नेभिगेशन
प्रदेश

ओखर खेती प्रविधि सिक्दै कृषक

मुगु । मुगुका कृषक तथा कृषि प्राविधिकहरू व्यावसायिकरूपमा ओखर खेती विस्तार गर्ने उद्देश्यले आधुनिक प्रविधिसहितको तालिम लिइरहेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको कार्यान्वयन इकाइले आयोजना गरेको हिउँदे फलफूल नर्सरी तथा फलफूल व्यवस्थापनसम्बन्धी तालिममा कृषकलाई ओखर खेतीका विधि सिकाइएको हो ।
शनिबार सम्पन्न तीन दिने तालिममा जिल्लाका अगुवा कृषक र कृषि प्राविधिकहरूको सहभागिता थियो । तालिम संयोजक भावना जोशीका अनुसार कार्यक्रममा कृषक र प्राविधिक गरी ३१ जनाले सहभागिता जनाएका छन् । मुगुमा उत्पादन हुने ओखरका बिरुवा भविष्यमा अन्य जिल्लामा पठाउन सक्ने क्षमता विकास गर्ने र जिल्लालाई बिरुवा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
उनका अनुसार ओखर खेती सामान्य बालीजस्तै छिटो उत्पादन दिने खेती होइन । बिरुवा रोपेको करिब ५ देखि ७ वर्षपछि मात्र फल दिन सुरु गर्छ र पूर्ण उत्पादनमा पुग्न करिब १० वर्ष लाग्न सक्छ । ओखरको बोटको आयु लामो हुने भएकाले एकपटक रोपेपछि ५० वर्षभन्दा बढी समयसम्म उत्पादन दिन सक्छ । यो खेती चिसो तथा समशीतोष्ण हावापानी भएका पहाडी क्षेत्रका लागि उपयुक्त मानिन्छ, जहाँ पर्याप्त चिस्यान, राम्रो पानी निकास भएको माटो र घामको पहुँच हुन्छ । सही प्रविधि अपनाएमा ओखर खेती दीर्घकालीनरूपमा लाभदायी खेतीका रूपमा विकास हुन सक्छ । यसको माग बजारमा उच्च भएकाले व्यावसायिकरूपमा खेती गर्दा राम्रो आम्दानीको सम्भावना पनि रहेको कृषि विज्ञहरू बताउँछन् ।
तालिममा सहभागी किसानलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको छ । संयोजक जोशीका अनुसार तालिमको करिब ६० देखि ७० प्रतिशत समय व्यावहारिक अभ्यासमा केन्द्रित गरिएको थियो भने ३० देखि ४० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो । व्यावहारिक अभ्यासका लागि सहभागीलाई नर्सरी फार्ममै लगेर बिरुवा उत्पादन तथा व्यवस्थापनका विधिहरू सिकाइएको थियो ।
तालिममा ओखरको प्रसारण विधि, सायन तथा रुटस्टक छनोट, टंग ग्राफ्टिङ, चिप बडिङ, ब्रिज ग्राफ्टिङ, टप वर्किङ, बिरुवा उत्पादन तथा संरक्षण, गोडमेल, काँटछाँट, मल्चिङ, सिँचाइ व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्