नेभिगेशन
खेलकुद

सहमतिबिनै लिग नगर्न एन्फालाई चेतावनी

काठमाडौँ । शहीद स्मारक लिग सम्बन्धमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एकलौटी निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरूले सात बुँदे माग सार्वजनिक गर्दै आन्दोलन जारी राखेका छन् । क्लबहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सहमति बिना लिग आयोजना गर्न खोजिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।
गत चैत २ गतेदेखि क्लबहरूले धर्ना शुरू गरेका छन् भने आफ्नो माग पूरा नहुञ्जेल जारी राख्ने विहीबार धर्नामा बस्नेहरुले जनाएका छन् ।
क्लबहरूले नेपाली फुटबल दिनप्रतिदिन कमजोर बन्दै गएको उल्लेख गर्दै निर्णय गर्दा सम्बन्धित सरोकारवालासँग सहमति नगर्ने, कार्यान्वयन नगर्ने र एकलौटी रूपमा कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण समस्या बढेको बताएका छन् । यही अवस्थाका कारण स्पष्ट धारणा राख्न प्रेस सम्मेलन गर्नुपरेको क्लबहरूको भनाइ छ ।
क्लबहरूले एन्फासमक्ष राखेका मुख्य मागहरूमा लिगसम्बन्धी यसअघि भएको सहमति र कार्यतालिका कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय लिग चलिरहेको अवस्थामा ट्रान्सफर विन्डो नखोली खेलाडी सरुवा गर्न नसकिने भएकाले नियमानुसार प्रक्रिया खुला गर्नुपर्ने, विदेशी खेलाडी अनुबन्ध गर्दा वर्क परमिटको सहज व्यवस्था गर्नुपर्ने लगायत रहेका छन् ।
त्यस्तै प्रतियोगिता नियमावली अनुसार ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने, क्लबहरूसँग छलफल नगरी मनोमानी रूपमा लिगको मिति घोषणा नगर्नुपर्ने र राष्ट्रिय लिग सकिएको ३० दिनपछि मात्र ‘ए’ डिभिजन लिगको निर्णय सहमतिमा गर्नुपर्ने माग पनि क्लबहरूले राखेका छन् ।
क्लबहरूले लिगसँग सम्बन्धित प्राविधिक तथा आर्थिक पक्ष स्पष्ट गरी क्लबहरूको सहमतिमा मात्रै मिति तय गर्नुपर्ने अडान दोहो-याएका छन् ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार मागहरू तत्काल कार्यान्वयन नभएसम्म शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम जारी रहनेछ । क्लबहरूले फुटबलप्रेमी र सरोकारवालालाई पनि आन्दोलनमा साथ दिन आग्रह गरेका छन् ।
एन्फाले भने चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी सार्वजनिक गरेपछि क्लब र खेलाडी दुवै पक्ष आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्