रद्द भइरहेका छन् । जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, कतार एयरवेजलगायतका केही उडान प्रभावित भएका छन् । यद्यपि यूएईका दुबई, अबुधाबी र शारजाहतर्फका उडान भने क्रमशः नियमित हुन थालेका छन् ।
अमेरिका, इजरायल र इरानबीच जारी सैन्य द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ । फेब्रुअरी अन्त्यदेखि सुरु भएको यो द्वन्द्व क्रमशः क्षेत्रीय स्तरमा फैलिँदै गएको छ । हवाई आक्रमण, मिसाइल प्रहार र ड्रोन हमलाका कारण त्यहाँ रहेका लाखौँ विदेशी कामदारसहित नेपालीहरू पनि मानसिक रूपमा त्रसित बनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म यस क्षेत्रको युद्धमा करिब १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । इरानमा सबैभन्दा बढी क्षति भएको बताइएको छ भने इजरायल र लेबनानमा पनि ठूलो मानवीय क्षति भएको छ ।
युद्धका कारण विमानस्थल, सैन्य केन्द्र, आवासीय क्षेत्र तथा तेल भण्डारण केन्द्रहरूमा क्षति पुगेको छ । केही स्थानमा विद्युत् र सञ्चार सेवा समेत अवरुद्ध छन् ।
यस परिस्थितिमा केही नेपालीहरू विशेष उडानमार्फत स्वदेश फर्कन थालेका छन् । यूएई र कतारबाट चार्टर उडानमार्फत नेपाल फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । दूतावास स्रोतका अनुसार हाल करिब ५५ हजार नेपाली स्वदेश फर्कन इच्छुक रहेको जानकारी प्राप्त भएको छ । सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न विभिन्न देशका नियोग तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्दै अवस्था निगरानी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्