नेभिगेशन
अर्थतन्त्र

ग्यास अभावले बढायो विद्युतीय चुलोको बिक्री, प्रवद्र्धन अझै आवश्यक

काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिएपछि उपभोक्ता विद्युतीय चुलो (इन्डक्सन र इन्फ्रारेड) तर्फ आकर्षित भएका छन् । ग्यासको हाहाकार हुन सक्ने डर तथा मूल्य बढ्ने अवस्थाले सर्वसाधारणले विकल्पका रूपमा विद्युतीय चुलो रोज्न थालेका हुन् ।
राजधानीका मुख्य व्यापारिक केन्द्रहरू असन, भोटाहिटी, न्यूरोड, पुतलीसडक, लगनखेल, बानेश्वरलगायत उपत्यकाका साना–ठूला भाँडा तथा इलेक्ट्रोनिक्स पसलहरूमा विद्युतीय चुलो किन्ने ग्राहक बढेका छन् । व्यवसायीका अनुसार इरान, अमेरिका, इजराइल युद्धको प्रभावले बजारमा ग्यासको हाहाकार हुन थालेपछि नै इन्डक्सन र इन्फ्रारेड चुलोको बिक्री ह्वात्तै बढेको छ । भान्छामा ग्यास सकिए पनि संकट नआओस् भन्नका लागि उपभोक्ताले विद्युतीय चुलो खरिद गरेर लगिरहेको व्यवसायी बताउँछन् ।
पहिले अवस्था सामान्य हुँदा दैनिक दुई–चारवटा मात्रै विद्युतीय चुलो बिक्री हुने गरेकोमा ग्यासको विकल्पमा एकै दिन १२–१५ वटा चुलो बिक्री भइरहेको भोटाहिटीका व्यवसायी राजु महर्जनले बताए । उनका अनुसार अहिले विद्युतीय चुलोको माग ह्वात्तै बढेकाले गोदाममा रहेको स्टक सबै सकिएको छ । उनको पसलमा भेटिएकी राधा खड्काले सस्तो र टिकाउ विद्युतीय चुलोको खोजीमा आएको बताइन् ।
यस्तै, ललितपुर इमाडोलका व्यवसायी प्रतीक श्रेष्ठको विद्युतीय चुलोको व्यापार पनि अहिले बढेको छ । मुख्य व्यापारिक केन्द्रभन्दा पर रहेको उनको पसलबाट पनि दैनिक १० वटासम्म विद्युतीय चुलोको बिक्री भइरहेको छ । ‘ग्यास अभावमा ग्राहक एकैपटक विकल्प खोज्दै विद्युतीय चुलो खरिद गर्न पसलमा आइरहेका छन्,’ उनले भने, ‘मैले पनि पसलमा आउने ग्राहकलाई भोलि समस्या आउँदा मर्मतसम्भार गर्न पार्टपुर्जा सहजै पाइने ब्रान्डका विद्युतीय चुलो खरिद गर्न सुझाव दिने गरेको छु ।’
ग्राहकको आकर्षण घरमै भएका भाँडाको प्रयोग गर्न मिल्ने ब्राण्डका विद्युतीय चुलोमा देखिएको उनले बताए । ग्यासको भन्दा विद्युतीय चुलोको मासिक खर्च कम आउने कुरा ग्राहकलाई बुढाउन सकेको खण्डमा बिक्री अझै बढ्ने उनको भनाइ छ ।
यस्तै, ललितपुर ग्वार्कोकी व्यवसायी प्रमिला खड्काको पनि एक सातायता विद्युतीय चुलोको व्यापार बढेको छ । स्टक सबै सकिएर अहिले मागअनुसार परिमाण थप गरेको उनले बताइन् । आफूले पनि पाँच वर्षदेखि विद्युतीय चुलोको उपयोग गरिरहेकाले ग्यासभन्दा सस्तो पर्ने कुरा खरिद गर्न आउने ग्राहकलाई पनि भन्ने गरेको उनले बताइन् । सरकारले नै ग्यासभन्दा विद्युतीय चुलोको उपभोगमा जोड दिने नीति लिएमा आत्मनिर्भर बन्न सकिने उनको बुझाइ छ ।
