नेभिगेशन
खेलकुद

चार दशकको प्रतीक्षापछि गति लिँदै गौरीटार रंगशाला

बागमती प्रदेशको राजधानी हेटौंडास्थित गौरीटार रंगशाला चार दशक लामो प्रतीक्षापछि नयाँ आशासहित अगाडि बढिरहेको छ । प्रदेश सरकारले यसलाई केवल खेल मैदानका रूपमा मात्र नभई प्रदेशको गौरवका आयोजनामध्ये एकका रूपमा विकास गर्ने योजना अघि सारेपछि निर्माण कार्यले थप गति लिएको हो । खेलकुद, पर्यटन र कृषि क्षेत्रलाई एकसाथ जोड्ने उद्देश्यसहित अघि बढाइएको यो परियोजनाले प्रदेशको पहिचान निर्माण गर्ने अपेक्षा गरिएको छ ।
‘बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौंडा २०८२’ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरीटार रंगशालालाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सक्ने संरचनासहित विकसित गर्ने योजना रहेको बताए । उनले अहिलेसम्म सीमित बजेटमा केही काम भए पनि अब प्रदेश सरकारले एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर आधुनिक खेल पूर्वाधार निर्माण गर्ने तयारी गरेको बताए ।
उनले गौरीटार क्षेत्रलाई बहुउद्देश्यीय खेल परिसरका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै त्यहाँ फुटबल मैदान, क्रिकेट मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स, फिटनेस सेन्टरलगायतका संरचना निर्माण गरिने बताए । प्रदेश सरकारले खेलकुद पूर्वाधारलाई व्यवस्थित बनाउन संघीय सरकार र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री बानियाँले खेलाडी समाज र राष्ट्रको पहिचान भएको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न पूर्वाधार निर्माण अनिवार्य रहेको बताए । उनले खेलकुदसँगै कृषि र पर्यटन क्षेत्रको विकासलाई पनि प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताए । प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्धनमार्फत स्थानीय जनताको आयस्रोत बढाउने लक्ष्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदराज रानाभाट तथा पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले पनि खेलकुद पूर्वाधार विकास आवश्यक रहेको धारणा राखे ।
हेटौंडा–१० स्थित टिसीएन चौरमा सुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना, खेल सामग्री व्यवस्थापन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा करिब ४०० स्टल राखिएको छ । महोत्सवमा खेल सामग्री, व्यापार, स्थानीय कृषि उत्पादन, सांस्कृतिक कार्यक्रम र विभिन्न खेल प्रतियोगिता समावेश गरिएको छ ।
यसबीच, निर्माणाधीन गौरीटार रंगशाला आफैंमा लामो समयदेखि अलपत्र परेको आयोजना थियो । चार दशकअघि सुरु गरिएको योजना संघीय स्तरबाट पर्याप्त बजेट नपाउँदा रोकिँदै आएको थियो । प्रदेश सरकारले जिम्मेवारी लिएपछि भने कामले गति लिएको छ ।
हेटौंडा–६ स्थित २३ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला काठमाडौंको दशरथ रंगशालापछि दोस्रो ठूलो फुटबल मैदान हुने गरी निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भइरहेको रंगशालाको अधिकांश काम पूरा भइसकेको छ र फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ ।
रंगशालाभित्र फुटबल मैदानसँगै पौडी पोखरी, क्रिकेट मैदान, एथलेटिक्स ट्र्याक, कभर्डहल, ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, खेलाडी आवासगृह, मिडिया सेन्टर, चिकित्सकीय कक्ष लगायत २१ वटा संरचना निर्माण गर्ने गुरुयोजना रहेको छ । फुटबल मैदानमा करिब चार हजार पाँच सय दर्शक अट्ने प्याराफिट निर्माण भइरहेको छ भने राति पनि खेल सञ्चालन गर्न मिल्ने व्यवस्था गरिँदैछ ।
रंगशाला परिसरभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदान पनि निर्माण भइरहेको छ । करिब सात सय दर्शक अट्ने क्षमताको यो मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने बताइएको छ । ड्रेनेज प्रणाली, स्कोरबोर्ड, साइड स्क्रीनलगायतका संरचना निर्माण भइरहेका छन् ।
लामो समयसम्म अलपत्र रहेको आयोजना प्रदेश सरकारले प्राथमिकतामा राखेपछि अन्तिम चरणमा पुगेको स्थानीय खेलकुदकर्मीहरू बताउँछन् । प्रदेश सरकारको सक्रियतापछि निर्माणले गति लिएको भन्दै उनीहरूले गौरीटारलाई भविष्यमा राष्ट्रियस्तरको खेलकुद केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
गौरीटार रंगशाला पूरा भएपछि बागमती प्रदेशमा मात्र होइन, देशकै खेलकुद विकासमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ । खेलकुदसँगै पर्यटन, व्यापार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने सम्भावना बोकेको यो आयोजना प्रदेशको पहिचानसँग जोडिएको महŒवाकांक्षी योजना मानिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्