नेभिगेशन
विश्व

इरान युद्धमा विमति राख्दै ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

वाशिङ्टन (एएफपी) ।  ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । 
उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन् । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन् । ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी उनले गरेका छन् । 
अमेरिकी विशेष बल र सीआईएका अनुभवी ४५ वर्षीय केन्टले स्वदेश तथा विदेशमा रहेर मातृभूमिको पक्षमा लामो समय योगदान पु¥याएका छन् । उनकी पत्नी शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गरेकी थिइन । सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा केन्ट मारिएकी थिइन ।  
जो केन्टले आफ्नो पत्रमा भनेका छन् , ‘सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ ।’
केन्टले उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बताएका छन् । पत्रमा अगाडि लेखिएको छ, ‘इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो ।’
लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतंकवादविरोधी केन्द्रको निर्देशकको रूपमा नियुक्त भएका थिए । 
यसअघि उनी अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसकेका हुन् ।  यसमा इराकमा अमेरिकी सैन्य विशेष बलको तैनाथी पनि समावेश छ ।
अमेरिकी गुप्तचर निकाय सीआइएमा पनि काम गरेको अनुभवी केन्टले श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका थिए । 
आफ्नो पत्रमा केन्टले आफ्नो सैन्य सेवा र आफ्नी पत्नीको मृत्युलाई उद्धृत गर्दै भनेका छन्, ‘उहाँ अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्नुहुन्न जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठहराउँदैन ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्, जसमा सेक्युरिटिज र एक्सचेन्ज कमिसन प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल समावेश छन् ।
यद्यपि, राष्ट्रपतिको दोस्रो कार्यकालमा अफिसरको आवागमनको दर उनको पहिलो कार्यकाल सन् २०१७ देखि सन् २०२१ को तुलनामा निकै कम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्