नेभिगेशन
राजनीति

के गर्दैछन् भावी प्रधानमन्त्री बालेन शाह ?

काठमाडौं । फागुन २१ गत सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ । निर्वाचनमा शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेको रास्वपले संसदको करिब दुई तिहाई सिट जितेको छ ।  प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् । यो संख्या एकल सरकार बनाउनका लागि पर्याप्त छ । शाह स्वयं झापा–५ बाट अत्यधिक मतसहित निर्वाचित भएका थिए । 
चुनावी परिणाम आएसँगै उत्साही देखिएको रास्वपाले सांसदहरुका लागि काठमाडौंमा दुई दिने आवासीय अभिमुखीकरण बुधबार सम्पन्न गरेको छ । तर, उक्त कार्यकममा सभापति रवि लामिछाने सहभागी भएपनि शाह भने सहभागी भएनन् । उनको अनुपस्थितिलाई लिएर बालेन के गर्दैछन् भन्ने चासो बढाएको छ । 
शाहको सचिवालय स्रोतले उनी नयाँ सरकार गठनको गृहकार्यमा रहेकाले उपस्थित हुन नसकेको बतायो । उसो त बालेनले पार्टी सभापति लामिछानेलाई दल चलाउन र आफूलाई मन्त्रिपरिषद् बनाउन दिन भनिसकेका छन् । १५ देखि बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सोचमा बालेन रहेको उनी निटकस्थ बताउँछन् । ‘यसपटक मन्त्रिपरिषद्को आकार पनि घटाउने तयारी छ । सीमित संख्याभित्र योग्यता, प्रदेश र समानुपातिक समावेशी प्रतिनिधित्व पनि मिलाउनुपर्ने भएकाले उहाँ आन्तरिक गृहकार्यमा हुनुहुन्छ,’ उनको सचिवालय स्रोतले भन्यो । नयाँ सरकरा गठनका विषयमा वरिष्ठ नेता शाह, सभापति लामिछाने, उपाध्यक्षद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले नियमित संवादमा छन् । 
निर्वाचनमा जानुअघि नै रास्वपा सभापति लामिछानेले भावी अर्थमन्त्रीका रुपमा उपाध्यक्ष वाग्लेको नाम चर्चामा ल्याएका थिए । वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए । वाग्लेलाई अर्थमन्त्री बनाउनेमा पार्टीभित्र करिब सहमति जुटिसकेको रास्वपाका एक पदाधिकारीले दाबी गरे । अरु नाम भने बालेनले आफूले इच्छाएको व्यक्तिमध्येबाट ल्याउने भन्दै नामहरुमाथि छलफल गरिररहेका छन् । बालेन निकटका अनुसार उनको मन्त्रिपरिषद्मा अहिले सांसद बनेका विगतमा काठमाडौं महानगरपालिकामा सँगै काम गरेकाहरु रोजाइमा छन् । 
टिम निर्माणमा बालेनसहितका रासवपाका शीर्ष नेता जुटिरहँदा मन्त्री बन्न चाहने रास्वपाका सांसदहरुको संख्या पनि ठुलै देखिएको छ । जसले सभापति लामिछाने दबाबमा देखिन्छन् । उनले बुधबार पार्टीको अभिमुखीकरण कार्यक्रममा समबोधन गर्दै मन्त्री बनाइदिनुस् भनेर नभन्न र मिडिया ट्रायल नगर्न निर्देशन दिएका थिए । ‘तपाइँहरूमध्ये यो हलमा भएको कोही न कोही साथीहरू मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गर्नुहोला,’ सभापति लामिछानेले भने, ‘किनभने अहिलेसम्म केही पनि थाहा छैन । पार्टीले क्याबिनेटमा क–कसलाई पठाउँछ भन्ने निर्णय यतिखेर तपाईँसँग उभिँदासम्म हामीले गरेका छैनौं ।’
उनले पार्टीले सही निर्णय गर्ने मन्त्रीका लागि कसैले पनि कसैलाई भनिरहनु नपर्ने पनि बताए । ‘हामीलाई तपाईँहरुको विज्ञता, क्षमता थाहा छ । पार्टीले देखिएका र छेकिएका साथीहरूलाई पनि हेर्छ,’ उनको भनाइ छ । 
निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फको प्रमाणपत्र वितरण गर्दैछ । त्यसलगत्तै निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेको छ । संसद सचिवालयले भने चैत १२ गते सांसदहरुको शपथ गराउने गरि तयारी गरेको छ । 
यसपटक रास्वपाले एकल बहुमत ल्याएकाले संविधानको धारा ७६(१) अनुसारको सरकार गठन हुनेछ । यो व्यवस्थाअनुसार संसद्मा बहुमतप्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बनाइनेछ । रास्वपा प्रवक्ता मनिष झाले सांसदहरूको शपथपछि मात्रै दल नेता चयन प्रक्रिया अघि बढ्ने बताएका छन् । रास्वपाले वरिष्ठ नेता शाहलाई दलको नेता चयन गरेपछि मात्रै प्रधानमन्त्री नियुक्त हुनेछन् । रास्वपाले दलको नेता चयन निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि गरिहालेमा भने राष्ट्रपतिले सांसदको शपथ अघि नै प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्