नेभिगेशन
उपत्यका

एनआरएनए सम्मेलनको घोषणापत्र जारी

लगानी, श्रमिक सुरक्षा र एकतामा जोड

काठमाडौं । गैरआवासीय नेपाली संघको १२औं विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशनले १२ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको हो ।
सोमबार काठमाडौंमा सम्पन्न सम्मेलनले विश्वभर छरिएका नेपालीलाई मुलुकको समृद्धि, विकास तथा हित प्रवद्र्धनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भिœयाउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । सम्मेलनले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।
सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संकटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ ।
यसैगरी, विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने उल्लेख छ ।
सम्मेलनले जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी, विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई मातृभूमिसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक संकल्प पनि गरिएको छ ।
सम्मेलनमा चार हजार २८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा भौतिक र बाँकी प्रतिनिधि अनलाइनमार्फत सहभागी भएका आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्