नेभिगेशन
उपत्यका

नेपाल विद्युत् प्राधिकरणका ४ निर्देशक उपकार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशक (१२ तह)मा बढुवा गरेको छ । विद्युत् प्राधिकरणको पदपूर्ति समितिको बैठकले निर्देशक (११औं तह)मा रही काम गरिरहेका उनीहरूलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
प्राविधिक सेवातर्फ किरणकुमार श्रेष्ठ, नवराज ओझा र अनिलमान श्रेष्ठलाई उपकार्यकारी निर्देशकमा बढुवा गरिएको छ । यस्तै, विद्युत् प्राधिकरणले प्रशासन सेवातर्फबाट निर्देशक बेलप्रसाद शर्मालाई पनि उपकार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनीहरू करिब साढे २ दशकभन्दा बढी समयदेखि विद्युत् प्राधिकरणमा कार्यरत छन् । प्राविधिक सेवाबाट बढुवा भएका निर्देशकहरू विद्युत् उत्पादन तथा प्रसारणका क्षेत्रमा लामो कार्यानुभव हासिल गरेका छन् । उपकार्यकारी निर्देशकमा बढुवा हुने निर्देशकमध्ये नवराज ओझा अहिले विद्युत् प्राधिकरणको बागमती प्रादेशिक कार्यालयका प्रमुखका रूपमा कार्यरत छन् । 
त्यस्तै,लामो समय सान्जेन जलविद्युत् कम्पनीअन्तर्गतका दुई आयोजना हुँदै तनहुँ जलविद्युत् आयोजना निर्माणको नेतृत्व गरेका किरणकुमार श्रेष्ठ प्राविधिक सेवा विभागका निर्देशक हुुन् ।  यस्तै, अनिलमान श्रेष्ठ सूचना प्रविधि विभागका निर्देशक र बेलप्रसाद शर्मा कानून विभागका निर्देशकका रूपमा कार्यरत छन् । उपकार्यकारी निर्देशकमा बढुवा भएका कर्मचारीलाई अबको १५ दिनभित्र नयाँ जिम्मेवारी तोकिने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्