नेभिगेशन
प्रदेश

चिया बगानमा ‘फस्र्ट फ्लस’ चटारो

इलाम । इलामेली चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्र्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महŒवपूर्ण मानिन्छ । 
फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको व्यवसायी जीवन पाण्डेले बताए । पहिलो टिपाइलाई विशेष सावधानीका साथ संकलन गरिन्छ । चियाको कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग पनि बढी हुने गरेको छ ।
चिया उद्योगी शरद सुब्बाका अनुसार चालु वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको छ । इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी उनले दिए । ‘यसलाई सुरक्षित ढंगले टिपिन्छ । यहीँबाट उच्च गुणस्तरको चिया तयार हुन्छ,’ उनले भने, ‘पहिलो टिपाइमा मात्रै करिब अढाई सय किलो चिया संकलन भएको छ ।’ उनका अनुसार सोयाकसँगै चिलिमकोट लगायतका क्षेत्रका बगानमा क्रमशः चिया टिपाइ सुरु भइसकेको छ । 
इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाले यो वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताए । किसानलाई प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो १५ सय रुपैयाँसम्म मूल्य दिने व्यवस्था गरिएको उनको भनाइ छ ।
स्थानीय किसानका लागि चियाको पहिलो टिपाइ वर्षको आशाको सुरुवातजस्तै हुने गर्छ । सूर्योदय–१ का किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य राम्रो पाइन्छ । ‘पहिलो टिपाइ राम्रो भयो भने वर्षभरि नै चिया उत्पादनप्रति उत्साह बढ्छ,’ उनी भन्छन्, ‘यो किसानका लागि वर्षको सुरुवातमै आउने राम्रो आम्दानी हो ।’
माई–५ का किसान बुद्ध लिम्बुले कात्तिकयता पर्याप्त वर्षा नभएकाले यसपटक जिल्लाको माथिल्ला लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना छ ।
इलामसँगै पाँचथरमा रहेको कञ्चनजंघा चिया कारखानाले पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ । उद्योगीहरूका अनुसार यसरी तयार भएको चिया विशेष गरी जर्मनी, रुस, अमेरिका लगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।
इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रीनलगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन् । मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताए । उनका अनुसार, चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ । उक्त परिमाणको चियाबाट २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्यांकले देखाएको छ ।
कृषि मन्त्रालयका अनुसार इलाममा करिब ७ हजार ६०० जनाभन्दा बढी किसानले ७ हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन् । रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्