नेभिगेशन
प्रदेश

डेन्टल क्लिनिकमा छापा, केही फरार

सिरहा । अनुगमन र सुपरिवेक्षण नहुँदा जिल्लाका स्वास्थ्य सेवा प्रदायक केन्द्रहरूमा अनियममिता हुने गरको पुरानो प्रवृत्ति तराईका जिल्लाहरुमा फेरि दोहोरिन थालेको छ ।
यसै क्रममा सिरहाको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले आकस्मिक अनुगमन गर्दा गैरचिकित्सकहरूले उपचार गरिरहेको पाइएको हो । नेपाल मेडिकल काउन्सिलको व्यावसायिक आचरण तथा स्वास्थ्य समिति संयोजक डा. अजयकुमार साहको नेतृत्वमा लहानबजारमा गरिएको अनुगमनका क्रममा लहान– ३ स्थित अस्पताल चोकमा रहेका डेन्टल क्लिनिकले नियम विपरीत काम गरेको पाइएको छ । 
अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधाकृष्ण डेन्टल क्लिनिक तथा बेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सकबिना नै उपचार भइरहेको पाइएको थियो । निमयअनुसार डेन्टल क्लिनिकमा डेन्टिस्टहरूले उपचार गर्नुपर्नेमा साढे २ वर्ष ‘डेन्टल हाइजेनिस्ट’ कोर्स गरेका  जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको थियो । काउन्सिलका अनुसार केही सञ्चालकहरूले अन्य चिकित्सकको नाम बोर्डमा लेखेर आफूखुसी उपचार गर्ने गरेको, चिकित्सकको किर्ते हस्ताक्षर गर्ने तथा प्रचलित स्वास्थ्य ऐन, नियमावली र मापदण्डविपरीत क्लिनिक सञ्चालन भइरहेकोसमेत पाइएको छ । 
अनुगमन टोली पुग्ने सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएका थिए । अनुगमन टोलीका संयोजक डा. अजयकुमार साहले बिनायोग्य चिकित्सक क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी उल्लंघन भएको बताए । ‘योग्य चिकित्सकबिना डेन्टल क्लिनिक सञ्चालन गर्नु कानुनविपरीत मात्र होइन यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम निम्त्याउँछ,’ डा. साहले भने ।
प्राप्त उजुरीका आधारमा हामीले स्थलगत अनुगमन गरी यस्ता अवैध क्लिनिकहरूको पहिचान गरेका र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । अनुगमन टोलीमा डा. साहसहित विज्ञका रूपमा डा. राजीव शर्मा र डा. सुमन कर्ण सहभागी थिए । मानिसको स्वास्थ्यसँग जोडिने विषयमा नियमित अनुगमन गरी सेवाप्रवाह चुस्त दुरुस्त रहेको यकिन गर्नुपर्ने स्थानीय बताउँछन् । यस्तो कामको पहल लिन पालिकाहरू पनि अग्रसर हुनुपर्ने धारणा स्थानीय बुद्धिजिवीको छ । ‘अनुगमनको जिम्मा पाएको जुन निकाय छ, उसलाई जनशक्ति र स्रोतको अभाव हुने गरेको देखिन्छ । त्यसलाई पालिकाको पहलमार्फत पनि पूर्ति गर्नुपर्ने देखिन्छ,’ स्थानीय सुमित मिश्र भन्छन्, ‘आखिर पालिकाहरु स्थानीय निकाय हुन् र को कहाँ के गर्छ भन्ने जानकारी पहिला उनीहरुमै पुग्ने हुँदा मेडिकल काउन्सिलकै मान्छे कुर्नुभन्दा स्थानीय पालिकाको समन्वयमा अनुगमन प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।’   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै