नेभिगेशन
अर्थतन्त्र

हावाहुरीले केराबारी र मकै खेतीमा ठूलो क्षति

रौतहट । रौतहटसहित आसपासका क्षेत्रमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण किसानले लगाएका बालीमा ठूलो क्षति पुगेको छ । तीव्र हावाहुरीले विशेषगरी केराबारी, मकै तथा तरकारी खेतीमा व्यापक असर पारेको स्थानीय किसानले बताएका छन् ।
स्थानीयका अनुसार सोमबार साँझ करिब २ घण्टासम्म चलेको हावाहुरीले खेतबारीमा लगाइएको बाली लथालिंग बनाएको छ । केरा खेती गरिरहेका किसान सबैभन्दा बढी प्रभावित भएका छन् । धेरै स्थानमा केराका बोट जरैसहित ढलेका छन् भने केही बोट भाँचिएर नष्ट भएका छन् । यसले किसानहरूको ठूलो लगानी डुबेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा मात्रै करिब ७० बिघामा लगाएको केराखेती लडेर नष्ट भएको किसान दिपक गौतम बताउँछन् । ‘हावाहुरीले कति नोक्सान भयो, त्यसको त कुनै हिसाबकिताब नै छैन । हामी किसानलाई पीडामाथि पीडा थपिएको छ । हामीलाई न राज्यले हेर्छ, न प्रकृतिले साथ दिन्छ,’ उनले भने ।
लडेका अधिकांश केराहरु पसाउने लागेका छन् । वैशाख अन्तिमसम्म बेच्न तयार हुने केरा लड्दा एक बोट बराबर १ हजारदेखि १५ सयसम्म नोक्सानी भएको किसानहरू बताउँछन् । चन्द्रपुर नगरपालिकामा मात्रै १० करोडभन्दा बढीको केराखेती नोक्सान भएको किसानहरूले बताएका छन् ।
त्यसैगरी हावाहुरीले मकै खेतीमा पनि गम्भीर क्षति पुगेको छ । हुर्किंदै गरेको मकैका बोटहरू हावाहुरीले ढालिदिँदा उत्पादनमा ठूलो गिरावट आउने किसानको अनुमान छ । केही स्थानमा मकैका बोट पूर्णरूपमा भुइँमा लडेका छन्, जसले गर्दा दाना लाग्ने सम्भावना न्यून भएको छ ।
किसान रमा कार्कीले भनिन्, ‘यो वर्ष मकैबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका थियौं तर एकैचोटि आएको हावाहुरीले सबै बाली बिगारिदियो । अब लगानी पनि उठ्ने अवस्था छैन ।’ अर्का किसान बाबु योञ्जन पनि आफूले लगाएको केराबारी लगभग पूर्णरूपमा नष्ट भएको बताउँछन् । सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनले माग गरे ।
हावाहुरीका कारण तरकारी खेतीमा पनि क्षति पुगेको छ । खासगरी लौका, करेला, घिरौंला जस्ता तरकारीमा बढी असर परेको छ । खेतमा बनाइएको टनेल तथा संरचनाहरूसमेत भत्किँदा थप क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार चन्द्रपुर, वृन्दावन, गुजरा, गढिमाईलगायतका पालिकाका धेरै किसान प्रभावित भएका छन् ।
क्षतिको यकिन विवरण संकलन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी राहत तथा सहयोगका लागि पहल गरिने कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ । कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जिल्लाभर सोमबार साँझ आएको हावाहुरीले जिल्लाभर कृषिबालीमा कति नोक्सान ग¥यो भनेर यकिन तथ्यांक आउन केही दिन लाग्ने जानकारी दिए । ‘अब हामी जिल्लाका सबै पालिकाबाट क्षतिको तथ्यांक संकलन गर्छौं, त्यसपछि मात्र पूर्ण विवरण आउँछ । यसको लागि हामीले तयारी गरिसक्यौं,’ उनले भने ।
कृषि विज्ञहरूका अनुसार मौसममा आएको अनियमितताका कारण यस्ता प्राकृतिक प्रकोप बढ्दै गएका छन् । यसले कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ । किसानले बाली बिमा गरेमात्र पनि यस्ता खाले प्राकृतिक विपत्तिबाट हुने क्षतिमा राहत मिल्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्