नेभिगेशन
प्रदेश

काली पाहा जोगाउने चुनौती

काठमाडौं । काली पाहाको अध्ययन तथा संरक्षणका लागि चितवनमा गरिएको अध्यननले मानवीय आनिबानीमा परिवर्तन र बासस्थानको संरक्षणका कार्य सँगै अगाडि बढाउनुपर्ने देखाएको छ ।
काली पाहाको संरक्षणका लागि चितवनको हात्तीवाङमा एकवर्षे परियोजना सञ्चालन गरेको वातावरण संरक्षण तथा अध्ययन केन्द्रले जनाएअनुसार अनुसन्धानकर्मी डा. जनक खतिवडाले काली पाहामाथि शोध गर्ने क्रममा विश्वका लागि नै नौलो प्रजातिका रुपमा चितवनको इच्छाकामना गाउँपालिकाको हात्तीवाङ क्षेत्रबाट यो प्रजातिको अभिलेख तयार गरेका थिए ।
विश्वभरका प्रजातिहरूको संरक्षणको अवस्था चित्रित गर्ने आईयूसिएनको रातो सूचीमा पछिल्लो समय काली पाहा संवेदनशील सूचीमा रहेको छ । नेपालमा संरक्षणका हिसाबले उभयचरहरू खासै प्राथमिकतामा परेको देखिन्न । संरक्षणको आवश्यकता तथा संरक्षणका प्रयासबीचको अन्तर कम गर्नका निम्ति फिल्ड अध्ययन, घरधुरी सर्वेक्षण तथा इको क्लबमार्फत् विद्यार्थीमा सचेतना फैलाउने उद्देश्यका साथ उक्त परियोजना सञ्चालन गरिएको केन्द्रकी अध्येता तथा परियोजनाकी संयोजक पुजा पौडेल बताउँछिन् ।
विश्वभर हालसम्म ९ हजारभन्दा बढी उभयचर प्रजातिको अध्ययन गरिएको छ भने मेरुदण्ड भएका प्रजातिहरूमध्ये सबैभन्दा बढी संकटमा रहेका प्रजातिमा उभयचरहरू पनि पर्दछन् ।
उभयचरले किरा फट्यांग्राजस्ता प्रजातिको नियन्त्रणका साथै खाद्यचक्रको माथिल्लो तहमा रहेका प्रजातिका आहाराका रूपमा काम गर्ने भएकाले उनीहरूको विशिष्ट पारिस्थितिकीय महत्व छ । यी प्रजाति सफा पानीका स्रोतमा मात्र बस्ने भएकाले काली पाहाले पारिस्थितिकीय प्रणालीको स्वच्छताको सूचकको रूपमा पनि काम गर्छ ।
फिल्ड सर्वेक्षणका लागि हात्तीवनमा अवस्थित बिजोक खोला, तोबांग खोला र रिद्धि खोलामा दिउँसो र बेलुकाको समयमा सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणमा ३ वटा पाहा प्रजातिमध्ये काली पाहा, ढ्यांग पाहा र पहेंले पाहा अभिलेख तयार गरिएको थियो । सामाजिक  सर्वेक्षणअन्तर्गत २ सय ७ घरधुरीमा गरिएको सर्वेक्षणले करिब ८० प्रतिशत उत्तरदाताहरू पाहा सिकार गर्ने काममा संलग्न भएको पाइएको अध्ययनमा संलग्न रीतिका पाठकले जनाइन् । वातावरण अध्ययन तथा संरक्षण केन्द्रका प्रविन लामाका अनुसार यस कार्यक्रमले स्थानीय समुदाय र विद्यार्थीहरुमा उभयचर संरक्षणको सन्देश दिन सकिएको बताए । वातवरण अध्ययन तथा संरक्षण केन्द्रका अध्यक्ष नारायण निरौलाका अनुसार केन्द्रले नियमित सञ्चालन गरिरहेको ‘क्रोकिंग मनसुन’ कार्यक्रमका रूपमा यो कार्यक्रम सञ्चालन गरिएको जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्