ग्यासको संकट बढ्दै गएपछि पहिलेभन्दा बढी विद्युतीय चुलो बिक्री भइरहेका केही पसलको उदाहरण मात्रै हुन् । अहिले मुख्य व्यापारिक केन्द्रदेखि साना इलेक्ट्रिक तथा भाँडा पसलहरूमा विद्युतीय चुलो खरिद गर्न आउने ग्राहकको संख्या बढेको देख्न सकिन्छ । नेपाल आयल निगमले पनि मागभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको अवस्थामा समेत बजारमा ग्यासको संकट देखिएपछि विद्युतीय चुलोको उपयोग बढाउन आग्रह गरिरहेको छ ।
वर्तमान संकटबाट जोगिन अब ग्यासको विकल्पमा विद्युतीय चुलो र पेट्रोलियम इन्धनको विकल्पमा विद्युतीय सवारी साधनको प्रयोग गर्नुको विकल्प नभएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । अहिलेको जस्तो संकट गहिरिँदै गएमा भविष्यमा निगमले पनि इन्डियन आयल कर्पोरेसनलाई पैसा भुक्तानी गर्न नसक्ने अवस्था आउनसक्ने खतरा रहेकाले अब उपभोक्ता आफैँ सचेत हुनुपर्नेमा उनले जोड दिए ।
‘आयातित ग्यास र पेट्रोल, डिजेलमा निर्भर हुनुभन्दा अब उपभोक्ताले पनि स्वच्छ ऊर्जातर्फ रुपान्तरण हुन विद्युतीय चुलोको उपयोग बढाउनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘अहिलेको जस्तो संकट भविष्यमा समेत आउन सक्ने हुँदा अहिलेको अभावको अवस्थालाई स्वच्छ ऊर्जामा रुपान्तरण हुने अवसर समेत आएको छ । सबैले यो विकल्पका बारेमा सोच्नुपर्ने समय आएको छ ।’
ठूला शहरहरूमा ग्यासको लाइनमा बस्नुपर्ने झन्झट र पटक–पटक हुने आपूर्ति अवरोधले गर्दा विद्युतीय चुलो उपभोक्ताका लागि उत्तम विकल्प हो । नयाँ बानेश्वर बस्ने लक्ष्मी शर्मा ग्यास पाइने टुंगो नभएपछि विद्युतीय चुलो खरिद गरेको बताउँछिन् । ‘हामी कामकाजीलाई ग्यास कता पाइन्छ भनेर सिलिन्डर बोकेर दिनभरि हिँड्ने फुर्सद हुँदैन । अहिलेजस्तो विद्युत आपूर्ति नियमित भइरहेको अवस्थामा ग्यास खोज्न जानुभन्दा विद्युतीय चुलो नै उपयुक्त विकल्प लागेको छ,’ उनले भनिन् ।
विभिन्न अध्ययनहरूले ग्यासको तुलनामा विद्युतीय चुलोमा खाना पकाउँदा खर्च कम लाग्ने देखिएको छ । विद्युतीय चुलोको उपयोगले नेपालमै उत्पादित जलविद्युतको प्रयोग बढ्दा एकातिर विदेशी मुद्रा बाहिरिनबाट जोगिन्छ भने अर्कोतिर वातावरणीय रूपमा पनि यो स्वच्छ हुने चेतना समेत उपभोक्तामा बढ्दै गएकाले बिक्री पनि बढेको देखिन्छ ।
मध्यपूर्वको युद्धका कारण अहिले आयातित पेट्रोलियम इन्धन तथा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको संकट भविष्यमा पनि दोहोरिन सक्ने हुँदा सरकारले आन्तरिक विद्युत खपत बढाउन विद्युत वितरण प्रणाली सुधार ल्याउने तथा दिगो र गुणस्तरीय आपूर्ति व्यवस्थापनमा पनि ध्यान पु¥याउन आवश्यक देखिन्छ । 
प्रसारण र वितरण प्रणालीको गुणस्तर सुधार
