नेभिगेशन
प्रदेश

अस्पतालको भवन बन्यो, सञ्चालन हुन सकेन

बागलुङ । पश्चिम बागलुङको बडीगाड गाउँपालिका–५ स्थित ग्वालीचौरमा अस्पताल बनाउन स्थानीय वासिन्दाले आफ्नो धानखेत दान दिए । घरआँगनमै उपचार सेवा पाउने आशामा स्थानीयले जग्गा दिन दिएका थिए । तर अस्पताल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा निराश बनेका छन् ।
निर्माण सम्पन्न भएको बडीगाड आधारभूत अस्पताल उपकरण र दरबन्दीको अभावमा सञ्चालन हुन नसकेको हो । बडीगाड– ५ स्थित ग्वालीचौरको १५ रोपनी क्षेत्रफलमा १८ करोड रुपियाँको लागतमा निर्माण भएको १५ शड्ढयाको आधारभूत अस्पताल उपकरण र दरबन्दीअभावमा सेवाप्रवाह गर्न नसकिएको जनाइएको हो । अस्पतालको भवनलाई सदुपयोग गर्न ग्वालीचौर स्वास्थ्य चौकी भने सोही भवनमा सञ्चालनमा ल्याइएको छ ।
‘एक पालिका एक आधारभूत अस्पताल’ नीतिअन्तर्गत निर्माण गरिएको बडीगाड आधारभूत अस्पताल भवनमा बनाइएको हो । हाल भवनका केही कोठा मात्र स्वास्थ्य चौकीले उपयोगमा ल्याएको छ । चार वर्षमा निर्माण सकिएको भवनमा सडकको पहुँच, विद्युत् र खानेपानी जडान भएको छ ।
हाल दैनिक २० देखि ३० जना बिरामीको उपचार र १७ देखि २० जनासम्मको ल्याब परीक्षण हुने गरेको छ । ‘ल्याब स्थापना भएपछि सामान्य सेवाका लागि बुर्तिबाङ जिल्ला अस्पताल वा पाल्पा पुग्नुपर्ने बिरामीको बाध्यता भने हटेको छ,’ अस्पतालका हेल्थ असिस्टेन्ट सुशीला रेश्मीले बताइन् ।
अस्पतालमा मिर्गौला रोगीका लागि डायलासिस गराउने मेसिन पाँच वटा भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन । डायलासिस मेसिन सञ्चालन भएमा पश्चिम बागलुङवासीले सेवा पाउने थिए र यसले धवलागिरि प्रादेशिक अस्पतालमा बिरामीको चाप घट्ने र सहज तरिकाले सेवा लिन सक्ने अपेक्षा गरिएको छ । धवलागिरि प्रादेशिक अस्पतालमा अहिले दैनिक ६० देखि ८० जनाले डायलासिस सेवा लिँदै आएका छन् ।
अस्पताल सञ्चालनका लागि पटक–पटक संघ र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय धाए पनि ठोस जवाफ नआएको बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्