नेभिगेशन
विश्व

इरान युद्धमा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न

वासिङ्टन डिसी । इरानमाथि सैन्य हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न छन् । पेन्टागनका प्रेस सचिव किंग्स्ली विल्सनले ५० हजार सेनाले हवाई र समुद्री क्षेत्र नियन्त्रणमा लिएका छन् भने हजारौं चिन्हित इरानी लक्ष्यमा आक्रमण गरेको बताउँदै ती ठाउँमा अमेरिकाले आफ्नो प्रभुत्व स्थापित गरेको बताए ।
अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार लगभग ६ हजार लक्ष्यमा हमला गरिएको, ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ । यस अपरेशनमा प्रयोग हुने हतियारहरूमा लडाकू जहाज, ड्रोन, मिसाइल रक्षा प्रणाली, युद्धपोत, ड्रोनविरुद्धका उपकरण, इन्धन आपूर्ति गर्ने विमान र कार्गो विमानहरू समावेश छन् । ट्रिपोली नामक एक उभयचर हमला जहाज र लगभग दुई हजार ५०० मरीनलाई मध्यपूर्वमा तैनाथ गरिरहेको छ ।
सेन्ट्रल कमाण्डले शुक्रबार पश्चिम इराकमा बिहीबार दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति विमानमा रहेका सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । यसले संयुक्त अमेरिकी–इजरायली इरानमाथि फेब्रुअरी २८ देखि सुरु गरेका आक्रमणमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या कम्तीमा १३ पुगेको जनाएको छ ।
इरानका संयुक्त राष्ट्रस्थित स्थायी प्रतिनिधि अमीर सईद इरावानीका अनुसार, हमलामा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको र ९ हजार ६६९ नागरिक स्थल नष्ट भएका छन् ।
संग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षति ग्रस्त
इरानको पर्यटन मन्त्रालयले हाल मध्यपूर्व युद्ध १५ औं दिनमा प्रवेश गरेको उल्लेख गर्दै युद्धका कारण देशभरका कम्तीमा ५६ वटा संग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएको शनिबार जनाएको छ । तेहरानमा, अमेरिका–इजरायली आक्रमणले द्वन्द्वको प्रारम्भिक दिनहरूमा युनेस्कोमा सूचीबद्ध गोलेस्तान दरबारलाई क्षति पुगेको स्थानीय मिडियाले जनाएको छ ।
दरबार परिसर इरानी राजधानीको सबैभन्दा पुरानो स्थलहरूमध्ये एक हो भने परापूर्वकालमा कजार वंशको निवासको रूपमा रहेको थियो । तेहरानमा सबैभन्दा धेरै क्षतिग्रस्त स्मारकहरू रेकर्ड गरिएको जनाइएको छ । मध्य इरानी सहर इस्फहानमा रहेको १७ औँ शताब्दीको वास्तुकलाको गहना युद्धका कारण ‘नघ्स–ए जहाँ स्क्वायर’ पनि क्षतिग्रस्त भएको जनाइएको छ ।
युद्धले बुशहर प्रान्तको सिराफ बन्दरगाहमा, शताब्दीयौँ पुराना भवनहरूको र ऐतिहासिक घरहरू प्रभावित भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सी युनेस्कोलेसमेत इरान, इजरायल र लेबनानका सयौं ऐतिहासिक स्थलहरू युद्धबाट क्षतिग्रस्त वा खतरामा परेकोमा चिन्तित रहेको एएफपीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्