नेभिगेशन
प्रदेश

किसानलाई सिँचाइ समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो । 
सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँखेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताए । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको उनले गुनासो गरे ।
सिँचाइ अभावका कारण मकैको बोट नै सुक्ने अवस्थामा पुगेको छ । नहरको पानीका भरोसामा मकै तथा गहुँ बाली लगाएको भए पनि नहरमा पानी पर्याप्त नआउने गरेकाले समस्या भएको किसान माधव भण्डारीले बताए ।
शंकरपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिस्टममा पानी आउने गरेका कारण बालीमा पर्याप्त सिँचाइ गर्न नपाएको किसान बताउँछन् । हजारौं हेक्टरमा लगाएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेकाले शंकरपुर शाखा नहरमा पर्याप्त पानीको माग किसानले गरेका छन् । जिल्लामा यो वर्ष १२ हजार ६३ हेक्टरमा गहुँखेती र सात हजार ५२० हेक्टरमा मकैखती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्