नेभिगेशन
उपत्यका

धुलिखेल–खावा सडक दैनिक ११ घण्टा बन्द

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्ड २ सातासम्म दैनिक ११ घण्टा सवारीसाधन सञ्चालनमा रोक लाग्ने भएको छ । 
डिभिजन सडक कार्यालय भक्तपुरले सूचना जारी गर्दै आगामी ७ देखि २० चैतसम्म बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बससहित चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जनाएको छ । ७ चैतदेखि ट्रिपर, ट्रकलगायतका सवारीसाधनलाई भने २४सै घण्टा सञ्चालनमा रोक लगाइएको छ ।
यस अवधिमा सडक कालोपत्रे हुने भएकाले बन्दा गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ । लामो समय निर्माण अवरुद्ध भएको यो सडक निर्माण अहिले तीव्र बनेको छ । सडक निर्माणको लागि ३१ करोड ५६ लाख रुपैयाँको सम्झौता भएको छ ।
यसअघिको सम्झौताअनुसार २२ महिनाभित्र सडक विस्तार सम्पन्न गर्ने गरी धुलिखेलदेखि खावासम्मको ४ दशमलव १५५ किलोमिटर सडक विस्तार गर्न सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २० जेठ २०७९ मा ठेक्का सम्झौता भएको थियो । 
उक्त निर्माण कम्पनीले पटक–पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपछि डिभिजनले १५ फागुन २०८१ मा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत गए पनि अदालतले सडक डिभिजनको पक्षमा फैसला गरेपछि नयाँ ठेक्का लगाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्