सरकारले सन् २०३५ सम्ममा आन्तरिक विद्युत खपत १५ हजार मेगावाट पु¥याउने नीति लिएको छ । आन्तरिक विद्युत खपत बढाउन हरेक घरको भान्छाबाट आयातित ग्यास प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रयोग बढाउने भनिएको छ । तर, विद्युतीय चुलोको प्रयोगलाई दीर्घकालीन बनाउन अहिलेको विद्युत प्रसारण तथा वितरण प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता छ । ग्यासको सट्टामा राजधानीका सबै घरधुरीमा विद्युतीय चुलोको प्रयोग गर्दा अहिलेको विद्युत वितरण प्रणालीको संरचनाले लोड व्यवस्थापन गर्न समस्या आउने देखिन्छ । 
नेपाल विद्युत प्राधिकरणले विगतको तुलनामा उपत्यकाको विद्युत वितरण प्रणालीमा उल्लेख्य सुधार गरेको भए पनि पूर्णरूपमा ग्यास प्रतिस्थापन गर्नका लागि भने प्रसारण र वितरण पूर्वाधारमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ । आन्तरिक विद्युत खपत बढाउनका लागि विद्युतीय चुलोको उपयोग बढाउन प्रसारण तथा वितरण प्रणालीको संरचना थप तथा स्तरोन्नति गर्नुपर्नेमा अपेक्षाकृत ढंगले लगानी बढ्न सकेको छैन । 
यस्तै, हाम्रा जलविद्युत गृहले बर्खामा मात्रै पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने हुँदा सुक्खा याममा अहिले पनि भारतले दिने विद्युतमा निर्भर हुनुपर्ने बाध्यताले अझै आत्मनिर्भर हुन नसकिएको देखाउँछ । आयातित ग्यास प्रतिस्थापनको दीर्घकालीन समाधान खोज्नका लागि सुख्खा यामको माग र आपूर्ति व्यवस्थापन आन्तरिक उत्पादनबाटै हुने गरी विद्युत उत्पादन बढाउनुपर्ने आवश्यकता छ । 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ढुक्कले विद्युतीय चुलो प्रयोग गर्नका लागि बिजुलीको आपूर्ति बाह्रै महिना निरन्तर हुनुपर्ने बताउँछन् । हिउँदमा बिजुलीको उत्पादन घट्ने समस्या समाधान गर्न जलाशययुक्त र अर्ध–जलाशय आयोजनाहरूको निर्माणमा तीव्रता दिनुपर्ने उनले प्रस्ट पारे । ‘बिजुली उत्पादन हुनुमात्र पर्याप्त छैन, त्यसलाई सुरक्षित र भरपर्दो रूपमा घर–घरसम्म पु¥याउने प्रणाली पनि उत्तिकै बलियो हुनुपर्छ,’ अध्यक्ष कार्कीले भने ।
काठमाडौंलगायतका मुख्य सहरका पुराना ट्रान्सफर्मर, वितरण लाइन र सब–स्टेसनहरू परिवर्तन गर्नुपर्ने र सबैले एकसाथ इन्डक्सन चुलो बाल्दा पनि लोड थाम्न सक्ने गरी प्रणाली सुधार गर्नुपर्ने उनले बताए । ‘परम्परागत ग्यास र पेट्रोलियम पदार्थमा छिमेकी देशमाथिको परनिर्भरता जोखिमपूर्ण छ भन्ने कुरा अहिलेको अभावले प्रस्ट पारेको छ,’ उनले भने, ‘नेपालको जलविद्युत नै हाम्रो वास्तविक ऊर्जा सुरक्षा हो । आगामी सरकारले आयात प्रतिस्थापनको योजनालाई गम्भीरताका साथ लिनुपर्छ । उपभोक्तालाई ग्यास पाइँदैन भन्ने कुरामा विश्वस्त तुल्याउँदै विद्युतीय चुलोमा सिफ्ट हुन पूर्वाधार र सहुलियतमा जोड दिनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्