नेभिगेशन
प्रदेश

क्यान्सरले पति गुमाएपछि असौजीका चार छोरीहरूको पनि बिचल्ली

मुगु, १३ भदौ - छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी असौजी बिकको पतिको मृत्युपछि चार नाबालिका छोरीसहित चरम आर्थिक र सामाजिक संकटमा परेकी छन् । उनका पति रामबहादुर बिकको टाउकोमा लागेको चोट विस्तारै क्यान्सरमा परिणत भई गएको चैत महिनामा भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

रामबहादुरको उपचारका लागि ऋण र अन्य सहयोग गरी आठ लाख रुपैयाँभन्दा बढी जुटाइएको थियो । विभिन्न निकाय र व्यक्तिहरूबाट सहयोग भए पनि उनको जीवन जोगाउन सकिएन । अहिले परिवार पाँच लाख रुपैयाँ ऋणमा छ ।

पतिको निधन हुँदा असौजीकी कान्छी छोरी गर्भमै थिइन् । अहिले उनी चार महिनाकी छन् । अन्य तीन छोरीमध्ये जेठी पाँच, माहिली तीन र साहिँली दुई वर्षकी भइन् । असौजी आफैं पनि अस्वस्थ छिन् । सुत्केरी छँदा स्याहार नपाएकाले आँखामा समस्या आएको छ । औषधिका लागि पैसा छैन ।

‘छोरीहरू स्कूल जान चाहन्छन् तर लुगा, किताब, कापी केही छैन । खुवाउने समस्या त झन् ठूलो छ,’ असौजीले भनिन् । उनका अनुसार बिहान–बेलुका छोरीहरूको छाक टार्नै मुस्किल पर्छ । काममा जान खोजे साना छोरीहरूलाई कसले हेर्ने भन्ने समस्या छ ।

छोरी पुष्पाले स्कूल जान मन लाग्ने तर पढ्नका लागि चाहिने झोला, लुगा नहुँदा घरमै बस्नुपर्ने बाध्यता भएको बताइन् । छिमेकी बाँचबहादुर बिकले परिवारको अवस्था अत्यन्तै दुःखद रहेको भन्दै स्थानीय सरकार र सामाजिक संस्थालाई उद्धारका लागि आग्रह गरेका छन् । 

‘कसैले केही दिन्छन्, तर त्यो पनि नियमित नभएकाले छाक टार्न सकिने अवस्था छैन, छोरीलाई पढाउने त झन् टाढैको कुरा भयो,’ उनले भने । वडा अध्यक्ष हस्तबहादुर बुढाले रामबहादुरको उपचारका लागि सबै तर्फबाट सहयोग गरिएको भए पनि अन्ततः ज्यान जोगाउन नसकिएको बताए । 

अब उनकी पत्नी र छोरीहरूको जीविकोपार्जन, शिक्षा र स्वास्थ्यका लागि राज्य र सहयोगी निकायले ध्यान दिनुपर्ने उनले आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्