नेभिगेशन
प्रदेश

‘आफूलाई बदलेर छिटोछरितो गरौं’

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिएका छन् । दाङमा मंगलबार उच्च अदालत तुलसीपुरको   निरीक्षणपश्चात् न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले  जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।  
‘हामी खरानी भएको ठाउँबाट उठेर काम गरिरहेका छौं ।  अब हामी सबै बदलिएर एउटा अठोटका साथ अपेक्षाकृत काम गर्न लाग्नुपर्ने छ,’ उनले भने । जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा निर्माण गरिएको उच्च अदालतको कार्यालय भवन, इजलास कक्षलगायत संरचनाको उनले निरीक्षण गरे । प्रधानन्यायाधीश राउतले आगामी आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए । नवयुवाको आन्दोलनका क्रममा अदालत भवन, सवारीसाधनलगायत सम्पूर्ण संरचना ध्वस्त भए पनि अभिलेख जोगिएकामा खुसी व्यक्त गर्दै उनले अब संरचना निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्