नेभिगेशन
प्रदेश

सोह्र औषधि पसल निलम्बन

नेपालगञ्ज । औषधि व्यवस्था विभाग नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका छन् ।
औषधि व्यवस्था विभाग, नेपालगञ्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेलगायतका कैफियत देखिएपछि ती पसल निलम्बनमा परेका हुन् । 
अनुगमनपछि १४ मुद्दासमेत अदालतमा दर्ता गरिएको छ । विभागका फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेका अनुसार बिनाइजाजत औषधि पसल सञ्चालन गर्ने, दर्ता नभएका औषधि बिना अनुमति पैठारी गर्ने, अवैधरूपमा औषधि आयात गर्ने तथा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्नेजस्ता कसुरमा मुद्दा दर्ता भएका हुन् । औषधि ऐन २०३५ बमोजिम दफा १० को अनूसुची ९ बमोजिम कसुरअनुसार उनीहरूमाथि कारबाही हुनेछ ।     
विभागले कार्यालयमा आउने उजुरीको फछ्र्यौटमा पनि सक्रियता देखाएको जनाएको छ । यस अवधिमा शाखा कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा संकलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौं पठाएको छ ।
औषधि व्यवस्था विभाग, नेपालगञ्जले चालु आर्थिक वर्ष २०८२÷८३ को फागुन महिनासम्म ४ सय ४१ औषधि पसलको अनुगमन तथा निरीक्षण गरेको थियो । विभागले प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका औषधि पसलको अनुगमन तथा निरीक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ । कुल २५ जिल्लाको नियमन तथा निरीक्षण गर्ने जिम्मेवारी पाएको कार्यालयमा प्राविधिक र अप्राविधिक गरेर कुल आठ जनाको मात्र दरबन्दी छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्