नेभिगेशन
प्रदेश
बालाबेंसी हेलिकप्टर दुर्घटना

‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गरेका थिए’

खोटाङ । असन्तुलित भएर खसेलगत्तै पाइलटले इन्जिन अफ गरेकाले मानवीय क्षति टरेको हेलिकप्टर दुर्घटनामा परेकाले बताएका छन् । केपिलासगढी–२ खार्तम्छाको बालाबेंसीमा बुधबार हेलिकप्टर दुर्घटना भएको थियो । घटनामा ६ जनामध्ये पाइलट र एक यात्रुलाई अलि बढी चोट लागेको छ, अन्य चारको अवस्था सामान्य छ । 
काठमाडौंबाट पाँच यात्रु लिएर दिउँसो बालाबेंसी आइपुगेको एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो । ।
घटनामा ललितपुरका ६५ वर्षीय काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।  काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको छ । 
घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो । 
उक्त हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेंसीकी  ७७ वर्षीया मनलक्ष्मी राईको अन्त्येष्टि गर्न परिवार आएको थियो । मनलक्ष्मीका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुरका काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ । 
आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत बिहीबार बालाबेंसी आइपुग्ने व्यवस्था मिलाइएको थियो । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए । दुर्घटनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए ।
‘घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ,’ उनले भने, ‘यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ गर्नुभयो । चलिरहेको इञ्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौं ।’
एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कुल  ११०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन । एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितद्वारा जारी विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो । 
दुर्घटनाग्रस्त हेलिकप्टरको पाता र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएको छ । दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौंबाट विज्ञ टोली आएको थियो । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्