नेभिगेशन
खेलकुद

लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन

मुस्ताङ, १३ भदौ : वर्खायामको समाप्तिसँगै मनाइने यार्तुङ पर्र्व आज उपल्लो मुस्ताङको लोमान्थाङमा सुरु भएको छ । सो पर्वको अवसरमा लोमान्थाङ युवा क्लबको आयोजना तथा एक्याप लोमान्थाङको आर्थिक सहयोगमा परम्परागत घोडा दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

यहाँ दुई विधामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । मुस्ताङ सांस्कृतिक राजपरिवारको समुउपस्थितिमा आयोजना गरिएको कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ–५ का वडाध्यक्ष ढुक्के विष्ट च्याम्पियन बनेका छन् । 

कदम घोडा दौड प्रतियोगितामा सहभागी कूल १२ प्रतियोगीमध्ये वडाध्यक्ष विष्ट च्याम्पियन बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । कदम घोडा दौडतर्फ छेडुप गुरुङ  दोस्रो र निमा वाङ्दी गुरुङ तेस्रो भएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे । योसँगै कदम घोडा दौडको च्याम्पियन विष्टले नगद एक लाख रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यसैगरी कदम घोडा दौडको दोस्रो र तेस्रो हुने घोडा मालिकले नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए । यसैगरी गरी यार्तुङ पर्वको अवसरमा आयोजित भाक्का (लामो दुरी) घोडा दौड प्रतियोगितामा डब्ला गुरुङ  च्याम्पियन भए ।

प्रतियोगितामा ल्हाक्पा गुरुङ दोस्रो र ढुक्के विष्ट तेस्रो हुनुभयो । भाक्का घोडा दौडाका विजेताले क्रमश नगद ३०, २० र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र क्लबका अध्यक्ष पेमा तेन्जिङ गुरुङले पुरस्कार वितरण गरे । 

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्