नेभिगेशन
खेलकुद

कागजी जितले नेपाललाई ३ अंक

मलेसियाले अयोग्य खेलाडी प्रयोग गरेको ठहर भएपछि हार कागजी रूपमा जितमा परिणत हुँदा नेपालले अप्रत्याशित रूपमा ३ अंक पाएको छ ।
एसियन फुटबल कन्फिड्रेसन (एएफसी)ले अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसियामाथि कारबाही गरेपछि एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत समूह ‘एफ’ को अंकतालिका र नतिजामा ठूलो फेरबदल आएको हो ।
एएफसीको अनुशासन तथा आचारसंहिताको धारा ५६ उल्लंघन गरेको निष्कर्षसहित फुटबल एसोसिएसन अफ मलेसिया (एफएएम)लाई दुई खेलमा ‘फोर्फिट’ हार दिइएको हो । यसअनुसार २५ मार्च २०२५ मा नेपालविरुद्ध मलेसियाले हासिल गरेको २–० को जित अब ०–३ मा उल्टिएको छ । त्यस्तै, १० जुन २०२५ मा भियतनामविरुद्धको ४–० को जित पनि ०–३ मा परिणत गर्दै भियतनामको पक्षमा गएको छ ।
यो निर्णय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस)को अन्तिम फैसलापछि कार्यान्वयनमा आएको हो । फैसलाअनुसार मलेसियाले सात खेलाडीलाई नक्कली कागजातका आधारमा नागरिकता दिलाएर टोलीमा समावेश गरेको पुष्टि भएको छ ।
कारबाहीस्वरूप ती खेलाडीहरूलाई १२ महिनाको प्रतिबन्ध लगाइएको छ भने मलेसिया फुटबल संघलाई ५० हजार अमेरिकी डलर जरिवाना गरिएको छ, जुन ३० दिनभित्र बुझाउनुपर्नेछ । प्रतिबन्धित खेलाडीहरूले भने क्लबस्तरमा प्रशिक्षण जारी राख्न पाउनेछन् ।
यो निर्णयले समूह ‘एफ’ को समग्र समीकरण नै बदलिएको छ । पाँच खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा रहेको मलेसिया अब दोस्रो स्थानमा झरेको छ । भियतनाम भने शीर्ष स्थानमा उक्लिँदै एक खेलअघि नै एएफसी एसियन कप २०२७ को फाइनल चरणमा छनोट भइसकेको छ ।
नेपालका लागि यो निर्णयले राहत दिएको छ । मलेसियासँग पहिलो लिगमा बेहोरेको २–० को हार अब कागजी रूपमा ३–० को जितमा परिणत भएपछि नेपालको खातामा ३ अंक थपिएको छ । यद्यपि समग्र अंकस्थितिमा नेपाल अझै तेस्रो स्थानमै छ । नेपालले अब आफ्नो अन्तिम खेलमा लाओससँग प्रतिस्पर्धा गर्न बाँकी छ । यता, मलेसियाले एएफसीको निर्णयप्रति असन्तुष्टि जनाउँदै थप प्रक्रिया अध्ययन गरेर आगामी कदम चाल्ने संकेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्